जनार्दनसँगको अन्तरसंघर्षबारे प्रचण्डको टिप्पणी : खुला छलफल हुनु हाम्रो संस्कार हो

जनार्दनसँगको अन्तरसंघर्षबारे प्रचण्डको टिप्पणी : खुला छलफल हुनु हाम्रो संस्कार हो

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति जनतामा विश्वास बढे पनि त्यसलाई संगठनमा बदल्न नसकिएको स्वीकार्दै नेता-कार्यकर्तालाई गाउँ फर्कन निर्देशन दिएका छन्।

पार्टीभित्र उपमहासचिव जनार्दन शर्मासँग अन्तरसंघर्ष चलिरहेको स्वीकार गर्दै उनले अब आत्मसमीक्षासहित जनसम्पर्कमा जुट्नुपर्नेमा जोड दिए।

सुदूरपश्चिम प्रदेश समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको छ, तर यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि हुन सक्दैन।’

उनले पार्टीभित्रको बहस र आलोचनालाई लोकतान्त्रिक अभ्यासको रूपमा व्याख्या गरे।

‘हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो जहाँ कार्यकर्ताले देखेको कुरा खुला रूपमा राख्न सक्छन्,’ शर्मासँगको विवादतर्फ संकेत गर्दै उनले भने, ‘पदाधिकारीदेखि स्थायी समिति बैठकसम्म खुला छलफल हुनु हाम्रो संस्कार हो।’

विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्दै गाउँ-बस्तीमा कमिटी निर्माण र प्रशिक्षणमा जुट्न आग्रह गरेका प्रचण्डले दशैंपछि दुई दिनका लागि सुदूरपश्चिम आउने प्रतिबद्धतासमेत व्यक्त गरे।

भदौ १६, २०८२ सोमबार १३:४०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।