नेपालीलाई भारत पुर्‍याएर मिर्गौला बेच्ने समूहका 'नाइके' पक्राउ

नेपालीलाई भारत पुर्‍याएर मिर्गौला बेच्ने समूहका 'नाइके' पक्राउ

काठमाडौं : नेपाली नागरिकलाई भारत लगेर मिर्गौला निकालेर बेच्न सक्रिय रहेको आरोपमा प्रहरीले  दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले श्याम कृष्ण भण्डारी र सुजन भारतीयलाई पक्राउ गरेर आइतबार सार्वजनिक गर्यो। 

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार भण्डारी सो समूहका प्रमुख हुन् भने भारती सहयोगी हुन्। उनीहरू भारतबाट नेपाल आउनेक्रममा नाकामा पक्राउ परेको प्रहरीको दाबी छ। 

मानव बेचबिखन अनुसन्धान ब्युरोमा उनीहरुविरुद्ध पाँच जनाले जाहेरी दिएको र ४ वटा मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनीहरूले  मिर्गौला दिन तयार हुने व्यक्तिलाई भारत लैजान आफैँ गाडीको व्यवस्था गरेर नयाँदिल्ली पुर्याउने गरेका थिए।

यस अगाडि नै प्रहरीले यो समूहका संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिसकेको थियो। पक्राउ परेकाहरूको सूचनाको आधारमा थप दुई जना समातिएका हुन्। प्रहरीले उनीहरूले  सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, सिन्धुली, धादिङ लगायतका जिल्लामा रहेकाहरूलाई प्रलोभनमा पारेर मिर्गौला बिक्री गराउने गर्दै आएका थिए।

भदौ १५, २०८२ आइतबार १४:४६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।