चीनको थियानजिन शहर पुगे प्रधानमन्त्री ओली

चीनको थियानजिन शहर पुगे प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका छन्। उनी आज दिउँसो स्थानीय समयअनुसार ३ः१५ बजे हिमालय एयरलाइन्सको विशेष विमानमार्फत थियानजिन शहरस्थित विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पुगेका ओलीलाई चीन सरकारका उच्च अधिकारी, नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली र चीनका लागि नेपाली राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए।

शिखर सम्मेलनको अवसरमा प्रधानमन्त्री ओलीले सहभागी विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सेप्टेम्बर २ मा उनी बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग पनि भेट्ने तय भएको छ।

प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेस सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय अधिकारीहरू पनि सहभागी छन्।

भदौ १४, २०८२ शनिबार १५:१०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।