गुन्यु चोलो : नाजिरको उत्कृष्ट अभिनयमा निर्देशकको धमिलो दृष्टिकोण

गुन्यु चोलो : नाजिरको उत्कृष्ट अभिनयमा निर्देशकको धमिलो दृष्टिकोण

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पात्रलाई नेपाली फिल्मले समेट्दै आए पनि समस्याभन्दा पनि हास्यपात्रका रूपमा प्रस्तुत गरिँदै आएको थियो। अपवादका रूपमा केही फिल्मले अलि गम्भीर प्रश्न उठाउने प्रयास नगरेको हैन। तर मूल कथा अर्कै भइदिँदा यो गम्भीर विषय त्यतिकै ओझेल परेको थियो। त्यसैले लामो समय नेपाली निर्देशकहरुले कि महिलाको दृष्टिकोणबाट फिल्म भन्दै आए कि पुरुषको।

यो मामिलामा निर्देशक समुद्र भट्ट अलि फरक कथावस्तु बोक्दै आइन् फिल्म गुन्यू चोलो मार्फत। उनले यो फिल्ममा पूर्णतः यौनिक तथा अल्पसङ्ख्यक समुदायको पारलिंगी महिलाको कथा भन्ने प्रयास गरेकी छिन्।

कथा अनि पात्र त पारलिंगी महिलाको बोकिन्। तर फिल्म पूर्ण रूपमा यसै विषयमा केन्द्रित गर्न भने उनी चुकेकी छिन्। कथामा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको दृष्टिकोण हो। जब दृष्टिकोण प्रस्ट हुन्न नि त्यो बाफ लागेको ऐना समान बनिदिन्छ धमिलो।

अब कथासारतर्फ लागौँ। शरीर केटाको तर आत्मा केटीको लिएर जन्मिएको पात्र देवबहादुर कसरी गुलाबी बन्छिन् फिल्मको मुख्य कथा यही नै हो। गाउँका सैनिक पृष्ठभूमिका बाबु कुलबहादुर थापा (विशाल पहारी) आफ्नो छोरा देवबहादुर (नाजिर हुसेन) लाई पनि आफू जस्तै सेना बनाउन चाहन्छन्।

तर बाल्यकालदेखि नै देवबहादुरको रुचि भिन्न। उनलाई लिपिस्टिक मन पर्ने, ठुम्का लगाएर नाच्न रहर लाग्ने। अनि कपडा पनि महिलाकै मन पर्ने। यो कुलबहादुरलाई स्वीकार्य हुने विषय नै रहेन। हुर्कँदा हुर्कँदै उनलाई बाबुले सेना बन्ने तयारीका लागि तालिम पनि दिन्छन्। सेना बन्न पोखरासम्म पुग्छन् उनी।

त्यहीँ उसले आफ्नो यौनिक पहिचान अनुसार केटालाई चुम्बन गर्न खोज्छन्। अनि कथाले फरक मोड लिन्छ। उनकी आमा सावित्री (सञ्चिता लुइँटेल) ले छोराको लैङ्गिक पहिचानबारे थाहा पाउँछिन्। बाबुले थाहा पाएपछि घरको खाँबोमा बाँधेर रातभर राख्न खोज्छन्। तर आमाले राती उठेर डोरी फुकाइदिँदै गहना हातमा थमाएर पठाउँछिन्।

त्यसपछिको उनको यात्रा कसरी अगाडि बढ्छ फिल्मको मुख्य पक्ष नै यही हो।

सबल पक्ष

फिल्मको प्रचारकोक्रममा धेरै ठाउँमा नाजिरले यो फिल्म रिलिज भएपछि आफ्नो पहिचानै गुलाबी बन्ने दाबी गरेका थिए। उनले जुन स्तरको अभिनय गरेका छन् त्यो हेर्दा उनले सत्य नै बोलेको पुष्टि भयो। साँच्चिकै गजबको अभिनय गरेका छन् नाजिरले।

