विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्छः प्रधानमन्त्री

विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्ने बताएका छन्। चीनको औपचारिक भ्रमणमा रहेका उनले सोमबार ‘साङ्घाई सहयोग सङ्गठन प्लस बैठक’लाई सम्बोधन गर्दै बहुपक्षीय प्रणाली सुदृढ गर्नैपर्ने आवश्यकता औँल्याए।

प्रधानमन्त्री ओलीले चीनले अघि सारेको ‘ग्लोबल गभर्नेन्स इनिसिएटिभ’ले साझा भविष्यका लागि समुदायलाई अझ न्यायपूर्ण, समावेशी र समतामूलक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे। विज्ञान र प्रविधिमा प्रगति भए पनि असमानता, आर्थिक अस्थिरता, जलवायु संकट र द्वन्द्वका कारण प्रगति ओझेलमा परेको उनको भनाइ थियो।

‘कुनै राष्ट्र एक्लै सुरक्षित रहन सक्दैन, कुनै जनता खण्डित भएर समृद्ध हुन सक्दैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘तर बहुपक्षीयता आज संकटमा छ, यसको कमजोरी भित्री असफलताबाट पनि उत्पन्न भएको हो।’ 

बहुपक्षीय मञ्चहरूले धेरै वाचा गर्ने तर थोरै मात्र कार्यान्वयन हुने प्रवृत्तिले विश्वास कमजोर बनाएको उल्लेख गर्दै उनले साङ्घाई सहयोग सङ्गठनलाई अझ एकताबद्ध र लचिलो बनाएर भूराजनीतिक, आर्थिक र वातावरणीय संकटसँग जुध्नुपर्ने आवश्यकता औँल्याए। 

क्षेत्रीय सुरक्षाको प्रश्नलाई सम्बोधन नगरी शान्तिको कुरा गर्न नसकिने बताउँदै उनले आतङ्कवाद, जलवायु परिवर्तन, साइबर हमला र महामारीजस्ता चुनौतीहरू साझा खतराका रूपमा रहेको प्रष्ट पारे। हिमाली मुलुक नेपालले बढ्दो तापक्रमका कारण हिमाल गुमाउँदै गरेको र यसले अर्बौँ जनताको जीवन जोखिममा पारेको उनको भनाइ थियो।

दिगो विकास लक्ष्य हासिल गर्न केवल पाँच वर्ष बाँकी रहँदा प्रगति सुस्त भएको स्मरण गराउँदै उनले क्षेत्रीय सहयोगलाई साझा चुनौतीहरूको समाधानको उपकरणका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।

उनले आगामी दिनमा एक्लोपनाबाट सम्पर्कतर्फ, टकरावबाट परामर्शतर्फ र प्रतिस्पर्धाबाट सहकार्यतर्फ अघि बढ्नुपर्ने उल्लेख गर्दै भौतिक, आर्थिक, डिजिटल र सामाजिक सम्पर्क विस्तार गरेर क्षेत्रीय शान्ति र समृद्धि प्रवर्द्धन गर्न आह्वान गरे।

प्रधानमन्त्री ओलीले साङ्घाई भावनालाई अँगालेर संवाद र कूटनीतिलाई तीव्र बनाउन, साझेदारी र असल छिमेकी सम्बन्धलाई सुदृढ गर्न तथा कुनै राष्ट्र पनि पछाडि नपर्ने गरी न्यायपूर्ण र समावेशी व्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिए।

बैठकको सफलताका साथै साङ्घाई सहयोग सङ्गठनका सदस्य राष्ट्रहरूको निरन्तर प्रगति र समृद्धिका लागि नेपाली जनताको तर्फबाट शुभकामना पनि व्यक्त गरे। 

भदौ १६, २०८२ सोमबार २१:०२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।