
साँघुरो सिद्धार्थ राजमार्गलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्न डीपीआर तयार, ४५ किमि दुरी छोटिने

बुटवल : सिद्धार्थ राजमार्गको बुटवल-पोखरा खण्ड स्तरोन्नति हुने भएको छ। वि.सं. २०२७ मा भारत सरकारको आर्थिक सहयोगमा निर्माण सुरू भई वि.सं. २०३४ मा सम्पन्न भएको सिद्धार्थ राजमार्ग ४८ वर्षपछि स्तरोन्नति हुन लागेको हो।
सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल-सुनौली २७ किलोमिटर ६ लेनमा विस्तार भइसकेको छ। बाँकी १५८ किलोमिटर खण्डमा अहिले साँघुरा साना र अप्ठ्यारा घुम्तीहरू छन्। यही जोखिमपूर्ण राजमार्गलाई सरकारले प्राथमिकतामा राखेर स्तरोन्नति गर्न लागेको हो। अहिले यो सडकको चौडाइ ५.५ देखि ६ मिटरसम्म हुँदा बढ्दो सवारी चापले अझै साँघुरो बनेको छ।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले यो राजमार्गलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने घोषणा गरेको थियो। यो सडक स्तरोन्नतिलाई ‘गेम चेन्जर’को रूपमा हेरिएको छ। साँघुरो सडक, पहाडका खोच र गल्छी हुँदै बनेको यो सडक स्तरोन्नतिक्रममा आवश्यक परेको ठाउँमा सुरुङ र वायाडक्ट (एक प्रकारको पुल) समेत निर्माण गरिने बताइएको छ।
अर्थमन्त्री विष्णु पौडेलले पर्यटन प्रवर्द्धन र आर्थिक क्रियाकलाप विस्तारका दृष्टिकोणले उच्च सम्भावना रहेको भन्दै बजेटमा समावेश गरिएको उक्त राजमार्ग स्तरोन्नतिका लागि आवश्यक पूँजी जुटाउन दातृ निकायसँग छलफल भइरहेको जानकारी दिए। ‘बुटवल-पोखराको सडकलाई अब गेमचेन्जर आयोजनाका रूपमा सुधार गरिँदैछ। यो योजना सम्पन्न पश्चात् ४५ किमि दूरी छोटो हुनेछ। यसले यात्रुलाई धेरै सहजता मिल्नेछ,’ उनले भने।
डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्न करिब १९ अर्ब ७५ करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। उक्त लागतमा २३.३०६ किलोमिटर सुरुङ मार्ग, ०.८६ किलोमिटर पुल र २.९५३ किलोमिटर वायाडक्ट निर्माण गर्ने भनिएको छ। सुरुङ र वायाडक्ट निर्माणका लागि मात्र ९ अर्ब ३७ करोड लागत लाग्ने अनुमान गरिएको छ। त्यसबाहेक ७४.०६ किलोमिटर सडक स्तरोन्नति/सुधार गर्ने र ११.७ किलोमिटर नयाँ सडक निर्माण गर्न १० अर्ब ३९ करोड लागत लाग्नेछ।
कुल १५७ किलोमिटर सडक खण्डलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। परियोजना ५ वर्षमा सम्पन्न गर्ने योजना छ। डीपीआर अनुसार यो सडक खण्डमा २३ किलोमिटरका ८ वटा सुरुङ निर्माण हुनेछन्। १४ वटा पुल र २७ वटा वायाडक्ट बन्नेछन्। नयाँ सडक ११ किलोमिटर निर्माण गरिने र बाँकी ७६ किलोमिटर सडक स्तरोन्नति गरिनेछ।
