कोशेढुङ्गा : नत्र भने निर्देशन व्यर्थ छ...

निर्देशक सरोज पौडेलको फिल्मी यात्राबारे चर्चा हुँदा अधिकांशले ‘पूर्णबहादुरको सारंगी’ उनको पहिलो फिल्मको रूपमा उल्लेख गर्ने गरेको देखिन्छ। तर हैन, यो उनको दोस्रो फिल्म हो। उनले निर्देशन गरेको पहिलो फिल्म हो ‘वेलकम टु हेम्जाकोट।’
यो फिल्म कहिले हलमा लाग्यो अनि कहिले उत्रियो दर्शक त के फिल्म समीक्षकहरूले पनि चालै पाएनन्। त्यसैले त अहिले हलमा लागिरहेको फिल्म कोशेढुंगालाई उनको दोस्रो फिल्म भन्दै समीक्षा आइरहेका छन्। ‘पूर्णबहादुरको सारंगी’ धेरै अर्थमा ब्रान्ड बन्यो नेपाली फिल्मको। त्यसैको प्रभाव हुनसक्छ। निर्देशक सरोजले पनि आफ्नो पहिलो असफल फिल्मको नाम लिन चाहेनन्। तर इतिहास भनेको त इतिहासै हो नि, सफल होस् या असफल।
पहिलो सुपर फ्लप अनि दोस्रो सुपरहिट फिल्मका निर्देशक उनै पौडेल निर्देशित फिल्म कोशेढुंगामा उनले दुवै फिल्मको अनुभव मिसाएका छन्। कमजोरी उनले हेम्जाकोटबाट सापटी लिएका छन्। बलिया पक्ष पूर्णबहादुरको सारङ्गीबाट।
अब लागौँ कथासारतर्फ
वैदेशिक रोजगारीले समाज र परिवारमा पारेको प्रभाव यो फिल्मको मुख्य कथावस्तु हो। यसमा निर्देशकले हास्यरस, मेलोड्रामा र विरह तीनै तत्त्व मिसाएर फिल्म निर्माण गरेका छन्। फिल्मको कथा निर्माणका लागि उनले पृष्ठभूमि डाँडा गाउँलाई बनाएका छन्। गाउँका सन्जोग (मञ्जिल कुमार) पढेका भए पनि रोजगारको खोजीमा छन्। उनी लोकसेवा पास गरेर सरकारी जागिरे भएर वैवाहिक जीवन सुरु गर्न चाहन्छन्।
गाउँमै छिन् शीतल (सुरक्षा पन्त) जो संजोगसँग विवाह गर्न चाहन्छिन्। त्यहीँ छन् धनवीर (प्रवीण खतिवडा) जो आर्थिक प्रभावको बलमा शीतलसँग विवाह गर्न चाहन्छन्। शीतलका बुबा (सरोज खनाल) छोरीको भविष्यका लागि धनवीरको पक्षमा हुन्छन्।
त्यही गाउँमा छन् ऋषिराम चालिसे (आर्यन सिग्देल)। नाताले भान्जा पर्ने संजोगको ग्यारेन्टी लिएर उनले शीतलसँग विवाह गरिदिन्छन्। जति गरे पनि नेपालमा जागिर नपाएपछि सन्जोग विदेशिन बाध्य हुन्छन्। जब उनी बिदेसिन्छन् अनि निर्देशकले कथामा शीतल, सन्जोग अनि ऋषिरामको सङ्घर्षलाई ट्विस्ट दिएका छन्। के सन्जोग स्वदेश फर्किएलान्? मुख्य कथा नै यही हो।
सबल पक्ष
नेपाली समाजमा व्याप्त रोजगारको समस्या र त्यसले बाध्यात्मक रूपमा निम्त्याएको वैदेशिक रोजगारीले समाज र परिवारमा पार्ने नकारात्मक प्रभावलाई निर्देशकले केन्द्रमा राखेका छन्। उनले विभिन्न पात्रको निर्माण गरेर कथालाई सरल रूपमा दृश्य भाषाबाट देखाउने प्रयास गरेका छन्।
