सामाजिक सञ्जालमा दीपक-सन्तोष वाकयुद्ध, कमेन्ट डिलिट भएपछि सन्तोषले लेखे- ‘तिम्रो सोचमै पाप छ’

सामाजिक सञ्जालमा दीपक-सन्तोष वाकयुद्ध, कमेन्ट डिलिट भएपछि सन्तोषले लेखे- ‘तिम्रो सोचमै पाप छ’

काठमाडौं : नेपाली चलचित्र क्षेत्रका दुई ठूला निर्माता, दीपकराज गिरी र सन्तोष सेनबीच सामाजिक सञ्जालमा वाकयुद्ध चर्किएको छ।

गिरीले आफ्नो चलचित्रको प्रचार गर्नुको साटो अरूलाई गाली गर्न लगाउने प्रवृत्ति बन्द गर्न आग्रह गर्दै फेसबुकमा एक सांकेतिक पोस्ट गरेपछि निर्देशक तथा निर्माता सेनले त्यसको कडा प्रतिवाद गरेका छन्। सेनले गिरीमाथि नै नकारात्मक प्रचार गराएको आरोप लगाउँदै ‘सोचमै पाप भएको’ टिप्पणी गरेका छन्।

यो विवाद तब सुरू भयो जब ‘छक्का पन्जा’का निर्माता समेत रहेका गिरीले आफ्नो फेसबुकमा लेखे, ‘आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूको फिल्म लाइ गालि गर्न लगाउने काम बन्द गरौँ। आफ्नो हिरो बाघ! अरूको स्याल? याद गरौँ बाघ पनि जनावर नै हो!’

गिरीको यही पोस्टमा कमेन्ट गरेका सेनले त्यो कमेन्ट डिलिट भएपछि गिरीको पोस्टको स्क्रिनसटसहित लामो पोस्ट गरेका थिए। उनले गिरीले नै दर्शकको भावनामाथि खेलबाड गर्दै फेक अकाउन्टमार्फत नकारात्मक प्रचार गराएको आरोप लगाएका छन्।

‘कालीमाता र पशुपतिनाथको कसम, जीवन अन्त्य होस्’
आफ्नो फेसबुक पोस्टमा सेनले गिरीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘टु दीपक राज गिरीज्यू, तिम्रो सोचमै पाप छ… कसैलाई कमेन्ट गर्न लगाएर लाखौँ दर्शकको भावनासँग खेलबाड गर्ने जुन तुच्छ सोच पालेको छौ, त्यो काम नगर।’

उनले आफ्नो चलचित्र ‘बलिदान’ को पोस्टमा आउने नकारात्मक कमेन्टहरू गिरीको समूहले नै गराएको हो कि भनी प्रश्नसमेत गरेका छन्। सेनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै कहिल्यै अरूलाई गिराएर अगाडि बढ्ने सोच नपालेको दाबी गरेका छन्। उनले आफ्नो इमान्दारिता पुष्टि गर्न कालीमाता र पशुपतिनाथको कसम खाएका छन्।

‘कालीमाता र पशुपतिनाथको कसम खाएर भन्छु, मैले आजसम्म कहिल्यै अरूलाई गिराएर आफैँलाई अगाडि बढ्ने पापी सोच पालेको छैन,’ सेनले लेखेका छन्, ‘यदि वास्तवमै मैले कहिल्यै कसैलाई नकारात्मक कमेन्ट गर्न लगाएको छु भने, मैले ‘बलिदान’ को सुरुवात नै कालीमाताको चरण छोएर गरेको हुँ .. कालीमाता र पशुपतिनाथ समक्ष प्रार्थना गर्दछु, यसै क्षण मेरो जीवन अन्त्य होस्।’

उनले प्रतिस्पर्धा सिर्जनामा हुनुपर्नेमा जोड दिँदै कला र कलाकारलाई सम्मान गर्न आग्रह गरेका छन्।

गिरी र सेनको टिमबीच यस्तो आरोप-प्रत्यारोप चलेको यो पहिलो पटक भने होइन। यसअघि बिराज भट्टका छोरा समीर भट्टको डेब्यु फिल्म ‘१२ गाउँ’ रिलिज हुँदा पनि यस्तै अवस्था सिर्जना भएको थियो।

त्यस समय ‘१२ गाउँ’को प्रतिस्पर्धी फिल्म ‘छक्का पन्जा’को टिमले सन्तोष सेनमाथि सामाजिक सञ्जालमा ट्रोल गराउन र नकारात्मक प्रचार गर्न ‘साइबर समूह’ परिचालन गरेको आरोप लगाएको थियो। सेनले त्यतिबेला पनि ती आरोपहरूको खण्डन गरेका थिए। ‘१२ गाउँ’ को प्रचारमा निर्माता बिराज भट्टभन्दा सेन नै बढी खटिएका देखिन्थे।

अहिले सेन आफ्नो नयाँ चलचित्र ‘बलिदान’ को तयारीमा छन्, जसमा समीर भट्ट मुख्य भूमिकामा छन्। ‘बलिदान’को टिजर सार्वजनिक भएसँगै सेनले समीरलाई ‘एक्सन किङ्ग’को ट्यागसमेत दिएका छन्। दक्षिण भारतीय चलचित्रबाट प्रभावित देखिने सेनले ‘बलिदान’लाई पनि त्यस्तै शैलीमा प्रस्तुत गर्न खोजेको देखिन्छ।

आगामी दिनमा गिरीको ‘छक्का पन्जा ५’ र सेनको ‘बलिदान’ प्रदर्शनको तयारीमा छन्। दुई ठूला ब्यानरका चलचित्र प्रदर्शनको संघारमा रहँदा निर्माताहरूबीच देखिएको यो वाकयुद्धले नेपाली चलचित्र क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धाको प्रवृत्ति बढ्दै गएको संकेत गरेको छ।

भदौ १७, २०८२ मंगलबार ०९:४१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।