कास्कीको छोरेपाटनदेखि स्याङ्जाको फेदीखोलासम्म ५,२४३.३६ मिटरको सुरुङ, स्याङ्जाको भालुपहाडदेखि बाडखोलासम्म ३,२८९.१ मिटरको सुरुङ, राङ्खोलादेखि हेलुसम्म २,२०१.४ मिटरको सुरुङ र कालीगण्डकी नदी राम्दीदेखि पाल्पाको पिपलडाँडासम्म १,०३३ मिटरको सुरुङ निर्माण गरिनेछ। त्यस्तै बहाकीखोलादेखि तानसेन प्रभाससम्म तीन वटा सुरुङ निर्माण गरिनेछ।
नयाँ परियोजनामा हाल निर्माण भई अन्तिम चरणमा पुगेको सिद्धबाबा सुरुङमार्ग भने समावेश छैन। यो खण्डका बारेमा परियोजनाले थप अध्ययन भइरहेको जनाएको छ। त्यस्तै पाल्पाको केराबारीमा १,०२७.२५ मिटर लामो डबल लेनको पुल निर्माण गरिनेछ।
सडक सुधार सम्पन्न भएपछि १५७ किमिबाट ११२.८१ किमिमा छोटिनेछ र दोहोरो लेन मापदण्डअनुसार सञ्चालनमा आउनेछ। यसो भएमा बुटवल-पोखरा यात्रा समय हालको ६ घण्टाबाट घटेर २.५ घण्टामा सीमित हुनेछ।
सडक विभागले सडक खण्डलाई स्तरोन्नति गर्न यसअघि नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)लगायतका प्रतिवेदन तयार गरिसकेको छ। ईआईए प्रतिवेदन स्वीकृतिका लागि वन मन्त्रालयमा पुगेको छ। प्रतिवेदनअनुसार यो सडकलाई न्युनतम सात मिटर क्यारिजवेमा विस्तार गरिनेछ।
यो सडक विस्तार गर्दा पाल्पाको तिनाउ गाउँपालिका दोभानदेखि स्याङ्जा सडक छेउसम्म कम्तीमा १ हजार घर-टहरा भत्काउनुपर्ने हुन्छ। यस सडक खण्डको सबैभन्दा जोखिमपूर्ण मानिने सिद्धबाबा खण्डमा सुरुङ निर्माण भइरहेको छ। सुरुङ मार्ग आगामी दुई वर्षभित्र सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
सिद्धार्थ राजमार्ग स्तरोन्नति भएपछि लुम्बिनी र पोखराको पर्यटकीय ‘कनेक्टिभिटी’ अझ प्रबल हुने छ। लुम्बिनी आएका पर्यटकहरूले हरियाली, चिसो हावापानी अनुभव गर्दै पोखरा जान धेरै सहज हुनेछ। यसले पर्यटन क्षेत्रलाई अझै चलायमान बनाउने अपेक्षा गरिएको छ।
तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले राजमार्गको स्तरोन्नति भएमा तानसेन मात्र नभई समग्र पाल्पाको विकासमा पनि टेवा पुग्ने बताए। उनले भने, ‘राजमार्ग छोटो र फराकिलो भएपछि जिल्लाको कृषिजन्य उत्पादन सहज ढंगले पोखरामासमेत लैजान सकिन्छ। यसले कृषि मात्र होइन, पर्यटन क्षेत्रमा पनि प्रभाव पार्नेछ।’
स्याङ्जा पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्यालले पनि स्याङ्जाको विकासमा राजमार्ग स्तरोन्नतिले ठूलो प्रभाव पार्ने बताइन्। उनले भनिन्, ‘साँघुरो सडक र अप्ठ्यारा घुम्तीले यात्रा जोखिमपूर्ण थियो। यो स्तरोन्नति भएपछि यात्रामा सहजता मात्र हुँदैन, कृषकले उत्पादन गरेका वस्तु छोटो समयमै बजारमा पुग्नेछन्।’
डीपीआर अनुसार स्याङ्जा सदरमुकाम पुतलीबजारमा घर नभत्काएर बाइपास सडक बनाउने प्रस्ताव गरिएको छ।
भदौ १५, २०८२ आइतबार ११:१०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।