
आगो लगाउँदा पनि सुकेन किङ्ग सिटीको पिच, स्कटल्याण्ड र नामिबियाबीचको खेल रद्द

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानाडामा जारी त्रिकोणात्मक सिरिजमा स्कटल्याण्ड र नामिबियाबीचको खेल वर्षाका कारण रद्द भएको छ।
क्यानाडाको किङ सिटीस्थित मैदानमा भिजेको पिच सुकाउन ग्राउन्ड स्टाफले आगो लगाए पनि खेल सम्भव हुन सकेन।
शुक्रबार तय भएको खेलमा लगातारको वर्षाले पिच भिजेको थियो। टससमेत हुन नसकेको अवस्थामा ग्राउन्ड स्टाफले पिचको भिजेको भागमा आगो लगाएर सुकाउने प्रयास गरेका थिए।
तर, बारम्बारको निरीक्षणपछि पनि मैदान खेल्न योग्य नभएपछि अम्पायरले खेल रद्द गर्ने निर्णय लिए।
यो खेल रद्द भएसँगै दुवै टोलीले एक-एक अंक बाँडेका छन्।
यसअघि बुधबार भएको सिरिजको पहिलो खेलमा नामिबियाले आयोजक क्यानाडालाई ५ विकेटले पराजित गरेको थियो। अब स्कटल्याण्डले सोमबार क्यानाडासँग खेल्नेछ भने नामिबियासँगको अर्को खेल सेप्टेम्बर ४ मा हुनेछ।
लिग-२ को अंक तालिकामा स्कटल्याण्ड २१ खेलमा ११ जित र ७ हारसहित २४ अंक जोड्दै तेस्रो स्थानमा छ।
अमेरिका शीर्ष र नेदरल्याण्ड्स दोस्रो स्थानमा छन्। नामिबिया २० अंकसहित छैटौं र क्यानाडा १० अंकसहित पाँचौं स्थानमा छ। नेपाल भने १६ खेलमा ८ जित र ८ हारसहित १६ अंकका साथ सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ।
भदौ १४, २०८२ शनिबार ०९:५८:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।