बागलुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध, सयौं सवारी साधन अलपत्र

बागलुङ : बागलुङको निसीखोला गाउँपालिका-४ स्थित कालापैराखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
आइतबार रातिदेखि अवरुद्ध लोकमार्ग खुलाउन नसक्दा बुर्तिबाङ-पूर्वी रुकुम खण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको हो।
सडक अवरुद्ध हुँदा पूर्वी रुकुमबाट काठमाडौं, पोखरा लगायतका स्थानका लागि छुटेका र बुर्तिबाङबाट निसी, रोल्पा र पूर्वी रुकुम जाने सयौँ सवारी साधन तथा यात्रुहरू अलपत्र परेका छन्।
निसीखोला-४ का वडाध्यक्ष टीकानिधि पौडेलका अनुसार, बाढीले सडकलाई बगरमा परिणत गरेकाले खुलाउन समय लाग्ने देखिएको छ।
‘तत्काल एकतर्फी भए पनि सडक खुलाएर यात्रुलाई गन्तव्यमा पठाउन प्रयास भइरहेको छ’, उनले भने।
उनले निरन्तरको वर्षाले लोकमार्गका अन्य ठाउँमा पनि पहिरो खस्ने क्रम जारी रहेको जानकारी दिए।
भदौ १६, २०८२ सोमबार ११:५७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।