अफगानिस्तान भूकम्प अपडेट: ६०० भन्दा बढीको मृत्यु, घाइतेको संख्या १ हजार ५ सय पुग्यो

अफगानिस्तान भूकम्प अपडेट: ६०० भन्दा बढीको मृत्यु, घाइतेको संख्या १ हजार ५ सय पुग्यो

एजेन्सी : अफगानिस्तानमा सोमबार राति आएको शक्तिशाली भूकम्पमा ६०० भन्दा बढीले ज्यान गुमाएका छन्। गृह मन्त्रालयका अनुसार कुनार प्रान्तमा मात्रै ६१० जनाको मृत्यु भएको छ भने १ हजार ५ सय भन्दा बढी घाइते भएका छन्।

नङ्गरहार प्रान्तमा थप १२ जनाको मृत्यु र २५५ जना घाइते भएका छन्। मध्यरातअघि आएको भूकम्पले राजधानी काबुलदेखि पाकिस्तानको इस्लामाबादसम्म भवनहरू हल्लाएको थियो।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र नङ्गरहार नजिक जलालाबादबाट २७ किलोमिटर पूर्व, ८ किलोमिटर गहिराइमा थियो। सतह नजिकैको भूकम्प भएकाले क्षति बढी भएको बताइएको छ। 

घरहरू भत्किएपछि उद्धार अभियान सुरु गरिएको छ। तालिबान अधिकारी तथा संयुक्त राष्ट्रसङ्घले उद्धार टोली परिचालन गरेका छन्। ‘विनाशकारी भूकम्पले सयौँको ज्यान गएको खबरले हामी स्तब्ध छौँ’, संयुक्त राष्ट्रसङ्घले सामाजिक सञ्जालमा भनेको छ।

भूकम्पपछि ५.२ म्याग्निच्युडसहित कैयौँ परकम्प आएको जनाइएको छ। अफगानिस्तान बारम्बार भूकम्प आउने क्षेत्र हो। यसअघि सन् २०२२ मा पक्तिकामा ५.९ म्याग्निच्युडको भूकम्प आउँदा एक हजारभन्दा बढीको मृत्यु भएको थियो।

भूकम्पसँगै हालै आएको बाढीले पनि नङ्गरहारमा जनधनको ठूलो क्षति पुर्याएको छ। लामो युद्ध, तालिबानको शासन र विदेशी सहयोगमा आएको कमीले प्रकोप व्यवस्थापन गर्न अफगानिस्तान अझै असक्षम भएको बताइएको छ। 

भदौ १६, २०८२ सोमबार १४:४१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।