अगष्ट महिनामा ८८ हजार विदेशी पर्यटक नेपाल आए, सबैभन्दा बढी भारतीय

काठमाडौं : सन् २०२५ को अगष्ट महिनामा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो सङ्ख्या गत वर्षको सोही महिनाभन्दा २२ प्रतिशतले बढी हो।
भारत अझै पनि पर्यटक आगमनमा पहिलो स्थानमा छ। अगष्टमा भारतबाट ३५ हजार ५०५ पर्यटक नेपाल आएका छन्, जसले कुल पर्यटक आगमनको ४० प्रतिशत ओगटेको छ। चीनबाट ७ हजार ५३३, अमेरिकाबाट ६ हजार ६८, श्रीलङ्काबाट ५ हजार ९५६ र बङ्गलादेशबाट ४ हजार २६२ जना नेपाल पुगेका छन्।
जनवरीदेखि अगष्टसम्मको आठ महिनामा कुल सात लाख ३६ हजार ५६२ पर्यटक नेपाल आएका छन्। क्षेत्रगत हिसाबले हेर्दा दक्षिण एशियाली (सार्क) मुलुकबाट मात्रै ४७ हजार १३७ अर्थात् ५३ प्रतिशत पर्यटक आएका छन्।
त्यसपछि एसियाका अन्य मुलुकबाट १५ हजार ७७७ (१७.८ प्रतिशत), युरोपबाट ११ हजार १३२ (१२.६ प्रतिशत), ओसनियाबाट दुई हजार ४३५ (२.७ प्रतिशत), अमेरिकाबाट सात हजार २९३ (८.२ प्रतिशत), मध्यपूर्वबाट ९४४ (१.१ प्रतिशत), अफ्रिकाबाट ३२२ (०.४ प्रतिशत) र अन्य मुलुकबाट ३ हजार ६४० (४.१ प्रतिशत) पर्यटक भित्रिएका छन्।
गत जुलाईमा मात्र ७० हजार १९३ पर्यटक नेपाल आएका थिए। पर्यटन क्षेत्रलाई कोभिड-१९ महामारीले ठूलो धक्का पुर्याएपनि क्रमशः पुनरुत्थान भइरहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए।
उनले एयर इन्डिया एक्सप्रेसको उडान थपिँदा भारतबाट आगमन अझै बढेको जनाउँदै आगामी महिनाहरूमा निरन्तर पर्यटक संख्या बढ्ने आशा व्यक्त गरेका छन्।
भदौ १६, २०८२ सोमबार १६:३३:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।