कञ्चनपुरमा बाढीले ५२ घर डुबायो, १ सय ६५ जनालाई सुरक्षित स्थानमा सारियो

कञ्चनपुरमा बाढीले ५२ घर डुबायो, १ सय ६५ जनालाई सुरक्षित स्थानमा सारियो

कञ्चनपुर : आइतबारदेखिको लगातार वर्षाले कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा बाढीको जोखिम बढाएको छ। जिल्लाका विभिन्न ठाउँमा ५२ घर डुबानमा परेका छन् भने दुई सशस्त्र प्रहरीको बिओपी पनि डुबेको छ।

जिल्ला प्रहरी प्रवक्ता सागर बोहराका अनुसार दोधारा चाँदनी-८ स्थित रामपुरे टापु र गर्जा टोलमा जोगबुढा नदीको पानीले २५ घर डुबाएको छ। यी घरपरिवारका ७० जनालाई नजिकैको जनज्योति माध्यमिक विद्यालयमा सारिएको छ।

त्यसैगरी दोधारा चाँदनी-३ पटराखल्लामा बाँध भत्किएर बाढीले १५ घर डुबाएको छ। यी १५ घरपरिवारका ५५ जनालाई जमुना आधारभूत विद्यालयमा सुरक्षित गरिएको छ। वडा नं १० शान्तिनगरमा डुबानमा परेका १२ घरपरिवारका ४० जनालाई अम्बिका माध्यमिक विद्यालयमा सारिएको छ।

सशस्त्र प्रहरीको बिओपी पनि बाढीको प्रभावमा परेका छन्। दोधारा चाँदनी-१० स्थित सुन्दरनगर बिओपीमा कार्यरत २३ प्रहरीलाई ओमकार आधारभूत विद्यालयमा राखिएको छ भने वडा नं ७ कञ्जभोज बिओपीमा कार्यरत ३० प्रहरीलाई सहरी खोप केन्द्रमा स्थानान्तरण गरिएको छ।

प्रवक्ता बोहराले भने, “बाढीले ५२ घर डुबानमा पारेको छ, १६५ जनालाई सुरक्षित स्थानमा सारिएको छ। महाकाली नदीको सतह लगातार बढिरहेको छ।” जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको जलसतह सतर्कता तह पार गरेको भन्दै तटीय बासिन्दालाई सचेत रहन सुझाव दिएको छ।

विभागले डडेल्धुरास्थित पारि-गाउँ बाढी मापन केन्द्रमा जलसतह ९६.८ मिटर पुगेको जानकारी दिएको छ। भारतको शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधन आवागमन रोकिएको छ।

डुबान प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र प्रहरी प्रमुख खड्कबहादुर खत्रीको नेतृत्वमा उद्धार तथा अनुगमन कार्य भइरहेको छ।

भदौ १६, २०८२ सोमबार १९:०९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।