एसिया कप: युएईको गर्मीका कारण १९ मध्ये १८ खेलको ‍तालिका परिवर्तन

एसिया कप: युएईको गर्मीका कारण १९ मध्ये १८ खेलको ‍तालिका परिवर्तन

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना हुन लागेको एसिया कप क्रिकेट प्रतियोगिताको खेल समयमा परिवर्तन गरिएको छ।

युएईको अत्यधिक गर्मीलाई ध्यानमा राख्दै आयोजकले १९ मध्ये १८ खेलको समय आधा घण्टा पछाडि सारेको हो।

नयाँ तालिका अनुसार, खेलहरू स्थानीय समय साँझ ६:३० बजे, अर्थात् नेपाली समय अनुसार राति ८:१५ बजे सुरू हुनेछन्।

यसअघि एसियाली क्रिकेट काउन्सिलले सार्वजनिक गरेको तालिकामा खेलहरू स्थानीय समय साँझ ६ बजे सुरू हुने उल्लेख थियो।

इमिरेट्स क्रिकेट बोर्डले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘डीपी वर्ल्ड एसिया कप २०२५ का १९ मध्ये १८ खेलको सुरू हुने समय परिवर्तन गरिएको छ। अब यी खेलहरू स्थानीय समय साँझ ६:३० बजे सुरू हुनेछन्।’

यद्यपि, सेप्टेम्बर १५ मा अबुधाबीको जायेद क्रिकेट स्टेडियममा हुने युएई र ओमानबीचको खेल भने दिउँसो नै हुनेछ। यो खेल स्थानीय समय दिउँसो ४ बजे सुरू हुनेछ र प्रतियोगिताको एक मात्र दिउँसोको खेल हुनेछ।

यस पटक टी-२० ढाँचामा आयोजना हुन लागेको यो प्रतियोगिता सेप्टेम्बर ९ देखि २८ सम्म दुबई र अबुधाबीमा चल्नेछ।

प्रतियोगिताको सबैभन्दा प्रतीक्षित खेल, भारत र पाकिस्तानबीचको भिडन्त सेप्टेम्बर १४ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ।

प्रतियोगितामा सहभागी टोलीहरूमध्ये  भारत, पाकिस्तान, युएई र ओमान समूह ‘ए’मा रहँदा समूह ‘बी’मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र हङकङ रहेका छन्।

भदौ १६, २०८२ सोमबार १०:१२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।