डा. सरोजमणिको उपचार अनुभव : दुई पटक शल्यक्रिया गर्दा नखुलेको पिसाब आयुर्वेदिक तेलले खुलेपछि...

डा. सरोजमणिको उपचार अनुभव : दुई पटक शल्यक्रिया गर्दा नखुलेको पिसाब आयुर्वेदिक तेलले खुलेपछि...

डा. सरोजमणि पोखरेल आयुर्वेद विधाका शल्यचिकित्सक हुन्। उनले आयुर्वेदतर्फको सर्जनका रूपमा रहेर चिकित्सकीय अभ्यास गर्दा बिरामीको दुःख-पीडा नजिकबाट देखेका छन्। उनै चिकित्सक डा. सरोजमणिले चिकित्सकीय पेशाको शिलशिलामा देखेभोगेका अनुभव उकेरासँग बाँडेका छन्।

ती बाजेको पिसाब आयुर्वेदिक तेलले खुलेपछि...
भारतमा एमएस अध्ययन गर्ने क्रममा एक जना बिरामीलाई उपचार गरेको प्रसङ्ग डा. सरोजमणि कहिल्यै भुल्दैनन्। प्रसङ्ग केही वर्षअघिको हो।

करिब ७० वर्षका एक बाजेलाई अस्पतालको ओपीडीमा ल्याइयो। डा. सरोजमणिले अस्पताल ल्याइएका ती बाजेको स्वास्थ्य अवस्था हेरे। ती बाजे साढे दुई वर्षदेखि पिसाब फेर्न कठिन हुने समस्याले पीडित रहेछन्। पिसाब नलीबाट सहज रूपमा पिसाब बाहिर निस्कन नसक्दा उनलाई असह्य पीडा हुन्थ्यो।

डा. सरोजमणिले सोधखोज गर्दै जाँदा ती बाजेको ‘प्रोस्टेट ग्रन्थी’ बढेपछि पिसाब नलीबाट तार छिराएर शल्यक्रिया गरिएको रहेछ। यस्तो विधिबाट गरिने शल्यक्रियालाई चिकित्सकीय भाषामा ‘टीयूआरपी’ भनिन्छ।

तर, शल्यक्रिया गर्ने क्रममा तारले ती बाजेको मूत्राशयको घाँटीमा घाउ बनाइदिएछ। त्यसैले शल्यक्रियापछिको जटिलताका कारण ती बाजेको पिसाब थैलीको तल्लोपट्टिको मूत्राशयको घाँटी (ब्लाडर नेक) मा घाउ भएर साँघुरिएछ।

कहिलेकाहीँ उपचारका क्रममा यस्ता जटिलता निम्तिने जोखिमलाई नकार्न सकिँदैन। मूत्रनली नै साँघुरिएपछि ती बाजे पिसाब फेर्नै नसक्ने भएछन्। पिसाब पोल्ने, दुख्ने जस्ता समस्याले बाजे फत्रक्क हुन्थे।

यसरी मूत्राशय नै साँघुरिएर पिसाब फेर्न कठिन भएपछि ती बाजेको पुनः दोस्रो पटक शल्यक्रिया गरिएछ, तर दोस्रो शल्यक्रियाले पनि समस्या ठीक भएनछ। पिसाबको समस्याले बाजे थला परे।

दुई पटक शल्यक्रिया गर्दा समेत समस्या ठीक नभएपछि ती बाजेलाई उपचारको भिन्नै आशा बोकेर भारतको जयपुरस्थित ‘राष्ट्रिय आयुर्वेद संस्थान’मा ल्याइयो, जहाँ डा. सरोजमणि आयुर्वेदको स्नातकोत्तर तहको शल्यचिकित्सा विषय अध्ययन गरिरहेका थिए।

पिसाब फेर्न नसक्ने समस्या लिएर आयुर्वेदिक अस्पताल ल्याइएका ती ७० वर्षे बाजेको समस्या बुझेपछि डा. सरोजमणिको टिमले आयुर्वेदिक विधि अपनाएर उपचार गर्ने निर्णय गर्यो।

