घरमै बच्चा जन्माइन्, अत्यधिक रक्तस्रापपछि ११ घण्टामा अस्पताल पुर्‍याइयो तर बाँचिनन् सुनिता

घरमै बच्चा जन्माइन्, अत्यधिक रक्तस्रापपछि ११ घण्टामा अस्पताल पुर्‍याइयो तर बाँचिनन् सुनिता

मुगु : बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी सोरु गाउँपालिका-८ रुमा गाउँकी ३४ वर्षीया सुनिता बुढाको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ।

बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी बुढाले छोरा जन्माएकी थिइन। घरमै सुत्केरी भएकी बुढाको सालनाल नझरेपछि उनलाई उपचारका लागी घरबाट एक घण्टा टाढा रहेको सीप प्रसूति केन्द्रमा लगिएको थियो।

अत्यधिक रक्तस्राप हुन थालेपछि थप उपचारका लागि प्रसूति केन्द्रले जिल्ला अस्पताल लैजान सल्लाह दिएपछि घर परिवारले राति १० बजे जिल्ला अस्पतालमा पुर्याएको थियो। तर उपचारका क्रममा बिहीबार ३ बजे उनको मृत्यु भयो। 

 राति १० बजे अस्पतालमा पुगेका बुढालाई डाक्टरहरूले चेकजाँच गर्दा अत्यधिक रक्तस्रापका कारण शरीरमा जम्मा दुई प्वाइन्ट रगत मात्र देखिएको उपचारमा संलग्न डाक्टर नहकुल शाहीले जानकारी दिए।

बुढालाई तत्काल रगत चढाउनुपर्ने थियो तर जिल्ला अस्पतालमा बल्ड बैंक छैन। ब्लड बैंकको व्यवस्था नहुँदा उपचारमा संलग्न डाक्टरहरूले आफ्नो फेसबुक मार्फत आवश्यक रगत दानका लागि सूचना जारी गरेपछि सदरमुकाम गमगढीका युवाहरूले पाँच प्वाइन्ट रगत दान गरेका थिए।

एक वर्ष अगाडि मृतक बुढा घरमै गर्भपतन गराएर अत्यधिक रक्तस्रापपछि जिल्ला अस्पतालमा उपचारका लागि आएकी थिइन। त्यसबेला पनि उपचारमा संलग्न डाक्टरहरूले उनको शरीरमा आवश्यक रगत चढाई उपचार गरेका थिए।

उपचार गरेर घर फर्किन लाग्दा बुढालाई त्यसबेला जिल्ला अस्पतालका डाक्टरहरूले सल्लाह बिना औषधी सेवन नगर्न, नियमित चेकजाँच गर्न एवं अस्पतालमै बच्चा जन्माउन सल्लाह दिएका थिए।

सोरु गाउँपालिकामा सबै ठाउँमा प्रसूति केन्द्र छन्। तर घरमै सुत्केरी गराउने र अन्तिममा समस्या देखिएपछि स्वास्थ्य संस्थामा पुग्ने गरेका धेरै घटना छन्। जिल्ला अस्पतालमा प्राय यस्ता घटना सोरु गाउँपालिकाबाट धेरै आउने गरेको डाक्टर नहकुल शाहीले बताए।

उपचारमा संलग्न डाक्टरहरूका अनुसार अस्पतालमा पुग्दासम्म सालनाल नझरेर अत्यधिक रक्तस्रावका कारण बुढा बेहोस थिइन्। आवश्यक रगतको व्यवस्था गरेर शरीरमा रगत चढाइसकेपछि बिहीबार बिहान होसमा आएको र थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले हेलिकोप्टरको व्यवस्थापनका लागि गृह मन्त्रालयसँग समन्वय गरिरहेकै बेला उनको ज्यान गएको जिल्ला अस्पतालका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए।

डाक्टर नरकोटीका अनुसार बुधबार बिहान ११ बजे सुत्केरी भई सालनाल नझरेपछि उपचारका लागि घरपरिवारले राति १० बजे ल्याएका थिए। उनीबाट जन्मेको शिशुको अवस्था भने सामान्य छ।

भदौ १२, २०८२ बिहीबार २१:५७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।