निजामती विधेयकमा दुई वर्षे ‘कुलिङ अफ पिरियड’ राख्ने सहमति

निजामती विधेयकमा दुई वर्षे ‘कुलिङ अफ पिरियड’ राख्ने सहमति
Filephoto

काठमाडौं : लामो विवादमा तानिएको संघीय निजामती सेवा विधेयक, २०८० मा ‘कुलिङ अफ पिरियड’को प्रावधान राख्ने सहमति जुटेको छ। आज राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले यस व्यवस्था विधेयकमा समावेश गर्नुपर्ने निष्कर्षमा पुगेको हो।

दफावार छलफलपछि दुई वर्षे ‘कुलिङ अफ पिरियड’ लागू गर्ने निर्णय गरिएको समितिले जनाएको छ। यसको अर्थ, निजामती सेवाबाट राजीनामा दिने वा अवकाश पाएका कर्मचारीले दुई वर्ष पूरा नगरी कुनै संवैधानिक निकाय वा सरकारी पदमा नियुक्ति पाउन सक्ने छैनन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले यो विषयलाई सकारात्मक ढङ्गले अघि बढाउनुपर्ने बताए। ‘विधेयकमा कुलिङ अफ पिरियड मात्र होइन, नियुक्ति, सरुवा, व्यवस्थापनजस्ता महत्त्वपूर्ण विषय पनि छन्। यदि व्यावहारिकतामा समस्या आयो भने पछि संशोधन गरेर सच्याउन सकिन्छ,’ मन्त्री न्यौपानेले भने। उनले विधेयकलाई छिटो समिति र सदनबाट पारित गर्नुपर्नेमा जोड दिए।

सांसदहरूले यो व्यवस्था उच्च तहका राजपत्राङ्कित कर्मचारी (मुख्यसचिव, सचिव, सहसचिव) मा मात्र लागू हुने र सोभन्दा मुनिका कर्मचारीमा लागू नहुने सहमति पनि गरेका छन्।

समिति सभापति तुलसाकुमारी दाहालले सहमत प्रावधानलाई भाषा मिलाएर प्रतिवेदन तयार गर्न समिति सचिवालयलाई निर्देशन दिएकी छन्।

भदौ १४, २०८२ शनिबार १८:१३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।