
रास्वपा उम्मेदवारको डिभोर्सको नालीबेली : श्रीमतीले लगाएकी थिइन् घरेलु हिंसाको आरोप, यसरी भएको थियो मिलापत्र

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट रुपन्देही-३ का उम्मेदवार बनेका न्युरोचिकित्सक डा. लेखजंग थापाले आफ्नो पारिवारिक जीवनबारे उठेका प्रश्नहरूको सामाजिक सञ्जालमार्फत खण्डन गरिरहँदा उनको सम्बन्धविच्छेदसम्बन्धी अदालती दस्तावेजमा उनले श्रीमतीलाई घरेलु हिंसा गरेको खुलेको छ।
अदालती दस्तावेजले डा. थापाले दाबी गरेजस्तो सम्बन्ध सौहार्दपूर्ण मात्र नभई उनकी कान्छी श्रीमतीले घरेलु हिंसा र मानसिक तथा शारीरिक पीडा दिएको गम्भीर आरोप लगाउँदै सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर गरेको देखाउँछ।
डा. थापाले हालै सामाजिक सञ्जालमा आफ्नो सम्बन्धविच्छेदलाई ‘साझा जिम्मेवारी’ र ‘सौहार्दपूर्ण सम्बन्ध’ को संज्ञा दिँदै यसलाई आफ्नो पार्टीमाथिको योजनाबद्ध प्रहार भएको बताएका थिए।
तर, रुपन्देही जिल्ला अदालतको आदेश र मिलापत्रको व्यहोराले सम्बन्धविच्छेदको प्रक्रिया तनावपूर्ण रहेको र गम्भीर आरोपहरू समेत सामेल रहेको पुष्टि गर्छ।
अदालतमा पूर्वपत्नीको आरोप : ‘शारीरिक र मानसिक पीडा दिए, घरबाट निकाले’
रुपन्देही जिल्ला अदालतमा डा. थापाकी कान्छी श्रीमती समेत रहेकी पूर्वपत्नी नुमा शर्मा थापाले दिएको फिरादपत्रमा उनले आफूमाथि घरेलु हिंसा भएको दाबी गरेकी थिइन्।
फिरादपत्रमा भनिएको छ, ‘विपक्षी पतिले घरको काम व्यवहार नगरी अरुको कुरा सुनी मलाई सधैँ गाली गर्ने, खान लगाउनमा दुःख दिई घरमा रहन बस्न समेत नदिएकाले मिति २०७९/९/२० गते घरबाट निकाला गरेको र विपक्षी पतिले मलाई मानसिक तथा शारीरिक पीडा दिँदै आउनुभएको थियो।’
शर्माले आफूले पटक-पटक सम्झाउँदा पनि पतिले उल्टै शारीरिक र मानसिक कष्ट हुने यातना दिएकाले बाध्य भएर सम्बन्धविच्छेदको बाटो रोज्नुपरेको उल्लेख गरेकी छन्। उनले यस्तो व्यवहार गर्ने पतिसँग दाम्पत्य जीवन बिताउन असम्भव रहेको भन्दै सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेकी थिइन्।
डा. थापाको प्रतिउत्तर : ‘आरोप झुठ्ठा हो, उनी आफैँ जिद्दी स्वभावकी थिइन्’
अदालतमा दिएको प्रतिउत्तरमा डा. थापाले श्रीमतीले लगाएका सबै आरोपहरूलाई खण्डन गरेका छन्। उनले आफूले कहिल्यै गालीगलौज गर्ने, खान लगाउन नदिने वा मानसिक यातना दिने काम नगरेको जिकिर गरेका छन्।
उनले प्रतिउत्तरमा भनेका छन्, ‘विपक्षी पहिलेदेखि नै जिद्दी स्वभावकी थिइन्। सधैँ कलह झै-झगडा गर्दै धेरैजसो माइतमा बस्ने गर्दथिन्।’
आफू लिन जाँदा ‘तिमी आफ्नो सुर गर, म आफ्नो सुर गर्छु’ भन्ने जवाफ दिएको पनि उनले उल्लेख गरेका छन्। उनले श्रीमतीले अंश नलिई सम्बन्धविच्छेद गर्न चाहेमा आफू पनि तयार रहेको बताएका थिए।
छोरा आमासँग, मासिक २५ हजार खर्च
दुवै पक्षबीचको आरोप-प्रत्यारोपपछि मुद्दा मिलापत्रमा टुङ्गिएको थियो। २०७९ साल माघ १४ गते न्यायाधीश उमेश कोइरालाको इजलासले मिलापत्रलाई सदर गरेको थियो।
मिलापत्रमा वादी नुमा शर्मा थापाले पति लेखजंग थापाबाट अंशबापत कुनै पनि सम्पत्ति नलिने, लेखजंग र नुमाका छोरा नुमासँगै रहने, छोराको पालनपोषण, शिक्षादीक्षाका लागि बाबु लेखजंग थापाले मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउने, छोराको अंश हक बाबु लेखजंग थापाकै संरक्षण तथा जिम्मामा रहने र दुवैबीच पति-पत्नीको नाता सम्बन्धविच्छेद हुने उल्लेख थियो।
डा. थापाको राजनीतिक स्पष्टीकरण
अदालती प्रक्रिया र आरोपहरू सार्वजनिक भएपछि डा. थापाले यसलाई राजनीतिक रङ दिएका छन्।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘ममाथि आक्रमण भएको भए म चुप लाग्थें, तर यो आक्रमण सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमाथि भएको हो।’
उनले आफ्नो सम्बन्धविच्छेद भएकी पत्नीबाट एक सन्तान रहेको र उसको भविष्यलाई ध्यानमा राख्दै दुवैले सौहार्दपूर्ण सम्बन्ध कायम गरेको दाबी गरेका छन्। उनले आफू नेता बन्न नभई देश बदल्ने सहयात्री बन्न राजनीतिमा आएको र रूपान्तरणका लागि कुनै पनि त्याग गर्न तयार रहेको बताएका छन्।
यद्यपि, अदालतमा प्रस्तुत गरिएका घरेलु हिंसा र मानसिक पीडाजस्ता गम्भीर आरोपहरूले उनको सार्वजनिक जीवन र राजनीतिक उम्मेदवारीमाथि नैतिक प्रश्नहरू खडा गरेको छ।
भदौ १७, २०८२ मंगलबार ०९:५८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।