निर्देशक नरेश पौड्यालसँग हिजोका कुरा : त्यो बेलाका शहरिया दर्शकले नेपाली भन्दा हिन्दी फिल्म रुचाउँथे

निर्देशक नरेश पौड्यालसँग हिजोका कुरा : त्यो बेलाका शहरिया दर्शकले नेपाली भन्दा हिन्दी फिल्म रुचाउँथे

काठमाडौं : नेपाली फिल्म उद्योगको लामो यात्रामा एउटा चर्चित नाम हो-नरेश पौड्याल। ५० सालमा उनले पहिलोपटक ‘अपराध’ नामक फिल्म निर्माण गरे। त्यसपछि ‘धर्म’, ‘चुनौती’, ‘हिरो’, ‘कस्तो साइनो’, ‘यस्तै रहेछ जिन्दगी’, ‘धड्कन’, ‘अभिमन्यु’, ‘दीप शिखा’जस्ता चर्चित फिल्महरू निर्माण गरेर आफ्नो पहिचान बनाए। पछिल्लो दशकमा भने उनी अभिनयमै सक्रिय छन्।

सप्तरीको सखडा गाउँमा जन्मिएका पौड्यालले बाल्यकाल तराईमै बिताए। हाल उनी ललितपुरको कुपण्डोलमा बस्छन्। युवा उमेरमै जागिर सुरु गरेका उनले जनकपुर चुरोट कारखानामा अधिकृत पदमा सात वर्ष काम गरे। तर पर्यटन क्षेत्रमा बढी सम्भावना देखेपछि उनले स्थायी जागिर छाडे।

जागिर छोडेपछि उनले इटालियन भाषा सिके र विदेशी पर्यटकलाई नेपाल घुमाउन थाले। अझै पनि यो पेशा छोडेका छैनन्। तर पर्यटक गाइडभन्दा बढी उनी कलाकार र चलचित्र निर्माता भनेर चिनिन्छन्। शीर्ष कलाकारहरूसहितका धेरै सफल फिल्म उनले निर्माण गरिसकेका छन्।

यस्तै जीवन यात्रा, भोगाइ र अनुभवलाई उनले उकेराको साप्ताहिक स्तम्भ ‘हिजोका कुरा’सँग साटेका छन्। 
 

फिल्ममा कुनै पात्र मन परे त्यसै बन्न मन लाग्थ्यो

मेरो जन्म मावली घर सप्तरी जिल्लाको सखडा गाउँमा भयो। वि.स. २०१९ सालमा। धेरैलाई थाहा होला, त्यो गाउँ छिन्नमस्ता मन्दिरको लागि प्रख्यात छ। मेरो आमा तराईकी भएकाले म त्यहीँ जन्मेको हुँ। मेरो घर चाहिँ ललितपुरको कुपण्डोलमा छ। 

मेरो उमेर ५ वर्षको हुँदा मेरो बुबा सरकारी जागिरे हुनुहुन्थ्यो। उहाँ पञ्चायत डेभलपमेन्ट अफिसर हुनुहुन्थ्यो। जागिरको सिलसिलामा बुबा सरुवा भएर बाँके, नेपालगञ्ज पुग्नुभयो। हामी पनि उहाँसँगै त्यहीँ गयौं। मेरो प्रारम्भिक पाठशालाको जीवन नेपालगञ्जमै बित्यो। मेरो एसएलसी किर्तिपुरको ल्याबटरी स्कुलबाट भयो। एसएलसी पास गरेपछि अमृत साइन्स कलेज भर्ना भएँ। बिएसी त्रि-चन्द्र कलेजबाट गरेको हुँ।

मैले पहिलो पटक नेपालगञ्जमै फिल्म हेरे। म ५/६ वर्षको मात्र थिए। पहिलो फिल्म ‘सुरज’ हो भन्ने पछि थाहा पाएँ। केही दृश्यहरू अझै मानसपटलमा घुमिरहन्छन्। राजसभा हुने क्लाइमेक्स दृश्य सम्झन्छु, जहाँ जमिन फोडेर ड्याङ हिरो बाहिर निस्कन्छ। हिरो राजेन्द्र कुमार हुनुहुन्थ्यो।

