महिलालाई आत्मनिर्भरतातर्फ अघि बढाउन अवसरहरू सिर्जना गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

वीरगञ्ज : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई आत्मनिर्भर बनाउन आवश्यक अवसरहरू सिर्जना गर्नुपर्ने बताएकी छिन्। उनले महिला उद्यमशीलतालाई सम्मान र प्रोत्साहन गर्दै समाज रुपान्तरणमा महिलाको अग्रणी भूमिका अपरिहार्य रहेको बताइन्।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित ‘नारीः शक्ति, समर्पण र सम्मान’ विषयक बृहत् महिला सम्मेलनको उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले परिवार निर्माणदेखि शिक्षा, स्वास्थ्य, उद्योग-व्यवसाय र सामाजिक रुपान्तरणसम्म महिलाको योगदान सधैँ अग्रपङ्क्तिमा रहँदै आएको उल्लेख गरे। उनले महिलालाई आत्मनिर्भर बनाउन अवसरसँगै सबैको ऐक्यबद्धता आवश्यक हुने धारणा राखिन्।
‘महिला शक्ति केवल परिवारको हिस्सा मात्रै होइन, समाजको प्रगतिका लागि आधारशिला पनि हो,’ भण्डारीले भनिन्, ‘महिलामा उद्यमशीलताको विकास हुनु व्यक्तिगत मात्र होइन, राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने प्रक्रिया पनि हो।’ उनले वीरगञ्जजस्तो व्यापारिक केन्द्रमा महिला नेतृत्वले उद्यमशीलताको विकासमा अगुवा भूमिका खेल्नुपर्नेमा जोड दिए।
भण्डारीले महिलालाई आत्मविश्वासी र सक्षम भएर अघि बढ्न आग्रह गर्दै अझै कायम रहेको लैङ्गिक असमानता, पूर्वाग्रह र अवरोधलाई तोड्दै आगामी पुस्तालाई प्रेरणा दिनुपर्ने बताइन्। ‘समाजमा महिलाको योगदानलाई अझै अपेक्षित गरिँदै आएको छ, त्यसैले महिला नेतृत्व गर्न, उद्यम गर्न र समाज रुपान्तरणमा सक्षम छन् भन्ने सन्देश फैलाउन जरुरी छ,’ उनले भनिन्।
मुलुकको बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न आयात प्रतिस्थापनको नीतिसहित स्वदेशी उत्पादनमा जोड दिनुपर्ने आवश्यकतामा उनले जोड दिइन्।
‘प्राकृतिक स्रोत, जनशक्ति र सांस्कृतिक विविधतालाई विवेकपूर्ण ढङ्गले उपयोग गर्न सके नेपाल आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढ्न सक्छ,’ भण्डारीले भने।
कार्यक्रम संयोजक डा. लक्ष्मी थापाले यस्ता सम्मेलनले महिला उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
त्यस्तै, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले महिलालाई घरमै उद्योग-व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्नुपर्ने बताउँदै पछिल्लो समय महिला उद्यमशीलता तीव्र गतिमा अघि बढिरहेको र यसलाई अझै संस्थागत गर्न राज्यका निकायले सहकार्य गर्नुपर्ने धारणा राखिन्।
भदौ १४, २०८२ शनिबार १९:४४:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।