
‘क्यान्भास’मा काठमाडौँ वडा नं २२ का सम्पदा

काठमाडौं : काठमाडौं महानगरपालिका-२२ का सम्पदालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘क्यान्भास’मा उतारिएका चित्रहरू आज धरहरामा प्रदर्शन गरिएको छ। वडाले २५ जना कलाकारलाई समावेश गरी तयार पारेका यी चित्रकला स्थानीय सम्पदा, इतिहास र संस्कृति उजागर गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको हो।
उद्घाटन कार्यक्रममा वडाध्यक्ष चिनीकाजी महर्जनले यहाँका मूर्त र अमूर्त सम्पदाहरू हाम्रो पहिचान, इतिहास र संस्कृतिको जीवन्त धरोहर भएको भन्दै वडाले यसको संरक्षण अभियानलाई अघि बढाएको बताए। उनका अनुसार यी सम्पदाले विगतसँग जोड्नुका साथै वर्तमानलाई समृद्ध बनाउन र भविष्यलाई मार्गदर्शन गर्न सक्ने आधार प्रदान गर्छन्।
कामपा–२२ का सम्पदाको दृश्यात्मक अभिलेख तयार पार्ने, सांस्कृतिक–सामाजिक सन्दर्भलाई उजागर गर्ने, स्थानीय समुदायलाई संरक्षणमा सक्रिय बनाउने र भावी पुस्ताका लागि ज्ञानको स्रोत तयार गर्ने उद्देश्यले कलाकारहरूले चित्र सिर्जना गरेका हुन्।
प्रदर्शनीमा कलाकारहरूले तेबहाल, महाङ्काल, छत्रचण्डेश्वर, सङ्कटा, भद्रकाली, जुद्धशमशेर र जुद्ध दमकल, चीभाः र संस्कार, रणमुक्तेश्वर, नासः फल्चा, सुनधारा, तलेजु भवानी, भैरव, धरहरा–सुन्धारा, श्वेत गणेश, चीधं बहाः, गणेशककुमार र खड्ग, गणेशर कलश, बौद्ध स्तूपा तथा प्रकृतिलगायत सम्पदालाई क्यान्भासमा उतारेका छन्।
सो अवसरमा चित्रकला समेटिएको ‘क्याटलग’ सभ्यता नेपाः को प्रकाशनमा विमोचन गरिएको छ। साथै पौडी तथा उद्घोषण तालिमका सहभागी र कलाकारहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान पनि गरिएको थियो।
वडाध्यक्ष महर्जनका अनुसार ‘शनिबारीय चित्रकला कार्यशाला अभियान’को सहकार्यमा यो कला सिर्जना गरिएको हो। सात वर्षदेखि यो अभियानले सम्पदा क्षेत्रमा पुगेर कलाकारलाई प्रत्यक्ष सिर्जनामा संलग्न गर्दै आएको छ।
सम्पदा नेवाः संस्थाको आयोजनामा गत वैशाख १३ गते कलाकारहरू कामपा–२२ का सम्पदास्थलमा पुगेका थिए। त्यतिबेला अवलोकन गरी सिर्जना गरिएका चित्रहरू नै आजको प्रदर्शनीमा प्रस्तुत गरिएको अभियानका प्रमुख अभियन्ता दिवेश प्रधानले जानकारी दिए। उनका अनुसार २५ जना कलाकारले अभियानमा सहभागिता जनाएका थिए।
भदौ १४, २०८२ शनिबार २२:०१:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।