
अमर प्रेमको घातक मानकले निम्त्याएको रुबी-लक्ष्मणको अन्त्य

असफलताको इतिहास कमै लेखिन्छ, कमै सम्झिन्छ। तर, रोमियो-जुलियट, लैला-मजनु, मुना-मदनजस्ता प्रेम वियोगका थुप्रै कथा चर्चित छन्। वियोगका कारण फरक-फरक भए पनि यस्ता कथाहरूले धेरैका आँसु बगाइदिएका छन्, धेरैलाई भावुक बनाएका छन्।
जहाँ भावुकता हावी हुन्छ, त्यहाँ कारक र कारणको विश्लेषण कमै हुन्छ। अधिकांश वियोगान्त प्रेम कथाको अवस्था पनि उस्तै हो। वियोगको प्रभाव सकारात्मक हुन सक्दैन, तर प्रेममा यसैलाई आदर्श मान्दा क्रूर अपराधको जन्मसमेत भइरहेको छ। प्रश्न उठ्छ- त्यसलाई आदर्श प्रेम मान्ने कि अपराध?
हालैको रुबी र लक्ष्मण पासवानको घटनालाई हेरौँ। वैदेशिक रोजगारीबाट नेपाल फर्किएको केही समयमै लक्ष्मण हत्याको आरोपमा परे। अन्ततः उनले आत्मदाह गरेर आफ्नो जीवन पनि समाप्त पारे।
रुबीको हत्या कसरी भयो, त्यो अझै खुलेको छैन। जसरी उनको शव सुटकेसमा बन्द गरिएको अवस्थामा सडकमा भेटियो, त्यसले समाजमा सनसनी नै मच्चायो। अनुसन्धानमा जुटेको प्रहरी सुरूमा अन्योलमा देखियो र हत्यामा संलग्न व्यक्तिको क्रूर चरित्र चित्रण भयो।
आफूलाई आगो लगाउनुअघि पासवानले भिडियो जारी गरेपछि घटना प्रेम सम्बन्धसँग जोडिन पुग्यो।
उनको दाबीअनुसार, बाल्यकालदेखिको प्रेम छुटाउन परिवारले खेलेको भूमिकाका कारण न रुबी खुसी थिइन्, न त पासवान नै। उनले गरेको दाबी सत्य हो भने, किशोरकालमै विवाह गरे पनि परिवारले जबर्जस्ती छुटाएर अर्कैतिर विवाह गरिदिएपछि रुबी खुसी थिइनन् र छोरा पढाउने बहानामा माइतमै बसिरहेकी थिइन्।
पासवानका अनुसार, रुबी पटक-पटक मर्ने कुरा गर्थिन्। यही क्रममा, पासवानले उनको हत्या गरे र आत्महत्याको प्रयासमा आफैँलाई आगो लगाएर गम्भीर घाइते भए। उपचारका क्रममा उनको पनि मृत्यु भयो। रुबी मारिइसकेकीले पासवानको दाबी सत्य हो वा होइन, अब पुष्टि गर्ने आधार के?
उनीहरू गहिरो प्रेममा थिए भन्ने प्रमाण बन्यो पासवानको शरीरमा खोपिएको रुबीको नाम र तस्बिरको ट्याटु। योसँगै किशोरकालमा भागेर विवाह गर्दा उनले अपहरणको मुद्दा समेत खेपेको खुल्यो। यी सबै घटनाक्रमले हत्या र आत्महत्यालाई उनीहरूको प्रेम सम्बन्धसँग लगेर जोडिदियो।
यो घटनाको दोषी को हो त? पासवान? तत्कालीन आपराधिक घटनालाई मात्र आधार बनाउने हो भने उनी नै दोषी ठहरिन्छन्। तर, हत्या र आत्महत्याको चरणसम्म उनलाई पुर्याउने घटनाक्रमलाई हेर्ने हो भने दोष देखिन्छ हाम्रो समाजमा गढेर बसेको जाती प्रथा।
रुबी साह समुदायकी र लक्ष्मण पासवान समुदायका। रुबी आर्थिक रूपमा मध्यम परिवारमा जन्मिइन् भने लक्ष्मणको परिवारको आर्थिक अवस्था कमजोर थियो। मनले न जात हेर्यो न धन।सँगै स्कुलमा पढ्दा किशोर उमेरमै दुवैको मन साटियो।
कलिलो उमेरमै सम्बन्धमा आउन सक्ने बाधाको अनुमान गरेर दुवै भागेर विवाह गरे। तर, रुबीको परिवारले कानुनको सहारामा दुवैलाई अलग गरायो। रुबीको भारतमा विवाह भयो, लक्ष्मण वैदेशिक रोजगारीका लागि विदेश गए।
तन टाढा भए पनि मन टाढा भएन। लक्ष्मण नेपाल फर्किएपछि दुवैको भेटघाट पुनः सुरू भयो, जसले अन्ततः यो जघन्य घटना घटायो।
यो चरणसम्म पुग्नुको पहिलो कारण जातीय विभेद नै देखिन्छ। साह र पासवानबीचको जातीय विभेद र आर्थिक हैसियतका कारण रुबीको परिवारले लक्ष्मणसँगको सम्बन्ध स्वीकारेन र छुटाउन लागिपर्यो।
अधिकांश यस्ता घटनामा अर्कैतिर विवाह गराइदिनुलाई नै समस्याको समाधानका रूपमा हेरिन्छ। रुबीको परिवारले पनि त्यसै गर्यो, तर त्यो तत्कालीन समाधानको उपाय मात्र थियो, दीर्घकालीन होइन। भयो पनि त्यस्तै।
कारण जातीय विभेदको सामाजिक सोच भए पनि हामी यसलाई सहजै स्वीकार गर्दैनौँ।
