चीन पुग्नुअघि प्रधानमन्त्रीलाई बालेनको सन्देश- ‘लिपुलेक हाम्रो हो भनेर सम्झाउन नबिर्सिनुहोला’

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको आसन्न चीन भ्रमणको सफलताको शुभकामना दिँदै राष्ट्रिय सार्वभौमिकतासँग जोडिएको महत्त्वपूर्ण विषय स्मरण गराएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले नेपालको भूभाग लिपुलेकलाई व्यापारिक नाका बनाउने विषयमा भारत र चीनबीच भएको हालै गरेको सहमतिबारे चिनियाँ पक्षलाई स्पष्ट पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
उनले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, चीन भ्रमणको शुभकामना! भारत-चीनबीच नेपालको लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने सहमतिले हाम्रो सार्वभौमिकतामा असर पारेको छ। यसबारे चीनलाई स्पष्ट सम्झाउन नबिर्सनु होला।’
नेपालको भूभाग रहेको लिपुलेकलाई व्यापारिक मार्गको रूपमा प्रयोग गर्न भारत र चीनबीच सहमति भएपछि नेपालले निरन्तर कूटनीतिक माध्यमबाट विरोध जनाउँदै आएको छ। नेपालले उक्त क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा समेत जारी गरिसकेको छ, तर सीमा विवादको विषय अझै टुंगिएको छैन।
यसै सन्दर्भमा मेयर शाहले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा यो मुद्दालाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका हुन्। प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा प्रस्थान गरेका छन्।
भदौ १४, २०८२ शनिबार १०:५४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।