मुलुकको विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व आवश्यक : अर्थमन्त्री पौडेल

लुम्बिनी : एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकलाई समुन्नत विकासतर्फ लैजान बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताएका छन्।
रुपन्देहीको मर्चवारमा आज एमालेले आयोजना गरेको बृहत आमसभामा उनले एमाले नै देशको नेतृत्व गर्न सक्ने पार्टी भएको उल्लेख गर्दै पार्टीप्रति जनताको आकर्षण दिनप्रतिदिन बढिरहेको बताए। ‘बलियो पार्टीबिना विकास सम्भव छैन भन्ने बुझेर आज हजारौँ जनता पूर्वअध्यक्षसहित एमालेमा प्रवेश गर्नुभएको छ, यसले मलाई निकै खुसी बनाएको छ,’ पौडेलले भने।
उनले मर्चवारको विकास एमालेकै नेतृत्वमा सम्भव रहेको बताउँदै आगामी दुई-चार वर्षभित्र यस क्षेत्रलाई बुटवल, भैरहवा र लुम्बिनीसरह सम्पन्न बनाउन प्रतिबद्धता जनाए। अस्पताल, क्याम्पस निर्माणदेखि पूर्वाधार विकासका लागि बजेट व्यवस्था गर्ने आश्वासनसमेत उनले दिए।
एमाले पोलिटब्युरो सदस्य लीला गिरीले मर्चवारमा पूर्वाधार विस्तार र कृषिको आधुनिकीकरणमा पार्टीले ठोस काम गरेर देखाउने बताए। त्यस्तै, सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितेन्द्रनाथ शुक्ला र मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्दन बानियाँले मर्चवारमा चार लेनको चक्रपथ निर्माण गर्न आग्रह गरे। शुक्लाले मलखाद, कृषि सामग्री र सिँचाइ सहज बनाउन सरकारको ध्यानाकर्षणसमेत गराए।
कार्यक्रममा एमाले नेताहरू तुलसीप्रसाद चौधरी र सुनिता ठटेरले पनि तराई-मधेसको समृद्धि एमालेकै नेतृत्वमा सम्भव हुने दाबी गरे।
रुपन्देहीको दक्षिणी भेगमा फैलिएको मर्चवारलाई तराईको अन्नभण्डार मानिन्छ। उर्वर भूमि, कृषि सम्भावना र ऐतिहासिक–सांस्कृतिक महत्व बोकेको यो क्षेत्र लामो समयसम्म उपेक्षित रहँदै आएको हो। करिब डेढ लाख जनसंख्या रहेको मर्चवारमा अझै धेरै घरमा शौचालय छैनन्, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइजस्ता आधारभूत पूर्वाधार न्यून छन्।
पछिल्ला वर्षमा भने मर्चवारको स्वरूप फेरिन थालेको छ। पार्टी प्रवेशमा देखिएको उत्साह एमालेले आफ्नो रणनीतिक आधार मानेको छ। तर, कृषिको आधुनिकीकरण, पर्याप्त सिँचाइ, भण्डारण र बजार व्यवस्थापनजस्ता चुनौती पार गर्नुपर्ने आवश्यकता अझै कायम छ।
मर्चवारका जनताले लामो उपेक्षापछि देखिएको यो पहललाई आशाको किरणका रूपमा लिएका छन्। एमाले नेतृत्वले प्रतिबद्धता पूरा गर्न सकेमा मर्चवार लुम्बिनी प्रदेशको मात्र होइन, तराई-मधेसकै समृद्धिको नक्सामा अग्रस्थानमा आउन सक्ने सम्भावना बलियो बनेको छ।
भदौ १४, २०८२ शनिबार १७:३४:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।