उनलाई निर्देशक भट्टले यौनिक अल्पसङ्ख्यक समुदायको पात्रमा यसरी ढालेकी छिन् कि उ गुलाबी हैन पछिल्लो समय एक्सन अवतारमा देखिने प्रयासमा रहेका नाजिर हुन्न भन्ने नै बिर्सन्छन्। गुलाबीको क्यारेक्टरमा उनी पूर्ण रूपमा भिजेका छन्।

एक पुरुषलाई महिलाको पहिरन लगाइदिँदैमा उनी महिलाको चरित्र निभाउन पक्कै सफल हुन्न। लैङ्गिक पहिचान भनेको पहिरन मात्रै हैन। शारीरिक हाउभाउ, स्वभाव, बोल्ने शैली अनि व्यवहारले समेत लिङ्ग खुलाउने काम गर्छ।

यो दृष्टिकोणबाट हेर्ने हो भने नाजिर पर्फेक्ट पात्र देखिएका छन्। गुलाबीको चरित्रमा उनले निभाएको पात्रमा कहिँकतै यस्तो भएको भए चैं गजब हुन्थ्यो भन्ने ठाउँ नै छाडेका छैनन्। नाजिर मात्र हैन अन्य पात्रहरूको अभिनय पनि उस्तै बलियो देखिन्छ।

छोरा मर्यो भन्दै बाबुले आफ्नो कपाल खौरेको दृश्य होस् या नाजिरले मन्दिरमा ‘भगवान् तपाईँले त बनाउनु भएको हो मलाई’ भन्ने लगायतका केही संवाद अनि दृश्यले दर्शकको मन कटक्क पार्छ।

फिल्मको गीत सङ्गीत पक्ष बलियो छ। संवादहरू बलियो बनाउने प्रयास भएको छ। छायाङ्कन, फिल्मको कलरिङ अनि ब्याकग्राउन्ड म्युजिक बलियो भनेको छ। दर्शकलाई २ घण्टा हलमा टिकाउन निर्देशकले गरेको मिहिनेत पर्दामा देखिन्छ।

कमजोर पक्ष

नाजिरको बलियो अभिनयले फिल्म सर्लक्क छोपिएको छ। एक पक्षमा निर्देशकले अलि मिहिनेत गरेको भए शवको क्लोज सट देखाउँदा सास फेरिरहेको जस्ता सामान्य त्रुटि बाहेक औंल्याउनै पर्ने कमजोरी भेटिन गाह्रो पर्न सक्थ्यो।

फिल्मको कथा भनेको सरर भन्ने मात्र हैन। त्यसमा कथावाचक पनि आवश्यक पर्छ अनि कथावाचकको दृष्टिकोण। यो फिल्मको मुख्य कथावाचक को हो? खुल्दैन। गुलाबी बनेको नाजिरलाई कथा वाचक बनाउन सकेको भए फिल्म निकै बलियो बन्न सक्थ्यो।

दोस्रो समस्या भनेको निर्देशकको दृष्टिकोण हो। फिल्ममा फरक लिङ्ग भएकै आधारमा भोग्नुपर्ने पीडालाई देखाउने प्रयास गरिएको छ। तर त्यो निकै सतही देखिन्छ। लिङ भनेको कि पुरुष हुन्छ कि महिला त्यस बाहेकको लिङ हुन्न भन्ने भ्रम अमेरिकाजत्तिको विकसित समाजमा त जरा गाडेर बसेको छ भने नेपालमा विभेदको आयतन निकै ठूलो छ।

कानुनी उपलब्धिहरू हेर्ने हो भने लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका सदस्यको पक्षमा केही सुधार भएका छन्। तर कानुनी रूपमा जति सुधार भएका छन् समाजमा त्यसको प्रभाव परेको छैन। अहिले पनि यो समुदायको अस्तित्व समाजले सहज रूपमा स्वीकार गर्न सकेको छैन।

विशेषगरी शहरी क्षेत्रमा लैङ्गिक तथा अल्पसङ्ख्यक भनेको उही ठमेलतिर सडकमा उभिएर ग्राहक खोज्नेहरू त हुन् भन्ने नै भ्रम छ। निर्देशक भट्ट पनि यही भ्रममा अलि अलमलिएको हो कि भन्ने अनुभव गराउँछ फिल्मले।

