रुपन्देही-३ उपनिर्वाचनका आकांक्षीलाई रविले भने- जो आएपनि हामीले जित्नुपर्छ

रुपन्देही-३ उपनिर्वाचनका आकांक्षीलाई रविले भने- जो आएपनि हामीले जित्नुपर्छ

काठमाडौं : रुपन्देही-३ को उपनिर्वाचनका रास्वपाका आकांक्षीहरूले ललितपुरस्थित नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्। रास्वपा तर्फका ९ आकांक्षीले आइतबार बिहान सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई भेटेका हुन्।  

भेटेमा सभापति लामिछानेले रुपन्देही-३ को उप-निर्वाचनमा जसले टिकट पाए पनि पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउन आग्रह गरेको आकांक्षी मध्यका एक सुलभ खरेलले जानकारी दिए। ‘सभापति ज्यूले जो आएपनि हामीले जित्नुपर्छ भन्नुभएको छ,’ उनले भने, ‘ उहाँले मेरो आँसु पनि त्यहाँ बगेको छ भन्नुभयो। त्यो आशुको मूल्य रुपन्देहीका जनताले बुझ्नुभएको छ भन्ने मलाई लाग्छ। टिकट जसले पाए पनि हामीले उहाँको आँसुलाई खेर जान दिँदैनौं। हामी ९ जना नै अगाडि बढ्ने छौं।’ 

रास्वपाले आजै उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। यसका लागि सचिवालय बैठक बस्ने र बैठक लगत्तै उम्मेदवारको नाम सार्वजनिक गर्ने बताइएको छ। 

आकांक्षीहरूको सूचीमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट फर्किएका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन्। 

रुपन्देही-३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधनपछि रिक्त भएको स्थानमा निर्वाचन आयोगले आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा गरेको हो।

भदौ १५, २०८२ आइतबार १३:५१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।