डा. सरोजमणिको टिमले सुश्रुत संहिताको विधिअनुसार आयुर्वेदको ‘उत्तरबस्ति कर्म’ को उपचारात्मक विधि अपनाएर ती बाजेको उपचार थाल्यो। उनीहरूले ती बाजेको पिसाब नलीमा जडीबुटीयुक्त तेल हालेर उपचार गर्न थाले।

तीन-तीन दिनको अन्तरालमा त्यसरी तेल हालेको उनले अनुभव सुनाए। आयुर्वेदिक उपचारपछि ती बाजे पिसाब फेर्न सक्ने भए। करिब ६ महिना निरन्तर मूत्रथैली तथा पिसाब नलीमा यसरी जडीबुटीजन्य तेलको प्रयोग गरी उपचार गरेपछि ती बाजेको पिसाब फेर्न नसक्ने त्यो समस्या पूर्ण रूपमा ठीक भएको डा. सरोजमणिले अनुभव सुनाए।

डा. सरोजमणिले गरेका ती ७० वर्षे बाजेको सफल उपचारको त्यो वैज्ञानिक अनुसन्धानात्मक ‘केस स्टडी’ को आलेख ‘जर्नल अफ आयुर्वेद एन्ड इन्टिग्रेटेड मेडिसिन’ नामक जर्नलमा प्रकाशित समेत भयो। त्यो आलेख उनीसहित आदित्य शर्मा र मनोहर सिंह गरी तीन जनाको नाममा प्रकाशित भएको थियो।

एकातिर बिरामी ठीक भए, अर्कोतिर त्यो विषयको उनको वैज्ञानिक आलेख प्रकाशित भयो, जसले गर्दा डा. सरोजमणि दङ्ग नहुने कुरै भएन।

फिस्टुलाले ती ४८ वर्षे पुरुषको मलद्वारको छेउमा सुरुङ बनेपछि...
त्यसैगरी फिस्टुलाको समस्या भएका करिब ४८ वर्षका पुरुषलाई उपचार गरेको प्रसङ्ग पनि डा. सरोजमणि कहिल्यै भुल्दैनन्। प्रसङ्ग केही वर्षअघिकै हो।

विभिन्न ठाउँमा उपचार गर्दा पनि ती पुरुषको समस्या ठीक भएको थिएन। उनलाई फिस्टुलाको लक्षण देखिएपछि डा. सरोजमणिको टिमले एमआरआई लगायतको स्वास्थ्य परीक्षण गर्यो। एमआरआई गरेर हेर्दा फिस्टुला कसरी र कहाँ-कहाँ फैलिएको छ भन्ने थाहा भयो।

फिस्टुलाको समस्याका कारण ती पुरुषको गुदद्वारमार्फत दिसा जानुको सट्टा आन्द्राबाट गुदद्वार छेउसम्म सुरुङजस्तो बनेर प्वाल परेको थियो। त्यो प्वालमा पिप जमेको थियो। फिस्टुला बनेको प्वालबाट रगत, दिसा, पिप बग्ने समस्याले ती पुरुष पीडित थिए। फिस्टुलाको समस्याले सङ्क्रमण भएर ती पुरुषको मलद्वारबाट पिप र रगत आउँथ्यो।

फिस्टुला बनेर जमेको पिप फुटेर निस्किसकेपछि केही दिन आरामजस्तो त हुन्थ्यो, तर फेरि समस्या उस्तैगरी दोहोरिइहाल्थ्यो। पिप जम्ने अनि फुट्ने समस्या भइरहँदा ती पुरुषको जीवन कष्टकर बनेको थियो नै।

समस्याको पहिचान भएपछि चिकित्सकको टिमले ती पुरुषलाई समस्या ठीक हुने भएकाले नआत्तिन अनुरोध गर्दै अस्पताल भर्ना गर्यो र उपचार थाल्यो।