आधुनिक समाजको आधुनिक सोचको गफ दिन्छौँ, तर जातकै कारण एक चर्चित गायिका र सङ्गीतकारले राजीखुसीले गरेको इन्गेजमेन्ट यही जातीय जडले निम्त्याएको विरोधका कारण टुटेको बिर्सन खोज्छौँ। हामी कारण एकातिर पन्छाएर ‘केही खटपट भयो होला’ भनेर सामान्यीकरण गरिदिन्छौँ, जसको परिणाम समाजमा रुबी-लक्ष्मणजस्ता क्रूर नतिजाको जन्म हुन्छ।
गरिबी र आफूभन्दा तल्लो जातको भएको कारण देखाउँदै रुबीको परिवारले अदालत पुगेर विवाह तोडाउँदा रुबीको मानसिक स्वास्थ्यमा समेत गहिरो असर पुगेको देखिन्छ।
उनी लक्ष्मणसँगै बस्न चाहन्थिन्, तर अर्कैतिर विवाह भइसकेको र सन्तानसमेत भएका कारण त्यो सम्भव भएन। उनी न आफ्नो श्रीमानसँग बस्न सकिन्, न लक्ष्मणसँग नै। यसले उनी मानसिक तनावमा परिन्। समयमै परिवारले समस्याको पहिचान गर्न नसक्दा यो दुःखद घटना निम्तियो।
घटनाको दिन के भयो, लक्ष्मण कसरी त्यस्तो जघन्य अपराधको चरणमा पुगे, त्यो खुलेको छैन। तर, उनले जे गरे, त्यो जघन्य अपराध नै हो। हत्यापछि सुटकेसमा शव राखेर फाल्नु, रिक्सा चालक समातिएपछि लुकेर बस्नु अनि एकाएक सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गरेर आत्महत्याको प्रयास गर्नुले यो घटना योजनाबद्धभन्दा पनि आकस्मिक आवेगको परिणाम हो भन्ने देखाउँछ।
हत्याको कारण प्रस्ट छैन, तर आत्महत्याको कारण भने एकातिर रुबी नरहनु र अर्कोतिर उनकै हत्याको अपराधमा जेल पर्ने डर देखिन्छ।
लक्ष्मणले जे गरे, त्यो दण्डनीय कार्य हो। यसमा अन्य तर्कको महत्त्व हुँदैन। यो घटना लक्ष्मणले न्यायको कठघरामा उभिनुको सट्टा आफैँलाई सजाय दिनु उत्तम ठानेको परिणाम हो। तर, उनलाई यो चरणमा पुर्याउने तपाईं-हाम्रो ‘विकसित’ समाज र सामाजिक प्रवृत्ति नै हो।
परिस्थितिअनुसार लक्ष्मण दोषी देखिए पनि मृत्युअघि उनले सार्वजनिक गरेको भिडियो सन्देशमा उल्लेख गरिएका प्रसङ्ग गम्भीर छन्। नेपालको कानुनअनुसार, उनले जो-जसको नाम लिएका छन्, उनीहरूमाथि आत्महत्या दुरुत्साहनको दफा आकर्षित हुन्छ। के हाम्रो प्रशासनले उनीहरूलाई छानबिनको दायरामा ल्याउँछ?
अर्को पक्ष, सुरक्षाकर्मीले लक्ष्मणलाई जलेर गम्भीर घाइते भएको अवस्थामा फेला पारे, जुन एक मेडिकल इमर्जेन्सी थियो। त्यस्तो अवस्थामा सामान्य मानवीयतासमेत नदेखाई उनलाई समातेर लगिएको दृश्यले ‘जोसुकैको पनि बाँच्न पाउने अधिकार हुन्छ’ भन्ने मान्यताको उल्लङ्घन भएको देखिन्छ।
प्रहरीको पहिलो जिम्मेवारी संवेदनशीलता अपनाएर उनको ज्यान जोगाउनु र निको भएपछि मात्र कानुनी प्रक्रिया अघि बढाउनु हो। तर, जलेर गम्भीर घाइते भएकालाई तत्काल उचित व्यवहार गरेर उपचारका लागि लैजाने जिम्मेवारी पूरा हुन सकेको देखिएन। जलेका घाइतेलाई जतिसक्दो चाँडो उचित उपचार प्रबन्ध गर्नुको साटो पहिला स्थानीय अस्पतालमा लैजाने र ढिला गरी उचित उपचार हुने काठमाडौं पठाउँदा अवस्था जटिल बनेर उनको ज्यान गयो।
हाम्रो समाजमा ‘अमर प्रेम’को भाष्य नै गलत बनेको छ। कथा, उपन्यास र फिल्महरूले प्रेम सम्बन्धले निम्त्याउने मानसिक समस्यालाई उपचारतिर भन्दा त्यागतिरै जोड दिन्छन्, जसले आधुनिक समाजमा हत्या वा आत्महत्याजस्ता घटनालाई परोक्ष रूपमा प्रोत्साहित गरेको छ।
प्रेममा अपराध स्वीकार्य होइन, न त यो समस्या निवारणको उपाय नै हो भनेर समाजलाई बुझाउन जरुरी छ। अर्को गम्भीर पक्ष जातीय विभेद नै हो। यसलाई निरुत्साहित गर्न कानुन बनाएर मात्र हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन पनि जरुरी छ।
त्यसको कार्यान्वयन रुबी र लक्ष्मणको घटनाको निष्पक्ष अनुसन्धानबाट सुरु भए उत्तम।
भदौ १३, २०८२ शुक्रबार १३:३९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।