लकडाउनको फुर्सदमा रोपेका कागतीका बोट आज मुख्य आम्दानीको स्रोत

स्याङ्जा : समय कोभिड-१९ को थियो। सबैजना घरमै थिए। घर छेउको खेत बाँझो थियो। स्याङ्जाको वालिङ नगरपालिका-५ चिसापानीका युवा ऋषि रेग्मीको मनले मानेन। उनलाई समयको सदुपयोग गर्न मन लाग्यो। झारले भरिएको बाँझो जमिन फाँड्न थाले। अनि रोपे केही कागतीखेतीका बोट। सयमको सदुपयोग गर्न थालिएको त्यो कागतीखेती अहिले उनको प्रमुख आम्दानीको स्रोत बनेको छ।
विस्तारै उनले त्यसलाई व्यावसायिक बनाए। गल्याङ नगरपालिका-५ स्यालबासबाट एक सय बोट सुन कागतीका बेर्ना ल्याएर लगाएका रेग्मीले गत वर्षदेखि उत्पादन लिन थालेका छन्। ‘बाँदरको समस्या बढ्दै गएपछि खेतबारी बाँझिन थालेका थिए, त्यसपछि विकल्पका रूपमा कागतीखेती रोजेँ,’ उनले भने, ‘त्यतिबेलाको सपना अहिले साकार भएको छ, खुसी छु।’
खेतीपाती नभएको जमिनमा पहिलोपटक व्यवसायीक रूपमा कागती रोपेका रेग्मीले औपचारिक तालिम नलिइकनै युट्युबमार्फत सिकेको ज्ञान प्रयोग गर्दै खेती अघि बढाइरहेका छन्।
एक सय बोटमध्ये ९० बोटले राम्रो उत्पादन दिइरहेको उनको अनुभव छ। गत वर्षभन्दा यस वर्ष उत्पादन दोब्बर बढेको छ।
झण्डै पाँच रोपनी क्षेत्रफलमा व्यावसायिक खेती गर्दै आएका रेग्मीले गत वर्ष मात्र करिब रु ६० हजार बराबरको कागती बिक्री गरे।
वालिङ बजारका होटलमा प्रतिकेजी रु २०० देखि ३०० का दरले कागती बिक्री हुने गरेको छ। ‘व्यापारीलाई होइन, सिधै होटलमा बिक्री गर्ने भएकाले बजार मूल्य राम्रो पाइरहेको छु, समस्या छैन,’ उनले भने।
खाली र बाँझिएका जमिनमा अझै नयाँ बोट थप्ने योजना रेग्मीको छ। उनको सफलता देखेपछि गाउँका अन्य स्थानीय पनि व्यवसायीक रूपमा कागतीखेती गर्ने तयारीमा लागेका छन्।
भदौ १५, २०८२ आइतबार ०९:४९:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।