
मिसेस् ग्लोबल नेपाल इन्दिराको प्रसव पीडा र खुसी : दुबै बच्चा सँगसँगै हुर्काउन निकै गाह्रो हुने रहेछ

इन्दिरा घिमिरेको मन सानैदेखि नृत्यमा बस्यो। तर १५ वर्ष बैङ्किङ क्षेत्रमा बिताइन्। बैङ्किङ क्षेत्रमा काम गर्दागर्दै उनी मोडलिङ क्षेत्रमा प्रवेश गरिन् अनि ‘मिसेस् ग्लोबल नेपाल २०२५’ को विजेता भइन्। अहिले उनी फुर्सदमा आफ्नो रुचिको क्षेत्र मोडलिङमै केन्द्रित भएकी छिन्।
पहिलो प्रतियोगितामै सफल हुँदा आफ्नो वाक क्षमता र आत्मविश्वास बढेको उनको अनुभव छ। बर्दियामा जन्मिएकी उनको पढाई काठमाडौँमा भयो। घरको जेठो सन्तान उनले भाइबहिनीको जिम्मेवारी सानैदेखि सम्हाल्ने मौका पाइन्।
स्नातकसँगै उनको मागी विवाह भयो। बाँकी पढाइ र करिअर बिहे पछि नै अगाडि बढाइन्। उनको श्रीमान् पनि उनकै क्षेत्रमा काम गर्ने भएकाले आफूलाई धेरै सहज भएको उनले अनुभव छ। दुई सन्तान हुर्काएको अनुभव समेत सङालेकी इन्दिराले उकेराको साप्ताहिक स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी साटिन् :
०००
पहिला देखिनै घरको सबै निर्णय ड्याडीले नै गर्नु हुन्थ्यो। उहाँले ज्वाइँ पनि राम्रो छान्नु हुन्छ भनेर मलाई पहिला देखिनै लाग्थ्यो। भयो पनि त्यस्तै। मैले उहाँको छनौटलाई सहज रूपमा स्वीकारेँ। स्नातक सकिने बित्तिकै मेरो बिहे भयो। श्रीमान् सिए (चार्टर्ड एकाउन्टेन्ट) हुनुहुन्छ।
बिहेपछि स्वाभाविक रूपमै मेरो जीवनशैली बदलियो। विवाहपछिको जीवन बदलिने रहेछ। धेरै जिम्मेवारीहरू बहन गर्नु पर्यो। तर श्रीमानको सपोर्टले कुनै कमी भएन। मैले पनि निकै मिहिनेत गरेँ। पढाई सकिएपछि करिअरले एक तहको लय समात्यो। अनि सन्तानको योजना बनायौँ।
बिहे गरेको तीन वर्षपछि पहिलो सन्तान भयो। सबै योजना अनुसार नै भएको कारण गर्भवती भएको जानकारी पाउँदा निकै उत्साहित थिएँ। घरमा पनि सबै जना खुसी हुनुभयो। श्रीमान् र परिवारका अन्य सदस्यले कुनै पनि कमी महसुस गराउनु भएन।
तर मलाई गर्भावस्थाको नौ महिना निकै सकस भयो। शारीरिक रूपमा पनि धेरै गाह्रो भयो। नौ महिनासम्मै बान्ता भयो। खाना फिटिक्कै खान मन नलाग्ने। सुतेको सुत्यै गर्थेँ। त्यै भएर म निकै कमजोरी भएछु। तौल पनि धेरै बढ्न सकेन।
नौ महिना निकै पीडादायी रह्यो। कमजोरीकै कारणले दश दिन त हस्पिटलमा भर्ना भएर सलाइन पानी नै चढाउनु परेको थियो। त्यसले काममा पनि असर गर्यो। बेतलबीमा धेरै बिदा धेरै बस्नु पर्यो। मानसिक रूपमा उत्साहित थिएँ। तर सँगै डर पनि लागिरहेको थियो । के हुने होला/कसो हुने होला भन्ने लाग्ने रहेछ।
सुरुमा त यो खान्छु त्यो खान्छु भनेर तयारी नै गरेको हो। तर पछि योजना अनुसार केही गर्न सकिँन। मान्छे देख्दा पनि निकै झोक चल्थ्यो। कमजोरीकै कारणले नानीलाई जन्म दिने बेलामा पनि धेरै गाह्रो भयो।
हल्का पेट दुखेको जस्तो भए पछि हस्पिटलमा भर्ना भएँ। त्यहाँ डाक्टर आइरहने, हेर्ने, चेक गर्ने भएपछि मेरो डर हट्दै गयो। प्राकृतिक रुपमा नै मैले जन्म दिएको भए पनि त्यसपछिको घाउले निकै गाह्रो बनाएको थियो । बस्न, उठ्न पनि गाह्रो भएको कारण निकै टेन्सन भएको थियो।
