स्वस्तिमाको जवाफ सुनेर प्रकाशले पानी पिए!

स्वस्तिमाको जवाफ सुनेर प्रकाशले पानी पिए!

काठमाडौं : नेपाली कला क्षेत्रमा को, कतिबेला, कोसँग झगडा गर्छन् अनि कतिबेला मिल्छन्, पत्तै हुन्न। कुनै समय अभिनेत्री पूजा शर्मा र सुष्मा कार्कीबीच पानी बाराबार थियो। सामाजिक सञ्जालमै भनाभन चल्थ्यो। अहिले उनीहरू मिलिसकेका छन्। यसबाहेक पनि कलाकारहरूबीच यस्तो भइरहन्छ। दीपक-दीपा र जितु नेपालबीचको मनमुटाब पनि अमेरिका भ्रमणले सकिएको समाचार पनि आइरहेका छन्।  

पछिल्लो समय चलचित्र वृतमा यस्तै अर्को हल्ला चल्यो। गायक प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्काबीच पनि बोलचाल बन्द भएको गसिप आउन थालेको पनि करिब एक महिना भयो। प्रकाश सपुतको निर्देशनमा बनेको फिल्म ‘वसन्त’ डुबेपछि यी दुई कलाकारबीच बोलचाल बन्द भएको चर्चा चलेको थियो।  

एक वर्षअघि प्रकाश सपुतकै गीत ‘जाले रुमाल फाट्यो’ बाट जमेको जोडी फिल्म ‘वसन्त’बाट टुटेको भन्दै समाचार समेत बाहिरिएका थिए। तर यो नियोजित रुपमा उनीहरूले नै हल्ला फैलाएका हुन् वा साँच्चै हो भन्ने यकिन छैन।

तेह्र दिनअघि स्वस्तिमा अभिनित फिल्म ‘हरिबहादुरको जुत्ता’मा समावेश पहिलो गीत ‘बेला बितेसी’मा उनीहरू सँगै देखिएका थिए। प्रकाश र स्वस्तिमाबीच आन्तरिक द्वन्द्व चलेको अनुमान गर्नेहरूको सामुन्ने उनीहरू भिडियो लाइभमै देखिए। बोलचाल बन्द भएको समाचार बाहिरिएको करिब एक महिनापछि ‘हरिबहादुरको जुत्ता’को गीतको प्रमोसन फेसबुक लाइभमार्फत गरेका थिए। त्यतिबेला नै उनीहरूले आफूसँग कुनै मनमुटाव नभएको देखाउन एकअर्काको जुठो पानी खाएका थिए। तर त्यो फिल्म प्रचारकै फण्डा थियो वा साँच्चै भन्नेमा शंका छ। 

सोमबार यही फिल्मको अर्को गीत ‘ढाका टोपी शिरैमा’ को पत्रकार सम्मेलनमा उपस्थित स्वस्तिमा र प्रकाशलाई पत्रकारले फेरि सोधे- ‘स्वस्तिमाजी र प्रकाशजी, तपाईँहरूको सम्बन्ध राम्रो छैन भन्ने हल्ला धेरै छ। तर प्रोग्रामहरूमा तपाईँहरू सँगै हिँडेको देखिन्छ। यसको बारेमा केहि बोल्नुहुन्छ ?’ जवाफमा स्वस्तिमाले भनिन्- ‘सुरुमै दुई जनालाई क्षेप्यास्त्र आयो, अलिकति क्रियटिभ कुरा, फिल्मका कुरा गरौं न…।’

त्यस क्रममा उनले हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले अभिनय यात्रा थाल्दा आफू भर्खर जन्मेको बताइन्। उमेरबारे गरेको यो टिप्पणी सुनेर हलभरि हाँसो फैलिएको थियो। किनभने यसअघि मदनकृष्णले सोही स्टेजमा हरिवंश र आफूले ४५ वर्षअघि अभिनय सुरु गरेको बताएका थिए। स्वस्तिमा अहिले करिब ३० वर्षकी मात्रै भएकी छन्। ‘हरि दाईहरूले त मेरो उमेर जति त उहाँहरूले काम नै गरिसक्नुभएको होला,’ हरिवंशतर्फ हेर्दै उनले भनेकी थिइन्। 

उनले त्यो समयदेखि अहिलेसम्म पनि हरिवंश आचार्यमा उस्तै उर्जा रहेको बताइन्। स्वस्तिमा उनको तारिफ गर्दा उमेरमा चिप्लिएकी थिइन्। 

‘मुभीको कुरा गर्नुपर्दा चाहिँ, हरिदाइसँग पहिले पनि केही कामको लागि कुरा भइरहेको थियो। के-के नमिलेकोले जुरेको थिएन। यो प्रोजेक्टमा आएर जोडिँदा म एकदमै खुसी छु। सानैदेखि देखिरहेको मान्छेसँग यसरी स्क्रिन सेयर गर्न पाउँदा, उहाँको क्रियटिभ प्रोजेक्टमा सहभागी हुन पाउँदा निकै खुशी लागेको छ,’ उनले भनिन्। 

उनले बोल्दै गर्दा उनको छेउमै रहेका प्रकाश सपुतले भने पानी पिइरहे। स्वस्तिमा चिप्लिएको थाहा पाएर हो वा साँच्चै तिर्खा लागेर! त्यो त प्रकाश नै जानुन।
 

भदौ १६, २०८२ सोमबार १८:२६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।