डा. सरोजमणिको टिमले ती पुरुषको फिस्टुलाको उपचारका लागि ‘क्षारसूत्र विधि’ नै अपनायो। क्षारसूत्र एक किसिमको औषधिय गुणयुक्त (मेडिकेटेड) धागो हो। त्यही आयुर्वेदिक औषधिय गुणयुक्त धागोको सहायताले यस्तो उपचार गरिन्छ। यो विधि अपनाएर जमेको पिप निकालियो। पुनः पिप भरिन नदिनेगरी सङ्क्रमित भागको उपचार गरियो र नियमित सफा गरियो।

जीवनदेखि नै हार खाइसकेका ती पुरुषको फिस्टुलाको समस्या उपचारपछि ठीक हुँदै गयो। करिब तीन हप्ताको अस्पताल बसाइपछि ती पुरुष डिस्चार्ज भए। आयुर्वेदको शल्यचिकित्सा पद्धतिअन्तर्गत क्षारसूत्रको उपचारात्मक विधि अपनाएर उपचार थालेको केही महिनामा त ती पुरुषको फिस्टुलाको समस्या पूर्ण रूपमा ठीक भएको उनले अनुभव सुनाए।

डा. सरोजमणिका अनुसार पाइल्सको समस्या भएको अवस्थामा मलद्वारमा मासुको डल्लो हुन्छ। फिसरको समस्या भएको अवस्थामा मलद्वारमा घाउ हुन्छ। फिस्टुला भएको अवस्थामा भने मलद्वारमा हुने घाउका कारण सुरुङजस्तो प्वाल बन्छ। यी तीनमध्ये पाइल्स र फिस्टुलाको समस्याको उपचारका लागि क्षारसूत्र आयुर्वेदिक उपचारात्मक विधि प्रभावकारी भएको डा. सरोजमणिको अनुभव छ।

चार पटक शल्यक्रिया गर्दा निको नभएको ढाडको ट्युमर आयुर्वेदले निको पारेपछि
डा. सरोजमणि बिरामीलाई उपचार गरेकामध्ये अर्को एउटा प्रसङ्ग पनि कहिल्यै भुल्दैनन्। प्रसङ्ग केही वर्षअघिको हो, जतिबेला उनी भारतमा नै आयुर्वेद सर्जरीतर्फको ‘शल्य तन्त्र’ विषयमा तीन वर्षे ‘एमएस’ अध्ययन गरिरहेका थिए।

करिब ३७ वर्षका पुरुष उपचारका लागि आयुर्वेदिक अस्पताल पुगे। ती व्यक्तिको ढाडमा सानो ट्युमर (कार्सिनोमा) पलाएको थियो। ती व्यक्तिले त्यो ट्युमर फाल्न चार पटक शल्यक्रिया गराइसकेका रहेछन्। शल्यक्रिया गरेको एक महिनामा नै पुनः त्यो ट्युमर पलाएर ती पुरुष हैरान नै भइसकेका थिए। चार पटक शल्यक्रिया गर्दा समेत ट्युमर पलाउन नरोकिएपछि हैरान भएर ती पुरुष आयुर्वेदिक अस्पताल पुगेछन्।

डा. सरोजमणि लगायत चिकित्सकको टिमले ती पुरुषको ट्युमरको प्रकृति हेर्दा शल्यक्रिया गरेरै फाल्नुपर्ने देखियो। त्यसैले उनको टिमले ती पुरुषलाई शल्यक्रिया नै गर्नुपर्ने सल्लाह दियो। अनि डा. सरोजमणिको टिमले आयुर्वेदको ‘शल्य तन्त्र’ विधि अपनाएर ती पुरुषको ढाडको त्यो ट्युमरको शल्यक्रिया गरेरै फाल्यो। त्यसपछि त्यो ट्युमर भएको ठाउँमा आवश्यक आयुर्वेदिक औषधि गरियो।

