रास्वपाका उम्मेदवार थापा बहुविवाह र ‘जासुसी’को विवादमा, पत्रकार सम्मेलन स्थगित

रास्वपाका उम्मेदवार थापा बहुविवाह र ‘जासुसी’को विवादमा, पत्रकार सम्मेलन स्थगित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही-३ को उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाएलगत्तै उनी गम्भीर विवादमा तानिएका छन्।

बहुविवाह गरेको र पार्टीको गोप्य बैठकमा ‘जासुसी चस्मा’ प्रयोग गरी भिडियो रेकर्ड गरेको आरोप लागेपछि रास्वपाले सोमबारका दिउँसो २ बजेका लागि तय गरेको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित गरेको छ।

पार्टीले थापालाई उम्मेदवार घोषणा गरेलगत्तै उनको व्यक्तिगत र राजनीतिक आचरणमाथि प्रश्न उठाउँदै पार्टीभित्र र सामाजिक सञ्जालमा चर्को आलोचना सुरू भएको हो।

बहुविवाहको आरोप र प्रमाण
थापामाथि सम्बन्धविच्छेद नगरी बहुविवाह गरेको गम्भीर आरोप छ। यद्यपि, पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरेर मात्र दोस्रो विवाह गरेको दाबी गरेका छन्।

तर, थापा स्वयंले पाँच वर्षअघि युट्युबमा राखेको ‘सुपर थापा फ्यामिली’ नामक भिडियो तथा उनका दुवै श्रीमती (सुलोचना घिमिरे र नुमा शर्मा) ले हालै सार्वजनिक गरेका टिकटक भिडियोहरूले उनीहरू सँगै बस्दै आएको देखाउँछ, जसले पार्टीको दाबीलाई खण्डन गर्दछ।

गोप्य बैठकमा ‘जासुसी’
यसका साथै, थापामाथि पार्टीको आन्तरिक बैठकमा अनुशासन उल्लंघन गरेको आरोप पनि छ।

भदौ ३ गते बसेको उम्मेदवार आकांक्षीहरूको गोप्य बैठकमा मोबाइल लैजान निषेध गरिए पनि थापाले भिडियो रेकर्ड गर्न मिल्ने ‘जासुसी चस्मा’ लगाएर बैठकको अडियो-भिडियो रेकर्ड गरेको खुलेको हो।

घटनापछि अन्य आठ जना आकांक्षीले हस्ताक्षर गरी थापालाई अनुशासनको कारबाही गर्न माग गर्दै पार्टीको लुम्बिनी प्रदेश इन्चार्जलाई उजुरी दिएका थिए। तर, उक्त उजुरीउपर कुनै छानबिन नगरी उनलाई नै उम्मेदवार बनाइएको थियो।

पार्टी सभापति रवि लामिछानेलाई यी दुवै विषयमा जानकारी भए पनि कार्यवाहक सभापति डोलप्रसाद अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य लगायतका नेताहरूले ‘थापाको पकड बलियो रहेको’ भन्दै उम्मेदवार बनाउन दबाब दिएका थिए।

विवाद चर्किएपछि रास्वपाभित्रै उम्मेदवार फेर्नुपर्ने आवाज उठेको छ। थापा यसअघि नागरिक उन्मुक्ति पार्टीको समानुपातिक सूचीमा थिए, जुन नाम अझै हटेको छैन।

भदौ १६, २०८२ सोमबार १२:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।