
२४ घण्टा बित्दा पनि बिकेन भारत-पाकिस्तान म्याचको टिकट, सात खेलको प्याकेज अनिवार्य

एजेन्सी : कुनै पनि क्रिकेट टुर्नामेन्टमा भारत-पाकिस्तान म्याचको टिकट सबैभन्दा छिटो बिक्री हुन्छ। तर, यसपटक अवस्था फरक देखिएको छ।
सेप्टेम्बर १४ मा एसिया कपमा हुने भारत-पाकिस्तान भिडन्तको टिकट बिक्री सुरू भएको २४ घण्टा बितिसक्दा पनि अझै बाँकी छ। यसको मुख्य कारण हो, आयोजकले लागू गरेको टिकट बिक्रीको ‘प्याकेज सिस्टम’।
भारत-पाकिस्तान म्याचको टिकट किन्न चाहने दर्शकले अनिवार्य रूपमा ७ वटा खेलको प्याकेज खरिद गर्नुपर्ने नियम बनाइएको छ।
यसअन्तर्गत सबैभन्दा सस्तो प्याकेजको मूल्य नै ३३ हजार ६ सय भारतीय रुपैयाँ (भारु) रहेको छ भने ‘ब्यान्ड लाउन्ज’ प्याकेजको मूल्य ३ लाख १२ हजार भारु तोकिएको छ।
के हो ७ खेलको प्याकेज?
यस पटकको ७ खेलको प्याकेजमा भारत-यूएई, भारत-पाकिस्तान, B1-B2, A1-A2, A1-B2, A1-B1 र फाइनल खेल समावेश छन्। अर्थात्, अन्य खेलको तुलनामा भारत-पाक म्याच हेर्नका लागि दर्शकले निकै ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता छ।
आयोजकहरू भारत-पाक म्याचको क्रेजलाई प्रयोग गरेर अन्य खेलहरूमा पनि दर्शक आकर्षित गर्न चाहन्छन्, त्यसैले उनीहरूले यो प्याकेज प्रणाली लागू गरेका हुन्।
एसिया कपमा कुल १२ समूह चरणका खेलहरू हुँदैछन्। तीमध्ये ११ वटा खेलको टिकट भने छुट्टै किन्न पाइन्छ, जसको मूल्य सामान्यतया एक हजार दुई सय भारु (जनरल) देखि १२ हजार भारु (ग्रयान्ड लाउन्ज) सम्म छ।
फ्यानहरू भने- टिकट प्याकेज देखेर निराश भयौं
एक भारतीय क्रिकेट फ्यान रविकान्त भन्छन्, ‘मेरो अफिसका धेरै साथीहरूले महँगो प्याकेजका कारण टिकट किन्न सकेनन्।’
फ्यानहरूले खेल नजिकिँदै जाँदा आयोजकले भारत-पाकिस्तान म्याचको मात्र टिकट पनि उपलब्ध गराउनेछ भन्ने आशा गरेका छन्।
त्यस्तै, एक पाकिस्तानी प्रशंसक हसन अब्बासले भने, ‘सुरुमा टिकट प्याकेज देखेर निराशा भयो, तर पछि सोच्दा क्वालिफायर र फाइनलसहित ७ वटा म्याचको सम्झौता नराम्रो पनि होइन।’
भदौ १६, २०८२ सोमबार ०८:२५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।