अनलाइन जुवा र बेटिङको विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन, ‘सिधाकुरा जनतासँग’मा मेलब्याटको प्रचार

काठमाडौं : सरकारले अनलाइन जुवा, सट्टेबाजी र बेटिङसँग सम्बन्धित विज्ञापन हटाउन निर्देशन दिएको छ।
विज्ञापन बोर्डले शुक्रबार एक सूचना जारी गर्दै वानएक्सबेट, मेलब्याटजस्ता प्लेटफर्मका विज्ञापन तत्काल हटाउन निर्देशन दिएको हो। निर्देशनको अवज्ञा गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनीसमेत दिइएको छ।
बोर्डले सामाजिक सञ्जाल (फेसबुक, युट्युब, टिकटक आदि) तथा अन्य डिजिटल माध्यमहरूमा यस्ता विज्ञापनहरू व्यापक रूपमा फैलिएको र यसले आम नेपाली नागरिकलाई आयआर्जनको प्रलोभन देखाएर भ्रममा पारेको भन्दै गुनासो आएको जनाएको छ।
सूचनामा वानएक्सबेट, मेलब्याट, वुल्भ-७७७, डाफान्यूज, हेमाबेट, बाजी, बाजी८८ जस्ता वेबसाइट र एप्लिकेसनको नाम नै उल्लेख गर्दै यिनका विज्ञापन सामग्री तुरुन्त हटाउन भनिएको छ।
बोर्डले प्रचलित कानुनले नै यस्ता गतिविधिमाथि प्रतिबन्ध लगाएको स्मरण गराएको छ।
‘विज्ञापन (नियमन गर्ने) ऐन, २०७६’ र ‘मुलुकी अपराध संहिता, २०७४’ अनुसार नेपालमा जुवा खेलाउन, खेलाउन प्रोत्साहन गर्न वा त्यससम्बन्धी कुनै पनि विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पूर्ण रूपमा निषेध गरिएको सूचनामा उल्लेख छ।
सोही कानुनी व्यवस्थाका आधारमा बोर्डले सबै सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता, वेबसाइट, विज्ञापन एजेन्सी तथा डिजिटल प्लेटफर्म सञ्चालकहरूलाई त्यस्ता विज्ञापन तत्काल हटाउन कडा निर्देशन दिएको हो।
‘प्रचलित कानुनले निषेध गरेका विज्ञापनहरू प्रकाशन, प्रसारण र प्रदर्शन भएको भए तत्काल हटाउनु हुन सम्पूर्ण सञ्चारमाध्यम, विज्ञापन व्यवसायी, डिजिटल प्लेटफर्म सञ्चालक तथा आम नागरिकलाई अनुरोध सहित यो सूचना जारी गरिएको छ’, बोर्डद्वारा जारी सूचनामा भनिएको छ।
बोर्डले निर्देशनको अवज्ञा गरी यस्ता विज्ञापन प्रकाशन, प्रसारण वा प्रदर्शन गरिरहेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने व्यहोरासमेत स्पष्ट पारेको छ।
कान्तिपुर म्याक्स टेलिभिजनले राष्ट्रिय टेलिभिजनमा अनलाइन जुवाकाे विज्ञापन भित्र्याएको हो। त्यसपछि न्यूज२४, प्राइम टाइम्स र एभिन्यूज टेलिभिजनले पनि प्रसारण गरेका थिए। यी तीन टेलिभिजनले त समाचारमै अनलाइज जुवाको प्रचार गरेका थिए। तर उकेरामा समाचार प्रकाशित भएपछि र विज्ञापन बोर्डको पत्रपछि हटाएका थिए।
तर, पछिल्लो समय न्यूज२४ टेलिभिजनले फेरि आफ्नो चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासँग’मा अनलाइन जुवा मेलब्याटको खुलमखुलाम प्रचार गरिरहेको छ। बोर्डले यस्ता विज्ञापन प्रसारण नगर्न पत्र काट्दा समेत उसले अटेर गरेको हो।
यो पनि:
भदौ १४, २०८२ शनिबार ०९:४४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।