नास आईटीको तेस्रो साधारण सभा सम्पन्न, गौरव राज पाण्डे अध्यक्षमा निर्वाचित

नास आईटीको तेस्रो साधारण सभा सम्पन्न, गौरव राज पाण्डे अध्यक्षमा निर्वाचित

काठमाडौं : नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीले आफ्नो तेस्रो वार्षिक साधारण सभा काठमाडौंको होटल सोल्टीमा सम्पन्न गरेको छ।

सदस्य कम्पनीका प्रतिनिधि, बोर्ड सदस्य र सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा नयाँ नेतृत्व चयनसँगै संस्थाले आगामी वर्षका कार्ययोजना सार्वजनिक गरेको छ।

सभाले ई.के. सोलुसन्सका सीईओ गौरव राज पाण्डेलाई अध्यक्षमा निर्वाचित गरेको छ। त्यस्तै, लोगपोइन्टका दीपेन चापागाईं उपाध्यक्ष, अम्निल टेक्नोलोजिजकी आलिशा श्रेष्ठ महासचिव, र गोक्यो ल्याब्सका अभया पौडेल कोषाध्यक्षमा चयन भएका छन्।

नवगठित कार्यसमितिमा लिपफ्रग टेक्नोलोजिजका कैलाश राज बिजयानन्द, एमिनेंस वेजका नारायण कोइराला, बी.आई.सी. टेक्नोलोजिजकी प्रार्थना साखा, क्विकफक्स टेक्नोलोजिजका रिचन श्रेष्ठ र तत्कालीन अध्यक्ष सन्तोष कोइरालासमेत समावेश छन्।

गत वर्ष नास आईटीले सरकारसँग नीतिगत छलफलमार्फत सूचना प्रविधि क्षेत्रमा ठूला उपलब्धि हासिल गरेको सभामा उल्लेख गरियो। आईटी सम्बन्धी ऐन, निर्देशिका र नियमावलीमा उद्योगको पक्षमा वकालत गर्नुका साथै अन्तर्राष्ट्रिय कार्यक्रममा सक्रिय सहभागिता जनाएको थियो।

संगठनले करियर कम्पास, ‘आईटी करियर कार्यशाला’ जस्ता कार्यक्रममार्फत युवालाई दक्ष बनाउन योगदान गरेको छ भने साइबर सुरक्षा समिति गठन गरेर उद्योगलाई सुरक्षित र सबल बनाउने कदम चालेको छ।

नयाँ नेतृत्वले नास आईटीलाई अझ प्रभावकारी बनाउन, विश्वस्तरीय अवसर सिर्जना गर्ने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ।

भदौ १६, २०८२ सोमबार २०:१४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।