ती पुरुष त्यो उपचारपछि बेलाबेलामा फलोअपका लागि आयुर्वेदिक अस्पताल पुग्थे। तर, करिब एक वर्षको फलोअपसम्म ती पुरुषको त्यो ट्युमर पुनः नपलाएको डा. सरोजमणिले सुनाए। उनी भने केही समयपछि एमएस अध्ययन सकेर नेपाल फर्किए। त्यसैले ती पुरुषको त्यो ट्युमर एक वर्षपछि पलायो कि पलाएन भन्ने उनलाई यकिन भएन, तर सम्भवतः पुनः नपलाएको उनले सुनाए।

प्लस टू पछि आयुर्वेदिक डाक्टर बन्ने सपना
गुल्मीको धुर्कोट गाउँपालिकामा जन्मिएका सरोजमणिले एक कक्षासम्म स्थानीय सरकारी विद्यालयमा पढे। त्यसपछि बुटवल गएर लुम्बिनी बोर्डिङ स्कुलमा भर्ना भई पाँच कक्षासम्म पढे। त्यसपछि उनले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको सिद्धार्थ इंग्लिस बोर्डिङ स्कुलमा पढ्न थाले र त्यहीँबाट उनले २०६८ सालमा एसएलसी गरे।

एसएलसीपछि उनी थप अध्ययनका लागि काठमाडौं आए र माइतीघरस्थित सेन्ट जेभियर्स कलेजबाट २०७१ मा प्लस टू गरे।

सरोजमणिलाई डाक्टर बन्ने सपना थियो। त्यसमाथि पनि उनलाई आयुर्वेदिक डाक्टर नै बन्ने रहर जागेको थियो। त्यसैले उनले छनोट परीक्षाको तयारी गरे, परीक्षा दिए। सरोजमणि आयुर्वेदिक चिकित्सातर्फको स्नातक तहको अध्ययनका लागि छनोट मात्रै भएनन्, सरकारी छात्रवृत्ति कोटामा नै अध्ययन गर्ने मौका पाए।

त्यसपछि भर्ना भएर सरोजमणि त्रिभुवन विश्वविद्यालयअन्तर्गत ‘आयुर्वेद क्याम्पस’ मा २०७१ मा आयुर्वेदिक चिकित्सा विषय ‘ब्याचलर्स अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी (बीएएमएस)’ अध्ययनका लागि भर्ना भए।

उनले प्लस टू पढ्दा आयुर्वेदिक चिकित्साको विषयमा थाहा पाएका रहेछन् र यही विषयप्रति रहर जाग्दै गएछ। त्यसैले आधुनिक चिकित्सा विषय सोच्दै नसोची उनले आयुर्वेदिक चिकित्सकीय विधा अध्ययन गर्ने निर्णय गरेका रहेछन्।

सरोजमणिले २०७७ मा बीएएमएस अध्ययन पूरा गरे। बीएएमएस उत्तीर्ण मात्रै होइन, त्यो ब्याचको सर्वोत्कृष्ट समेत भएको उनले अनुभव सुनाए। सरकारी छात्रवृत्ति कोटामा बीएएमएस अध्ययन गरेका र सर्वोत्कृष्ट भएका उनी बिरामीको औषधि उपचारमा खटिन थाले।

शल्यतन्त्रमा एमएस गर्ने रहर जागेपछि...
बीएएमएस अध्ययनपछि डा. सरोजमणिलाई थप अध्ययन गर्नु नै थियो। उनलाई आयुर्वेदको शल्यक्रिया गर्ने विषयको अध्ययन गर्ने रहर जाग्यो।

त्यसैले डा. सरोजमणि २०७७ मा भारतको जयपुरस्थित ‘राष्ट्रिय आयुर्वेद संस्थान’मा स्नातकोत्तर तहको आयुर्वेद विषय अध्ययनका लागि भर्ना भए। त्यहाँ उनले छात्रवृत्ति कोटामा नै स्नातकोत्तर तहको आयुर्वेद सर्जरीतर्फको ‘शल्य तन्त्र’ विषयमा तीन वर्षे ‘एमएस’ अध्ययन गरे। उत्कृष्ट अङ्कका साथ तीन वर्षे एमएस अध्ययन सकेर डा. सरोजमणि २०८० मा नेपाल फर्किए।

