
गौरा पर्वको उल्लासमा रंगिए सुदूरपश्चिमका गाउँबस्ती

कञ्चनपुर : सुदूरपश्चिमका गाउँबस्ती यतिबेला गौरा पर्वको उल्लासमा रंगिएका छन्। रोजगारीका लागि टाढा रहेका मानिसहरू समेत विशेष अवसरमा घर फर्किएका छन्।
बस्तीका आँगन-आँगनमा नयाँ लुगा पहिरेकी महिलाहरू माङ्गल र फाग गाउँदै देखिन्छन् भने पुरुषहरूको देउडा खेलले गाउँ रमाइरहेको छ। स्थानीय भाषामा गोःरा भनेर चिनिने यो पर्व साउनको पुत्रदा एकादशीदेखि सुरु हुने र भगवान शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वतीलाई गौरादेवीका रूपमा पूजिने प्राचीन परम्परा हो।
भाद्र महिनामा मनाइने गौरा पर्व अगस्ति ताराको उदयसँगै शुक्ल वा कृष्ण पक्षमा पर्छ। शुक्ल पक्षमा परे उज्याली गौरा र कृष्ण पक्षमा परे अन्यारी गौरा भनिन्छ। दुवै पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्व दिइन्छ। विवाहित महिलाले आफ्ना कुलपरम्पराअनुसार दुवधागो धारण गर्ने परम्परा यसै पर्वसँग जोडिएको छ।
लोकसाहित्यकार कविराज भट्टका अनुसार पुत्रदा एकादशीको ब्रत बसेकी महिलाले बिरुडा पञ्चमीका दिन पाँच अन्न (मास, गहत, गहुँ, कलौं, गुरुस) भिजाएपछि गौरा पर्व औपचारिक रूपमा सुरु हुन्छ। यस दिन महिलाहरूले माङ्गल गीत गाउँदै तामाको ताउलीलाई गाईको गोबर, दुबो र जौंतिलले सजाउँछन्। भिजाएका बिरुडालाई पानीको मुहानमा पाँच पटक धुने र धारामा सानो गौरामूर्ति स्थापना गरी पूजा गर्ने चलन छ।
सप्तमीको दिन महिलाहरूले खेतबाट धान, साँवाधान, कुर्जो आदि ल्याई रातो कपडा वा घुम्टीमा बेरेर गौराघरमा स्थापना गर्छन्। यस अवसरमा विशेष गाँठा लगाइएको धागो चढाई महिलाले घाँटीमा धारणा गर्ने प्रचलन छ।
दुर्वाष्ठमीलाई यहाँ अठ्यावाली भनिन्छ, जसलाई पर्वको अत्यन्त महत्वपूर्ण दिन मानिन्छ। महिलाहरू गौरालाई आँगनमा राखी सामूहिक रूपमा पूजा गर्छन् र प्रसङ्गअनुसार धर्मकथा वाचन हुन्छ। पूजापछि च्यादरमा राखिएका बिरुडा र फलफूल आकाशतिर फ्यालिन्छन्, जसलाई उपस्थित सबैले देवीको प्रसादका रूपमा ग्रहण गर्छन्। महिलाहरूले आफ्ना पति र परिवारका सदस्यलाई प्रसाद टाउकोमा राखी आशीर्वाद दिने परम्परा पनि रहेको छ।
अठ्यावालीपछि गाउँमा पुरुष-महिलाले विभिन्न खेल प्रस्तुत गर्छन्। ढोलक र मिजुरासहित ढुष्को, धमारी, ठाडोखेल, चैतजस्ता खेल तथा महिला-पुरुषबीचको देउडा तीन-चार दिनसम्म चल्छ। अन्ततः उपयुक्त साइतमा गौराको विसर्जन गरिन्छ।
लोकसाहित्यका जानकार रमेश पन्त मीतबन्धुका अनुसार गौरा पर्व नारीप्रधान र मौलिक पहिचान बोकेको उत्सव हो। यस अवसरमा हरेक परिवारले नयाँ लुगा किन्ने, चेलीबेटीलाई बोलाएर प्रसाद बाँड्ने र इष्टमित्रहरूसँग मेलमिलाप गर्ने परम्परा छ। पन्तका शब्दमा, ‘गौरा धार्मिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, ऐतिहासिक सबै दृष्टिले अत्यन्त महत्वपूर्ण पर्व हो।’
भदौ १४, २०८२ शनिबार १५:४५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।