नर्मल डेलिभरी गरेपछि सामान्य हुँदै जाने सुनेकी थिएँ। तर मलाई सामान्य अवस्थामा फर्किन धेरै समय लाग्यो। घाउ दुख्दै गयो। चार महिना भएपछि पुनः स्टिज गर्नु परेको थियो। धन्न नानीको तौल त राम्रै थियो। म कमजोर भए पनि नानी स्वस्थ रहेको थाहा पाउँदा निकै खुसी भएँ।
जे जति पनि पीडा भइरहेको थियो, त्यो सब नानीलाई देख्दा गायब भइसकेको थियो। नानी फेरी एकदम सक्रिय। हस्पिटलको बत्तीहरू हेरेर उसले आँखा पल्याकपुलुक गरिरहेको थियो।
स्तनपान गराउन जानिएको थिएन। नर्सहरूको सहयोगले गर्दा मजाले दूध खुवाएँ। घरमा पनि पहिलो सन्तान भएको कारणले सबैको ध्यानै नानीमा पर्यो। मैले भन्दा पनि मेरो ममी र सासुममीले उनलाई हेर्नु भएको छ। मलाई त सुरुमा नानी बोक्न, उचाल्न पनि डर लागेको थियो।
राति सुत्दा पनि मैले बच्चालाई थिच्छु कि ! च्यापिन्छ कि ! भन्ने डर हुने रहेछ। उ बोल्न सक्ने नभएसम्म म राति राम्रोसँग सुत्दा पनि सुतिँन। नानी दश महिनाको भए पछि मात्र फेरि काममा जान थालेँ। उनलाई मजाले समय दिन पाएँ।
पहिलो सन्तान भएको तीन वर्ष पछि हाम्रो दोस्रो सन्तान भयो। पहिला देखिनै मलाई बच्चाहरू निकै मन पर्ने। पाल्न सक्ने भए सकेसम्म धेरै नै पाउनु पर्छ भन्ने लाग्छ। त्यही भएर दोस्रो सन्तान पनि हाम्रो योजना अनुसार नै भएको हो।
पहिलोमा भन्दा दोस्रो सन्तानमा मैले निकै सहज महसुस गरेँ। जति बान्ता भए पनि खाइहाल्नु पर्छ भनेर मस्त खाएँ। त्यसले गर्दा पनि होला त्यति धेरै गाह्रो भएन।
दुवै सन्तानबीचको उमेर धेरै फरक नपार्ने भन्ने योजना अनुसारै दोस्रो सन्तान जन्माएको हो। तर दुवै सानो बच्चालाई सँगै हुर्काउँदा त निकै गाह्रो हुने रहेछ।
दोस्रो सन्तान प्राकृतिक रूपमा जन्माउन सकिँन,अप्रेशन गरेर जन्माउनु पर्यो। अगाडिदेखि नै बच्चा उल्टो थियो। पछि सुल्टो होला कि भन्ने थियो। तर जन्मिने समयसम्म पनि सुल्टो नभएपछि तोकिएको समयभन्दा केही अगाडि नै हामीले अप्रेशन गर्नु पर्छ भनेर थाहा पाइसकेका थियौँ। त्यो बेलामा निकै डराएकी थिएँ।
दोस्रो सन्तान बाबु भयो। बाबु भएपछि पनि निकै गाह्रो भयो। पहिलो सन्तान म बिना टाढा नै नबस्ने, भाइलाई माया गरेको देख्दा उसमा त ईर्ष्या देखिएको थियो। तर आफ्नै अनुभवले धेरै काम गर्यो। उनीहरूलाई घुलमिल गराउन केही समय लाग्यो।
अहिले त दुवै जना स्कुल जाने भइसके। नानी छ कक्षामा पढ्छिन्। अनि बाबु तीनमा। नानी एकदम बुज्झकी छिन्। भाइलाई निकै माया गर्छिन्। परिपक्व देखिएकी छिन्। अहिले अब दुवैलाई खुवाउनु नै पर्छ भन्ने छैन। दिए पछि आफै खान सक्छ। यसले गर्दा समय व्यवस्थापन हुँदै छ।
श्रीमानले सन्तान हुर्काउन साथ नदिनु भएको भए यति सहज रूपमा काम गर्न गाह्रै हुन्थ्यो। मेरो मातृत्व अनुभव राम्रो हुनुमा मेरो श्रीमानको पनि भूमिका छ। दुवै मिलेर सन्तान हुर्काउँदा दुबैसँग घुलमिल हुँदा धेरै सजिलो हुने रहेछ।
अर्को अनुभव, आफू आमा भए पछि मैले मेरो आमालाई हेर्ने दृष्टिकोण निकै भिन्न भयो। अहिले आमा र मेरो सम्बन्ध पनि भावनात्मक रूपमा झन् गाढा भएको जस्तो लाग्छ। आमाको असाध्यै माया लाग्छ। त्यै भएर पनि आमा हुनु भनेको पूर्ण हुनु भनिएको होला!
भदौ १५, २०८२ आइतबार १६:०६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।