फिल्मको सिनेमाटोग्राफी यसको सबैभन्दा बलियो पक्ष हो। दोस्रोमा कलाकारहरूको अभिनय बलियो छ। मुख्यगरि सुरक्षा पन्तले पात्र अनुसार जीवन्त अभिनय गरेकी छिन्। सहायक कलाकारका रूपमा आएका आर्यन सिग्देल, प्रवीण खतिवडा, सरोज खनाल, ऋचा शर्माको अभिनयले फिल्मलाई बलियो बनाएको छ।
फिल्मको संगीतपक्ष बलियो छ। संवादहरू दृश्य सुहाउँदो छ। कोरियोग्राफीमा समस्या देखिन्न। फिल्मलाई एक रसमा अगाडि बढाउनु भन्दा निर्देशकले हास्यरस, करुणरस सबैको उपयोग गर्ने प्रयास गरेका छन्।
फिल्मका अधिकांश गीत राम्रा सुनिन्छन्। फिल्मको १०–१५ मिनेटपछि बज्ने तीजगीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ राम्रो छ। ‘देशै छोडी जाने कहाँ होला’ अनि मुकुन भुसालले गाडीमा गाएको गन्धर्व गीत ‘बाबाले सोध्लान् नि खै छोरा भन्लान्’ ले फिल्मको कथालाई खलबल्याएको छैन।
दुर्बल पक्ष
जब कथामा पात्रहरू थुप्रिन्छन् उनीहरूको पृष्ठभूमि निर्माणमा सकस भइहाल्छ। यसमा पनि निर्देशकले यही सकस बेहोरेका छन्। मल्टिस्टारर भएकाले उनीहरूको पृष्ठभूमि निर्माणमा अधिकांश दृश्य खर्च हुँदा पहिलो हाफ तुलनात्मक रूपमा केही सुस्त बनेको छ।
पात्रसँगै सहायक कथाहरूको निर्माण गर्दा फिल्मको लय बेलाबखत भड्किएको अनुभव हुन्छ। यो वैदेशिक रोजगारीमा गएकाहरूको कथा हो कि गाउँमा कृषि पालन गरेर यतै रोजगार हुन संघर्ष गरिरहेका पात्रको कथा हो भन्नेमै अलमल हुन्छ।
पहिलो हाफलाई निर्देशकले रमाइलो पाराले प्रस्तुत गर्ने प्रयास गरेका छन्। दोस्रो हाफमा पुगेर पछि फिल्मको गति बदलिन्छ। त्यसपछि एकाएक वियोग हावीहुँदै जान्छ। दोस्रो हाफमा कथालाई सलल बगाउनभन्दा दर्शकलाई रुवाउनतिर निर्देशकले अलि बढी नै जोडबल लगाउँदा मूल कथा कता कता भड्किएको अनुभव हुन्छ।
फिल्मलाई निर्देशकको पहिलो फिल्म वेलकम टु हेम्जाकोटसँग दाँजेर हेर्ने हो भने बलियो छ। तर पूर्णबहादुरको सारङ्गीसँग लगेर दाँज्ने हो भने कमजोर छ। यी दुवै फिल्मसँग नदाँजी हेर्ने हो भने मध्यमतहको फिल्म बनेको देखिन्छ।
पात्र चयनमा पनि निर्देशक अलमलिएको देखिन्छ। निर्देशक पौडेलले फिल्मको मुख्यपात्र मञ्जिल कुमारलाई फिल्मको सबै भारी बोकाउने प्रयास गरेका छन्। तर चरित्र निर्माणको दृष्टिमा यसको नायक मञ्जिल हैन सुरक्षा पन्त हुन्। उनले सुरक्षाको चरित्र निर्माणमा अलि मिहिनेत गरेको भए फिल्मको गति र गुणस्तर दुवै सुधार हुनसक्ने प्रशस्त सम्भावना देखिन्छ।