नेपाल फर्किनासाथ कर्णाली प्रदेशको सुर्खेतस्थित ‘प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र’ मा आयुर्वेदिक चिकित्सकका रूपमा काम गर्न थाले। हालसम्म उनी त्यहीँ आयुर्वेदको कन्सल्टेन्ट शल्यचिकित्सकका रूपमा कार्यरत छन्।

स्वास्थ्य समस्या भएर अस्पताल पुगेका बिरामीको आयुर्वेदिक विधि अपनाई औषधि, उपचार र आवश्यकताअनुसार शल्यक्रिया गरेर बिरामीलाई निको बनाउने कोसिस गर्नु डा. सरोजमणिको दैनिकी हो।

धेरैजसो बिरामी मलद्वारजन्य समस्याको उपचारका लागि आयुर्वेदिक अस्पतालमा पुग्ने गरेको उनले अनुभव सुनाए। डा. सरोजमणि ‘गुदविकार’ (पाइल्स, फिस्टुला र फिसरजस्ता मलद्वारजन्य समस्या) भएका बिरामीको औषधि उपचारमा बढी केन्द्रित हुन्छन्।

आयुर्वेदमा शल्यक्रियाको सीप
एमएस अध्ययनका क्रममा विभिन्न किसिमका शल्य चिकित्सासम्बन्धी ज्ञान तथा सीप सिकेको डा. सरोजमणिले सुनाए। एमएस अध्ययनमा सामान्यदेखि ल्याप्रोस्कोपी विधि अपनाएर गरिने शल्यक्रियाको ज्ञान तथा सीपसमेत सिकेको उनले अनुभव सुनाए।

त्यसैगरी शरीरमा गाँठागुँठी आउने, महिलाको स्तनमा गाँठागुँठी पलाउने (फाइब्रो एडिनोमा) जस्ता समस्याको उपचारका लागि बिरामी आउने गरेको उनले सुनाए। शरीरको जुन भागको शल्यक्रिया गर्नुपर्ने हो, त्यो भागलाई लठ्याएर गर्नुपर्ने शल्यक्रिया (लोकल एनेस्थेसिया दिएर) दैनिकजसो गरिरहेको डा. सरोजमणिको अनुभव छ।

आयुर्वेदिक शल्य चिकित्साको मुख्य स्रोत ग्रन्थ नै सुश्रुत संहिता हो। सुश्रुतलाई शल्य चिकित्साका पिता पनि भनिन्छ। त्यसैले आधुनिक शल्य चिकित्सा पनि आयुर्वेदकै विकसित रूप भएको उनले सुनाए।

आयुर्वेदिक विधि अपनाएर शल्यक्रिया गर्दा धातुका साधारण उपकरण तथा यन्त्र, क्षारसूत्र विधि, रक्तमोक्षण र विभिन्न आयुर्वेदिक जडीबुटीजन्य औषधिको प्रयोग हुने डा. सरोजमणिले अनुभव सुनाए। जुन शल्यक्रियाको ज्ञान तथा सीप उनीसँग छ।

विभिन्न आयुर्वेदिक जडीबुटी, घिउ, तेल, क्षार, पञ्चकर्म, बस्तिलगायतका आयुर्वेदिक विधि अपनाएर बिरामीलाई निको बनाउनु डा. सरोजमणिको दैनिकी हो। पेट तथा आन्द्रा चिरेर गरिने शल्यक्रियाको ज्ञान तथा सीप आफूले सिकेको उनले अनुभव सुनाए।

आयुर्वेदमा शल्यक्रियाका मुख्य आठ वटा विधि हुने उनले सुनाए। आयुर्वेदको विश्वसनीयता पनि बिस्तारै बढ्दै गएको उनलाई महसुस हुन्छ।

भदौ १४, २०८२ शनिबार १२:१६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।