अफगानिस्तानमा मध्यरातमा भूकम्प : २० भन्दा बढीको मृत्यु, मृतकको संख्या बढ्न सक्ने

एजेन्सी : अफगानिस्तानको पूर्वी क्षेत्रमा पाकिस्तानको सिमाना नजिक ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
भूकम्पमा परी २० जनाभन्दा बढीको मृत्यु भएको छ भने मृतकको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
अधिकारीहरूका अनुसार, नांगरहार र कुनार प्रान्तमा ११५ भन्दा बढी घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, यो भूकम्प आइतबार स्थानीय समयअनुसार राति ११:४७ बजे गएको थियो।
जमिनबाट केवल ८ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको यस भूकम्पपछि ४.५ देखि ५.२ म्याग्निच्युडसम्मका कम्तीमा तीनवटा परकम्प गएका थिए।
समाचार एजेन्सी एएफपीका अनुसार, भूकम्पको धक्का केही सेकेन्डसम्म अफगानी राजधानी काबुल (करिब २०० किलोमिटर टाढा) र पाकिस्तानी राजधानी इस्लामाबाद (करिब ४०० किलोमिटर टाढा) सम्म महसुस गरिएको थियो।
भूकम्प प्रभावित प्रान्तहरू दुर्गम र विकट पहाडी क्षेत्रमा पर्ने र त्यहाँका घरहरू सामान्यतया भूकम्प प्रतिरोधी नभएकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
तालिबान सरकारका अधिकारीहरूले राहत संस्थाहरूलाई दुर्गम तथा पहाडी इलाकामा उद्धार कार्यमा सहयोग गर्न अपिल गरेका छन्।
कुनार प्रान्तका प्रहरी प्रमुखले बीबीसीलाई बताएअनुसार, बाढी र भूकम्पपछिको पहिरोका कारण त्यस क्षेत्रका सडकहरू अवरुद्ध भएका छन्।
उनले भने, ‘उद्धार कार्य हवाई मार्गबाट मात्र सम्भव छ।’
तालिबान अधिकारीहरूले आफूहरूसँग सीमित स्रोतसाधन रहेको बताउँदै प्रभावित क्षेत्रमा पुग्न हेलिकप्टर उपलब्ध गराउन अन्तर्राष्ट्रिय संस्थाहरूसँग मद्दत मागिरहेका छन्।
भदौ १६, २०८२ सोमबार ०७:५५:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।