भैँसी पालेर दूध बेच्दै आएका आर्यनको चरित्र जुन उद्देश्यले निर्माण गरिएको छ त्यो फिल्ममा प्रस्ट देखिँदैन। रोजगारको खोजीमा भौँतारिएका युवा र गाउँमै कृषीकर्म गरेर जीविकोपार्जन गरिरहेका युवाबीचको भिन्नता देखाउने प्रयास गरेको झल्को त मिल्छ तर प्रस्ट आकार लिएको छैन। खलनायकको चरित्रमा देखिएका प्रवीण खतिवडाको चरित्र खुलेको छैन। फिल्मको कथामा सामान्य द्वन्द्व निर्माणमा उनको चरित्र आएको छ जसको कुनै प्रभाव छैन।
ऋचाको चरित्रलाई बलियो बनाउने ठाउँ हुँदाहुँदै जबर्जस्ती खुम्च्याएको अनुभव हुन्छ। नीति शाहको चरित्रको उद्देश्य नै प्रस्ट हुन्न। नीतिको अभिनयसँगै चरित्र पनि अलमलिएको छ।
अन्तमा, पूर्णबहादुरको सारङ्गीको प्रचारमा अपनाएको शैली र त्यसले पारेको सकारात्मक प्रभावका कारण अहिले अधिकांश फिल्म निर्माण टिमले उही हतियारलाई प्रचारको माध्यम बनाउने प्रयास गरिरहेका छन्। त्यो हो आँसु।
हरेक फिल्मका क्लिपमा फिल्म हेर्दा दर्शक भक्कानिएको, रुँदै कलाकारलाई अँगालो मारेको क्लिपहरू सामाजिक सञ्जालभरि भरिएको छ। एक पटक एउटा फिल्मको प्रचारमा सफल भएको ट्रिक सबै फिल्ममा काम लाग्छ भन्ने हुन्न।
फिल्म कोशेढुंगाको हकमा पनि फिल्म प्रचारमा दर्शक रोएको क्लिपकै अधिकतम प्रयोग भइरहेको छ। तर यसले हलसम्म नपुगेका दर्शकलाई हल जाऊँ जाऊँ भन्दा ‘ह्या यो पनि रुवाउने फिल्म पो’ भनेर नजाऊँ नजाऊँ बनाइरहेको देखिन्छ।
किनकि यस अगाडिको मोहर होस् या कोशेढुंगासँगै रिलिज भएको गुन्यु चोलो होस् यीनमा पनि त्यही दर्शक रोइरहेको क्लिपलाई नै दर्शकलाई हलसम्म तान्ने हतियारको रूपमा प्रयोग भइरहेको छ।
पूर्णबहादुरको सारंगी बाबु-छोराको कथामा केन्द्रित हुँदा मुख्य दुई पात्रको खुसी र दुःखमा केन्द्रित थियो। सहायक कथाहरू पनि यही दुई पात्रसँगै जोडिँदा कथा भड्किन पाएको थिएन। धेरै पात्रहरू निर्माण गरेको भए त्यसमा पनि कथा भड्किने जोखिम थियो।
तर त्यही फिल्मका निर्देशकले भने कोशेढुंगामा मल्टी स्टार कास्ट गर्न पुगे। उनले यसमा फरक शैलीको कथा बुन्न सक्थे। किनभने कथाकार पनि निर्देशकै हुन्। तर उनी यसमा चिप्लिए। उनले पात्र अनुसारको पृष्ठभूमिमा अधिक दृश्य खर्चिदा अनि सहायक कथालाई मुलकथासँग जोड्न नसक्दा फिल्मको हिरो को हो अनि भिलियन को हो भन्ने नै छुट्टिन सकेको छैन।
तर हेम्जाकोटबाट पूर्णबहादुरको सारंगीहुँदै कोशेढुंगासम्म आइपुग्दा निर्देशनमा सरोजले राम्रो सम्भावना भने देखाएका छन्। तर कमजोरीबाट सिक्नु भने पर्यो। नत्र भन् निर्देशन व्यर्थ हुनसक्छ।
भदौ १६, २०८२ सोमबार १५:१६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।