इम्बार्क कलेजद्वारा ‘वर्क-स्टडी’ र ‘स्टार्टअप क्षमता विकास कार्यक्रम’ सार्वजनिक

इम्बार्क कलेजद्वारा ‘वर्क-स्टडी’ र ‘स्टार्टअप क्षमता विकास कार्यक्रम’ सार्वजनिक

काठमाडौं : नेपालमा व्यवसायीक शिक्षा र रोजगारीबीचको खाडल मेट्न ललितपुरको पुल्चोकस्थित इम्बार्क कलेजले दुईवटा महत्वाकांक्षी कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ। कलेजले व्यावहारिक सीप तालिम (अप्रेन्टिससिप) र स्टार्टअप क्षमता विकास कार्यक्रमको घोषणा गरेको हो। यी कार्यक्रमले नेपालमा करियर-रेडी शिक्षाको नयाँ मापदण्ड स्थापित गर्ने कलेजको विश्वास छ।

कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरका अनुसार, यस पहलले स्नातक विद्यार्थीलाई शैक्षिक जीवनपछि व्यावसायिक करियरमा प्रवेश गर्दा हुने अनिश्चिततालाई अन्त्य गर्नेछ। उनका शब्दमा, ‘हामीले व्यवसायीक शिक्षालाई प्रत्यक्ष उद्योगसँग जोडेर व्यावसायिक जीवनमा सजिलै प्रवेश गर्न सक्ने बाटो खोलेका छौं।’ 

अप्रेन्टिससिप कार्यक्रमले नेपालका प्रमुख उद्योग र उद्यमसँग सहकार्य गर्दै योग्य स्नातकलाई रोजगारी सुनिश्चित गर्ने विश्वास छ। कम्पनीहरूले संरचित तालिम आवश्यकताको मूल्याङ्कन अनुसार रोजगारी दिने र विद्यार्थीलाई व्यावसायिक मार्गदर्शन गर्ने प्रणाली यसमा समावेश गरिएको छ। यसले उद्योगलाई दक्ष जनशक्ति उपलब्ध गराउने मात्र होइन, विद्यार्थीलाई भविष्यप्रति निश्चित दिशानिर्देशन गर्ने अपेक्षा गरिएको छ।

यस्तै, स्टार्टअप क्षमता विकास कार्यक्रमले कानुनी रूपमा दर्ता भई १० वर्षभन्दा कम समय सञ्चालन भएका र वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा कम भएका नवप्रवर्तन व्यवसायलाई लक्षित गर्नेछ। यो कार्यक्रम नेपाल सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी तयार गरिएको हो। प्राथमिकता मानव प्रवर्तन, मापनयोग्यता र बजार प्रभाव राख्ने स्टार्टअपलाई दिइनेछ। सीईओ ठाकुरले नेपालमा उद्यमशीलताको सम्भावना अपार भए पनि रणनीतिक स्रोतहरूमा पहुँच सीमित भएको उल्लेख गर्दै आफ्नो कार्यक्रमले नवप्रवर्तनलाई दीगो व्यवसायमा रूपान्तरण गर्ने क्षमता विकासमा जोड दिने बताए।

अप्रेन्टिससिप कार्यक्रमका लागि इच्छुकले सीप मूल्याङ्कन, शैक्षिक र सीपसम्बन्धी कागजात पेस गर्नुपर्नेछ भने अन्तर्वार्तामार्फत व्यावसायिक मूल्याङ्कन हुनेछ। स्टार्टअप कार्यक्रमका लागि चाहिने कागजातमा कानुनी दर्ता प्रमाणपत्र, वित्तीय विवरण र व्यवसाय योजना अनिवार्य छन्, जसको समीक्षा गरी छनोट गरिनेछ।

अन्तर्राष्ट्रिय व्यवसाय शिक्षामा अग्रणी मानिने इम्बार्क कलेजले विभिन्न स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ।

भदौ १२, २०८२ बिहीबार २१:१६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।