त्यसपछि मैले थुप्रै फिल्म हेरे। मलाई अमिताभ बच्चनका फिल्महरू बढी प्रभावशाली लागे। हलमा फिल्म हेरिँदा हामी खुबै ताली बजाउँथ्यौँ। 

म कहिल्यै अमिताभ बच्चन जस्तै हिरो बन्न चाहँदैनथे। तर फिल्ममा कुनै पात्र मन परे त्यसै बन्न मन लाग्थ्यो। कसैमा इन्स्पेक्टर बनेको थियो भने म पनि इन्स्पेक्टर बन्ने सोच्थेँ। डाक्टर बनेको देखेँ भने डाक्टर बन्ने मन लाग्थ्यो।

अमिताभ बच्चनको ‘दिवार’ फिल्म लखनउमा हेरेको स्मरण छ। नेपालगञ्जबाट लखनउ धेरै टाढा थिएन। त्यहाँ हाम्रो किनमेल गर्ने ठाउँ पनि थियो। आमा मधेसकी, बुबा पनि फिल्म हेर्न रुचाउने भएकाले मैले धेरै फिल्म हेर्ने अवसर पाए। ‘दिवार’ हेर्दा म ९/१० वर्षको थिए।

अधिकृतको जागिर छाडेर टुरिष्ट गाइड

सबैभन्दा पहिला मैले जागिर खाएको भनेको जनकपुर चुरोट कारखानामा हो। खुला प्रतियोगीताबाट मैले अधिकृतमा नाम निकालेर जागिर पाएँ। यो वि.स. २०४२ सालको कुरा हो। म भर्खर २१ वर्षको थिएँ। सुरुमा मार्केटिङ हेर्थेँ। त्यसपछि इन्स्योरेन्स सम्बन्धी काम पनि हेर्न थालेँ।

त्यो समयमा जागिर खानु अनिवार्य भन्ने सोचाइ सबैमा थियो। बिएसी पास गरेपछि पनि जागिरै खोज्ने बानी भयो। अधिकृत पदको योग्यता पुगेकोले खुला प्रतियोगीताबाट नाम निकालेर ७ वर्षसम्म त्यहीँ काम गरेँ।

यसबीच मैले टुरिष्ट गाइडको प्रशिक्षण पनि लिएँ। पर्यटक पथ प्रदर्शक बन्ने तयारी गरेँ र टुरिष्ट लाइनमा बिस्तारै प्रवेश गरे। त्यसपछि म युरोप गएँ। फर्किएपछि जागिर छोडेर पूर्ण रूपमा टुरिष्ट क्षेत्रमा सक्रिय भएँ।

मैले जागिर छाड्नुको कारण स्पष्ट छ। अधिकृत भएर जागिर गर्दा महिना दिनमा तलब आउँथ्यो, तर टुरिष्ट घुमाउँदा एउटै दिनमै त्यो भन्दा बढी कमाइ हुन्थ्यो। सरकारी तलबले खानपिन र छोराछोरी पढाउन पर्याप्त थियो। मेरो श्रीमती पनि राष्ट्र बैंकको जागिरे थिइन्, त्यसैले खर्च सहजै चल्थ्यो।


इटलीमा भाषा सिके, उताकै फिल्मकर्मीसँग जोडिए

म भाषा सिक्न इटली गएको थिएँ, करिब ४ वर्षसम्म त्यही बसे। त्यहाँ भाषा प्रशिक्षण पाएँ र अहिले पनि इटालियन भाषा राम्रोसँग बोल्न सक्छु। नेपाल फर्केपछि मैले यहीँ भाषा पढाउन थालेँ।

इटलीबाट फर्किएर टुरिष्ट गाइडको काम गरिरहेको बेला त्यहाँका फिल्मकर्मीहरू नेपाल फिल्म निर्माणका लागि आएका रहेछन्। मेरो ट्राभल्स एजेन्सीका एक सहकर्मीले ‘तँ भर्खर इटालीबाट फर्किएको होइन ?’ भनेर सोधे। मैले हो भनेँ। अनि उनीहरूलाई ‘ह्यान्डिल गर्नुपर्छ’ भनेर मलाई जिम्मा दिइयो। 

