२०८४ को निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्ने लिङ्देनको दाबी

झापा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपा देशकै पहिलो पार्टी बन्ने दाबी गरेका छन्। त्यसका लागि नेता तथा कार्यकर्तालाई आ-आफ्नो क्षेत्रबाट तयार रहन उनको आग्रह छ।
विर्तामोडमा भएको पार्टीको ११औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले २०८४ को निर्वाचनमा राप्रपाप्रति जनताले आशा राखेका कारण मुलुकको नेतृत्व गर्ने विश्वास व्यक्त गरे।
उनले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी प्रधानमन्त्री चयन गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए। भ्रष्टाचार र अस्वस्थ प्रवृत्तिबिरुद्ध पार्टीभित्र वा बाहिर कुनै सम्झौता नगर्ने स्पष्ट गर्दै अनुशासन नमान्ने र अवसरवादीहरू अब सचेत हुनुपर्ने बताए।
लिङ्देनले राप्रपालाई केवल पार्टी मात्र नभई भ्रष्टाचारविरुद्धको अभियानको रूपमा प्रस्तुत गर्दै भने- ‘पार्टी बलियो भए मुलुक समृद्ध बन्छ। राप्रपा सधैँ भ्रष्टाचार र खराब व्यवस्थाविरुद्ध लड्नेछ ।’
पार्टीका प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले मुलुकलाई परिवर्तन गर्न व्यवस्थामै परिवर्तन आवश्यक भएको बताए।
यस्तै, केन्द्रीय सदस्य खुश्वु ओलीले मुलुक निर्माण हाम्रो पुस्ताकै हातबाट गर्नुपर्ने भन्दै राप्रपाले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकारको नेतृत्व लिनुपर्ने धारणा राखिन्।
अधिवेशनले केशव ओझाको अध्यक्षतामा जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
भदौ १४, २०८२ शनिबार २०:५०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।