
सुदूरपश्चिममा गौरापर्वः आज मुख्य दिन अठ्यावाली मनाइँदै

बैतडी : सुदूरपश्चिम प्रदेशभर आज गौरापर्वको मुख्य दिन अठ्यावाली भव्य रुपमा मनाइँदैछ। हिजो साँझ गौराघरमा भित्र्याइएको गौरालाई आज बिहानदेखि बर्तालु महिलाहरूले गौरामन्दिरको गौराखलामा (आँगन) राखेर पूजा गर्ने परम्परा रहिआएको पण्डित जयानन्द भट्टले जानकारी दिए।
बर्तालु महिलाले दिनभरि बिरुडा (पाँच थरी अन्न) चढाउँदै फाग गाउँछन्। हिजो चढाइएको दुबधागो (अभिमन्त्रित धागो) आजै महिलाले धारण गर्ने चलन छ । पुरुषहरूले जनै लगाउने परम्परासँगै यहाँ महिलाले दुबधागो धारण गर्छन्।
गौरालाई सिङ्गारेर गौराघरबाट गौराखलामा लैजाने र त्यहाँ सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने प्रथा छ। गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसङ्ग महिलाले फागमार्फत प्रस्तुत गर्ने गर्छन्। पूजा सम्पन्न भएपछि बिरुडालाई मुख्य प्रसादका रूपमा ग्रहण गरिन्छ र श्रीमान्, सन्तान तथा आफन्तको दीर्घायुको कामना गर्दै टाउकोमा पुज्ने प्रचलन छ। यस दिन पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीजस्ता परम्परागत खेलहरू पनि खेल्ने गर्छन्।
संस्कृतिविद् आचार्य विष्णुदत्त भट्टका अनुसार महिलाले आफ्नो सौभाग्य, सन्तान र परिवारको सुख–समृद्धिका लागि व्रत बस्ने मान्यता रहेको छ। दसैँभन्दा पनि बढी महत्वका साथ मनाइने गौरापर्वका लागि परदेशिएकाहरू घर फर्कने गर्छन् भने विवाहित छोरी–चेलीहरू पनि माइत जाने परम्परा छ।
यसैबीच गौरापर्वको अवसरमा प्रदेशभर दुई दिन सार्वजनिक बिदा दिइएको छ। संघीय सरकारले आइतबार (भदौ १५) र प्रदेश सरकारले सोमबार (भदौ १६) बिदा दिएको हुँदा सुदूरपश्चिममा लगातार दुई दिन सार्वजनिक बिदा भएको हो।
भदौ १५, २०८२ आइतबार ०७:४०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।