बैतडीमा भारी वर्षा : रात्रिकालीन यात्रामा रोक, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन अपिल

बैतडीमा भारी वर्षा : रात्रिकालीन यात्रामा रोक, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन अपिल

बैतडी : अविरल वर्षाका कारण बाढी, पहिरो र अन्य प्राकृतिक विपद्को जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नागरिकको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले आपत्कालीन अवस्थाबाहेक रात्रिकालीन समयमा राजमार्ग र सहायक सडकमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएको छ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार, मनसुनजन्य विपद्को सम्भावनालाई मध्यनजर गर्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न, जोखिमयुक्त स्थान तथा खोला किनारमा नबस्न र यात्रा गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

‘अविरल वर्षाले विपद्को जोखिम बढाएको छ। नागरिकको सुरक्षालाई ध्यानमा राख्दै हामीले यो निर्णय लिएका हौँ,’ प्रजिअ पौडेलले भने, ‘कुनै पनि विपद्जन्य घटना भएमा तत्काल उद्धार र राहतका लागि सुरक्षा निकाय तथा सरोकारवालालाई तयारी अवस्थामा राखिएको छ।’

यसैबीच, जिल्ला प्रहरी कार्यालयले पनि नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ। प्रहरी प्रवक्ता बलराम पाण्डेयले बाटोघाटो अवरुद्ध हुनसक्ने भएकाले यात्रा गर्दा होसियार रहन र आफ्नो वरपर बाढीपहिरोको जोखिम देखेमा तत्काल नजिकको प्रहरीलाई खबर गर्न अनुरोध ग​​​​​​​रे।

महाकाली नदीमा पानीको सतह बढेकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन पनि प्रशासनले आग्रह गरेको छ। विगत तीन दिनदेखि जारी वर्षाले बैतडीको जनजीवन प्रभावित बनेको छ।

भदौ १७, २०८२ मंगलबार ०७:३८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।