छिमेकमा पाहुना आएकी युवतीलाई ‘मेरो कोठामा पढौँ’ भनी बोलाएर बलात्कार प्रयास, ‘सरी दिदी’ भन्दै माफी मागेको दाबी

छिमेकमा पाहुना आएकी युवतीलाई ‘मेरो कोठामा पढौँ’ भनी बोलाएर बलात्कार प्रयास, ‘सरी दिदी’ भन्दै माफी मागेको दाबी
एआईबाट बनाइएको तस्बिर

काठमाडौं : काठमाडौं जिल्ला अदालतमा एक २१ वर्षीय युवकविरुद्ध बलात्कार प्रयासको मुद्दा दायर भएको छ।

डडेल्धुराका रोशन विष्टमाथि २० वर्षीया युवतीलाई पढ्ने बहानामा आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोप छ।

जिल्ला सरकारी वकिलको कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विष्टविरुद्ध अभियोगपत्र दायर गर्दै पीडितलाई उचित क्षतिपूर्तिसहित कानुनबमोजिम कडा सजायको माग गरेको छ।

के हो घटना?
२०८२ साउन २३ गते दिउँसो काठमाडौंको घट्टेकुलोमा पीडित युवती रक्षाबन्धन तथा जनैपूर्णिमा मनाउन आफ्नो ठूलोबुबाका छोराछोरी (भाइ-बहिनी)को डेरामा आएकी थिइन्। सोही घरको अर्को कोठामा बस्ने प्रतिवादी रोशन विष्टसँग उनको सामान्य चिनजान भएको थियो।

घटनाको दिन दिउँसो भाइ कलेज गएको र बहिनी साथी भेट्न गएको मौकामा विष्टले पीडितलाई ‘मेरो कोठामा पढौँ’ भनी बोलाएको पीडित युवतीले बताएकी छन्।

कोठामा पुगेको करिब १० मिनेटपछि विष्टले एक्कासी गोप्य अंग छुने, निमोठ्ने, घाँटीमा चुम्बन गर्ने र लुगा खोल्न बल प्रयोग गर्न थालेको जाहेरीमा उल्लेख छ।

पीडितले प्रतिकार गर्दै कराउँदा पनि विष्टले बलात्कार प्रयास गरेको तर आफू फुत्किएर भाइ-बहिनीको कोठामा गई ढोका थुनेर बसेको उनले बताएकी छन्।

​त्यसपछि ​विष्टले पीडितको भाइ-बहिनीको कोठाबाहिर आएर ‘यो विषयमा कसैलाई भने तिम्रै बेइज्जत हुन्छ, मेरो केही बिग्रिँदैन’ भनी धम्की दिएको र सोही कारण आफू बेहोस भएको पीडितले बताएकी छन्।

बेहोस भएपछि उनलाई उपचारका लागि बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल लगिएको थियो।

विष्टको इन्कारी बयान
प्रहरीसमक्ष दिएको बयानमा प्रतिवादी रोशन विष्टले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्।

उनले जाहेरवालीसँग सामान्य हाँसोठट्टा चल्ने गरेको र घटनाको दिन पीडित आफैँ पढ्छु भनेर आफ्नो कोठामा आएको दाबी गरेका छन्।

बयानमा उनले भनेका छन्, ‘पढ्दै गर्दा हाँसोमजाकमा मैले धक्का दिँदा मेरो हातले उनको गोप्य अङ्गमा लाग्न गयो, त्यसपछि उनी रिसाइन्। मैले तत्कालै ‘सरी दिदी’ भनेर माफी मागेको थिएँ।’

उनले करणीको प्रयास वा कुनै किसिमको धम्की नदिएको विषय समेत आफ्नो बयानमा भनेका छन्।

यद्यपि सरकारी वकिलले दायर गरेको अभियोगपत्रमा प्रतिवादीको बयानलाई अन्य प्रमाणले खण्डन गरेको उल्लेख छ।

पीडितको जाहेरी, घटनास्थल मुचुल्का, मौकामा बुझिएका व्यक्तिको भनाइ र पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनले बलात्कार प्रयासको कसुर स्थापित भएको दाबी गरिएको छ।

पीडितको स्वास्थ्य परीक्षणमा बाहिरी चोटपटक नदेखिए पनि उनको मानसिक अवस्था ‘अत्यन्त चिन्तित र श्वासप्रश्वास तीव्र भएको’ पाइएको उल्लेख छ।

सरकारी वकिलको कार्यालयले प्रतिवादी रोशन विष्टलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(१) र (२) तथा दफा ३४(१) अनुसार बलात्कार प्रयासको कसुरमा सजायको माग गरेको छ।

उक्त कानुनअनुसार १८ वर्षभन्दा माथिको महिलामाथि करणी गर्नेलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

करणी उद्योगको कसुरमा मुख्य कसुरको आधा सजाय हुने भएकाले विष्टलाई साढे ३ देखि ५ वर्षसम्म कैद सजायको माग गरिएको छ।

साथै, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई उचित क्षतिपूर्ति भराउनसमेत माग गरिएको छ।

भदौ १६, २०८२ सोमबार १४:२१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।