
देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहे पनि अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर वर्षाको सम्भावना बढेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ।
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको पूर्वानुमान गरिएको छ। यसैगरी, बाँकी प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानमा पनि वर्षा हुनेछ।
विशेषगरी, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रहरूमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले नदी किनार तथा कमजोर भू-भागमा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशभरको मौसममा बदली कायमै रहनेछ।
रातिको समयमा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुनेछ। अन्य तराईका भू-भागका एक-दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्हरूका अनुसार, मनसुनी प्रणाली र अरब सागरबाट आएको चिस्यानयुक्त हावाको संयुक्त प्रभावले आगामी केही दिन मौसममा उतारचढाव आइरहने देखिन्छ।
भदौ १६, २०८२ सोमबार ०७:३९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।