
जापानमा भालुको आक्रमण बढ्दै

टोकियो : जापानमा पछिल्ला वर्षहरूमा भालुको आक्रमण तीव्र रूपमा बढ्दै गएपछि सरकारले आपतकालीन अवस्थामा सिकारीहरूलाई राइफल र बन्दुक प्रयोग गर्न सजिलो हुने व्यवस्था मिलाएको छ।
मानव जनसङ्ख्या घट्दै जानु, जलवायु परिवर्तन र भालुको प्राकृतिक वासस्थानमा परेको असरका कारण जङ्गली भालुहरू आवासीय क्षेत्रसम्म देखिन थालेका हुन्। यस वर्ष अप्रिलयता मात्रै भालुको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ भने अगस्टमा होक्काइदोमा दर्जनौँ घाइते भएका थिए।
जुलाईमा उत्तरी सहर किताकितास्थित अपाङ्गता संरक्षण केन्द्रमा भएको आक्रमणमा एक महिला बेहोस हुने गरी घाइते भएकी थिइन्। जुन महिनामा भने एक भालु क्षेत्रीय विमानस्थलको धावनमार्गमै देखिएको थियो।
जापानमा सामान्यतया कडा हतियार नियन्त्रण प्रणाली छ। तर भालुको बढ्दो आक्रमणलाई ध्यानमा राख्दै सरकारले सोमबारदेखि सिकारीहरूलाई प्रहरीको स्वीकृतिपछि राइफल र बन्दुक प्रयोग गर्न आपतकालीन अनुमति दिने निर्णय गरेको हो।
सन् २०२५ मार्चसम्मको तथ्याङ्कअनुसार भालुको आक्रमणमा ८५ जना प्रभावित भएका थिए, जसमध्ये तीन जनाले ज्यान गुमाए। सो अवधिमा पाँच हजारभन्दा बढी भालु मारिएको थियो, जुन अघिल्लो वर्षको नौ हजारभन्दा कम हो।
विशेषज्ञहरूले ग्रामीण जनसङ्ख्या घट्नु, बाँझो जमिन बढ्नु र मौसम परिवर्तनले भालुको खाना तथा बासस्थानलाई असर गर्दा उनीहरू सहर नजिक पस्न थालेको बताएका छन्। वृद्ध जनसङ्ख्या बढी भएकाले सिकारीहरूको सङ्ख्या घटेको र भालुको जनसंख्या बढ्दै गएको पनि आक्रमण वृद्धि हुनुको कारण बताइन्छ।
पछिल्लो समय राजधानी टोकियो वरपर पनि भालु देखिएको छ। गत महिना सहरी क्षेत्रमा नदीमा माछा मार्दै गरेका एक व्यक्तिलाई भालुले आक्रमण गरेको घटना सार्वजनिक भएको थियो। सरकारी प्रसारक एनएचकेको अनुसार यो वर्ष मात्रै जापानका विद्यालयभित्र वा वरपर कम्तीमा ३९ पटक भालु देखिएको छ।
भदौ १६, २०८२ सोमबार २१:२१:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।