भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

काठमाडौं : दशैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुकिला नोट साट्ने व्यवस्था गर्ने भएको छ। राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार आगामी भदौ २९ गतेदेखि असोज १० गतेसम्म देशभरका विभिन्न स्थानमा नयाँ नोट साट्न सकिनेछ।
नोट सटही थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैंकका प्रदेश कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) सहित सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट उपलब्ध हुने व्यवस्था गरिएको छ।
चाडपर्वको समयमा प्रायः रु पाँच, १०, २०, ५० र १०० दरका नोटहरूको बढी माग हुने गरेको छ। यही बेला राष्ट्र बैंकले पुराना र मैला नोट संकलन गरी नयाँ नोट बजारमा ल्याउने परम्परा रहेको छ।
सफा नोटलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/६८ मा ‘सफा नोट नीति’ ल्याएको थियो। उक्त नीतिअनुसार, आर्थिक कारोबारमा स्वच्छ नोट प्रयोग गर्नुपर्ने र झुत्रा नोट बैंक तथा वित्तीय संस्थामार्फत केन्द्रीय बैंकलाई बुझाउनुपर्ने व्यवस्था छ।
हाल नेपालले आवश्यक नोट अन्तर्राष्ट्रिय बोलपत्रमार्फत विदेशमा छपाइ गर्दै आएको छ। यसरी नोट छपाइ गर्दा राज्यकोषबाट ठूलो रकम खर्च हुने भएकाले नोटलाई सकेसम्म सफा राख्न राष्ट्र बैंकले आमसर्वसाधारणलाई आग्रह गरेको छ।
भदौ १५, २०८२ आइतबार १३:०२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।