फिल्म 'अभिमन्यु' ट्रेलर जस्तै बलियो बनेको होला त !

फिल्म 'अभिमन्यु' ट्रेलर जस्तै बलियो बनेको होला त !

काठमाडौं : अपराधमा संलग्न व्यक्ति जब  सुध्रने प्रयासमा लाग्छ पुन परिस्थितिले पुन अपराधमै कसरी फस्दै जान्छ? फिल्म ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर हेर्दा फिल्मको मूलकथा यस्तै देखाउँछ। पूर्णबहादुरको सारङ्गीका निर्माताले बनाएको फिल्मको ट्रेलरको गुणस्तर हेर्ने हो भने गजब देखिएको छ। 

नेपाली फिल्मको समस्या ट्रेलर एकातिर अनि फिल्म अर्कोतिर हुन्छ। यदि फिल्म अभिमन्यु यो समस्याबाट मुक्त रहेको र ट्रेलर जस्तो देखिएको छ फिल्म पनि त्यसकै छेउकुना मात्र पुग्न सक्ने हो भने पनि यसले गजबको प्रभाव छाड्न सक्छ।

यौन र प्रेम फिल्मका सबैभन्दा चल्तीका र चर्चित विषय भए पनि नेपालको हकमा भने फिल्मकर्मीहरूले यसको सदुपयोग नै गर्न सकेका छैनन्। प्रयास त गर्छन् तर ढंग पूर्याउनै सक्दैनन्। यौनको विषयमा बनेका फिल्मले कलात्मक पक्ष समात्न नसक्दा इरोटिक बनिदिन्छन्। अपराध विषयमा त अहिलेसम्म वाह लायक फिल्म बनेकै छैन भन्दा फरक पर्दैन।

कामेश्वर चौरसियाको लुक्स अनि जसरी ट्रेलरमा फिल्मको कथा छुस्स देखाइएको छ यसको आधारमा सस्पेन्स जनराको अपराध कथामा फिल्म बनेको हुनसक्ने देखिन्छ। ट्रेलरको जस्तै चुस्त कटिङ, कामेश्वर लगायतकाहरुको उस्तै अभिनय अनि बिजियम त्यही गुणस्तरको हुने हो भने 'पूर्णबहादुरको सारंगी' ले नेपालको फिल्म इतिहासमा भत्काउन ग्राहै पर्ने व्यापारको रेकर्ड बनाए जस्तै अभिमन्युले क्राइम जनरामा सहजै भत्काउन ग्राहै हुने तहको फिल्म बन्न सक्ने संकेत देखाएको छ।

कामेश्वर त भइहाले। उसमा उम्दा अभिनयले परिचित सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाललगायतका कलाकार समेत छन्। सुशान्त गौतमले निर्देशनमा यी कलाकारहरूलाई कुन तहको अभिनय गराउन सकेका छन्, थिम अनुसार कत्तिको दृश्य भाषा बगाएका छन् अनि प्राविधिक पक्षमा कत्तिको गतिलो काम भएको छ त्यसले नै फिल्मको गुणस्तर निर्धारण गर्ने छ।

फिल्मको ट्रेलरमा मात्र मिहेनत गरेको भए त के नै भन्न सकिन्छ र। तर ट्रेलर अनुसारै फिल्म निर्माणमा पनि मिहेनत गरेको भए राम्रै आश गर्न सकिने देखिन्छ।  मुकेश खनालको लेखन र क्रिएटिभ निर्देशक मदन थापा रहेको फिल्म ‘अभिमन्यु’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। फिल्म भदौ २७ मा रिलिज हुँदैछ।

भदौ १२, २०८२ बिहीबार २१:४२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।