प्यालेस्टाइनी राष्ट्रपतिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाको अवरोध, दिएन भिसा

एजेन्सी : प्यालेस्टाइनी प्राधिकरणका राष्ट्रपति महमुद अब्बास अर्को महिना न्यूयोर्कमा हुने संयुक्त राष्ट्र महासभाको सत्रमा सहभागी हुन नपाउने भएका छन्।
अमेरिकी विदेश मन्त्रालयले उनको र अन्य ८० जना प्यालेस्टाइनी अधिकारीहरूको भिसा रद्द गरिएको पुष्टि गरेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उनीहरूमाथि शान्ति प्रयासलाई कमजोर पारेको र ‘एक काल्पनिक प्यालेस्टाइनी राज्यलाई एकतर्फी मान्यता’ दिलाउन खोजेको आरोप लगाएका छन्।
अमेरिकाको यस निर्णयको इजरायलले स्वागत गरेको छ।
संयुक्त राष्ट्रसंघको मुख्यालयमा आउने सबै देशका अधिकारीहरूको यात्रालाई सहजीकरण गर्ने अपेक्षा गरिने भएकाले अमेरिकाको यो कदमलाई असामान्य मानिएको छ।
यो प्रतिबन्ध यस्तो समयमा लगाइएको हो, जतिबेला फ्रान्सले संयुक्त राष्ट्रसंघको सत्रमा प्यालेस्टाइनलाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिलाउन अन्तर्राष्ट्रिय प्रयासहरूको नेतृत्व गरिरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले फ्रान्सको यस कदमको विरोध गर्दै आएको छ।
भदौ १४, २०८२ शनिबार ०८:२८:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।