महत्वपूर्ण विषयको उठान गर्दा उनी मुलपात्र गुलाबीसँग जसरी एकीकृत हुन सक्नुपर्ने हो त्यो देखिएन। निर्देशक अन्य सहायक दृष्यतिर अलमलिएको अनुभव हुन्छ। नाजिर आफ्नो चरित्रमा जसरी मजाले ढल्न सके निर्देशक आफ्नै फिल्मको पात्रमा ढलेको अनुभव भएन। 

जसरी महिला अनि पुरुष भएर जन्मनु कसैको इच्छामा हुन्न त्यसरी नै लैङ्गिक अल्पसङ्ख्यक भएर जन्मनु पनि कसैको इच्छा हैन यो प्राकृतिक विषय हो भन्ने बलियो सत्यलाई पर्दामार्फत देखाउन सक्थिन् निर्देशकले। उनी यो पक्षमा चुकेको अनुभव भयो।

सबै फिल्ममा बलियो वैचारिक पक्षको माग हुन्न। जब यत्तिको महत्वपूर्ण विभेदको कथा उठाइन्छ नि त्यो कथाले निर्देशकको विचार खोज्छ नै। जब यस्तो फिल्मको निर्माण गरिन्छ तर विचार हुन्न नि त्यो खोक्रो हुन्छ।

निर्देशकले विचार व्यक्त गर्ने प्रयासै नगरेको भने हैन। रोजगारका समेत कि महिलाका लागि हुन्छ कि पुरुषका लागि हुन्छ भन्ने कतैकतै छ्यास्स राखिएको छ। तर त्यो विचारभन्दा पनि सन्देशको रूपमा देखिन्छ। विचार र सन्देश निकै भिन्न पक्ष हुन्। निर्देशकले देवबहादुर गुलाबी बनेपछिका आरोह अवरोहलाई जुन रूपमा प्रस्तुत गर्न सक्थिन् त्यसमा चुकेको प्रस्ट अनुभव हुन्छ।

देवबहादुरबाट गुलाबी बन्न नाजिरले गरेको मिहिनेत पर्दामा प्रस्ट देखिन्छ। तर देवबहादुरलाई गुलाबी बनाउन निर्देशक भट्टले त्यो रूपमा मिहिनेत गरेको अलि देखिँदैन। अनि प्रारम्भमा गुलाबी नाम जुराएर प्रचार सुरु गरिसकेपछि नाम बदलेर किन गुन्यु चोलो राखियो त्यो पनि बुझिएन। समग्र कथा गुलाबीको हो न कि गुन्यु चोलोको। यसले पनि फिल्मलाई कमजोर बनाउन सघाएकै अनुभव हुन्छ। फिल्मको नाम बदल्दाको नकारात्मक प्रभाव क्लाइमेक्समा  पनि देखिन्छ।

अन्त्यमा, एकोहोरो एकै विषय उठाउँदै आएको नेपाली फिल्म क्षेत्रमा जसरी फरक पहिचान भएको समुदायको कथा बोकेर ‘गुन्यु चोलो’ निर्माण भयो यो सबैभन्दा प्रशंसनीय पक्ष हो। अर्को पक्ष भनेको नाजिरको मिहिनेत। साँच्चिकै नाजिर अभिनय गर्नै जन्मिएको कलाकार हुन् भन्ने फिल्म गुन्यु चोलोमा उनले गरेको अभिनयबाट पुष्टि हुन्छ।

अभिनयबाट नाजिर ‘गुन्यु चोलो’लाई अहिलेसम्म अभिनय गरेका फिल्ममध्ये सबैभन्दा उत्कृष्ट बनाउन सफल भए। तर केही निर्देशकीय कमजोरीका कारण निर्देशक समुन्द्र भने यसमा चुकिन्। यसमा उनी सफल भएको भए गुन्यु चोलो चम्किलो फिल्म बन्न सक्थ्यो। तर चुक्यो।

भदौ १५, २०८२ आइतबार १८:१४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।