उनीहरूलाई लगेर म एउटा होटेलमा पुगेँ। निर्देशक को हो भनेर सोध्दा, उनी बर्नार्डो बर्टोलुची हुन् भन्ने सुनेर म झसङ्ग भएँ। मैले इटालीमा हुँदा उनका धेरै फिल्महरू हेरेको थिएँ। त्यसैले उहाँसँग काम गर्न पाउनु ठूलो अवसर हो भन्ने बुझे।
त्यसपछि मैले करिब एक वर्ष उहाँसँग काम गरेँ। म प्रोडक्सन असिस्टेन्ट, ट्रान्सलेटर र अन्य सबै कामहरूमा संलग्न रहेँ। उहाँले साइन गरेर दिएको चिठी अहिलेसम्म राखेको छु। 

त्यो बेला हलिउड अभिनेता कियानु रिव्स पनि गौतम बुद्धको भूमिकाका लागि नेपाल आएका थिए। उनी खासै चर्चित थिएनन्, अहिले चर्चित भए। मेरा छोराछोरी त्यो बेला किन फोटो खिचेनौ भनेर अहिले सम्झाउँछन्। त्यो समय त्यस्तो जमाना थिएन। म पनि कामको जिम्मेवारीमा व्यस्त थिएँ। अर्को कुरा सँगै काम गरेपछि फोटो खिचौँ न भन्ने मन नलाग्दो रहेछ। त्यो बेला उ भन्दा म ठूलो थिए। किनभने सबै म्यानेज म आफै गर्थे। अनि अहिले ऊ यति फेमस होला भन्ने पनि मलाई के थाहा। त्यो जमना नै अर्कै थियो। 

राजधानीमा मान्छेले नेपाली फिल्म हेर्दैनथे

काठमाडौंका मान्छेहरूले खासै नेपाली फिल्म हेर्दैनथे। त्यो समयमा मैले करिब २८ हजार रुपैयाँमा पहिलो पटक सिडी होण्डा मोटरसाइकल किनेको थिएँ। यो मोटरसाइकल मैले ‘लिटिल बुद्ध’ फिल्ममा काम गरेर कमाएको पैसाले किनेको हो। मेरा अरु साथीहरूले विभिन्न काम गरेर मोटरसाइकल किनेका थिए। उनीहरू धनी थिए, म भने साधारण।

मोटरसाइकल किनेपछि घुम्न कहाँ जाने भन्ने भयो। त्यसै क्रममा भक्तपुरको सल्लाघारीमा एउटा रिसोर्ट खोलेको सुने। त्यो समय रिसोर्ट भन्ने कुरा धेरैलाई थाहा थिएन। काठमाडौंमा खुलेको पहिलो रिसोर्ट त्यहीँ होला सायद।

त्यहाँ पुगेँ। रिसोर्ट माटोको गारो र परालले छाएको खुलेको रहेछ। साथीभाइसँगको गफगाफमा मैले भनेँ, ‘यत्रो पैसा कमाइयो। अलिअलि बाँकी छ, के गर्ने?’ त्यसमा एउटाले सुझायो, ‘तँ भर्खर सिनेमामा काम गरेको छस्, नेपाली फिल्म बनाइदे।’

मलाई लाज लाग्यो। नेपाली फिल्मबारे धेरै कुरा थाहा थिएन। दुई-तीन वटा फिल्म मात्र हेरेको थिएँ- ‘चिनो’, ‘सिन्दुर’ र ‘जीवन रेखा’। फिल्मको बारेमा ज्ञान लगभग शून्य थियो। अनि मैले पहिले नै देखेको कुरा याद आयो, ‘उपत्यकाका सहरिया मानिसहरूले नेपाली फिल्म हेर्दैनन्।’

त्यो बेला नेपाली भन्दा सहरिया दर्शक हिन्दी फिल्म हेर्न बढी रुचाउँथे। मैले नुवाकोटको साथीलाई फिल्म हेर्न पठाएँ। उसले खुशी हुँदै जय नेपाल हलमा फिल्म हेर्यो। त्यो तीजको समय थियो, बाल्कुनीको टिकट त थिएन, स्पेशलको टिकट पायो।

हेरेको फिल्म ‘मनकामना’ थियो। गीत निकै मन परेको थियो। फिल्म हेरेपछि साँझ साथीभाइको जमघट भयो। मैले गफ गर्दै भनेँ, ‘त्यतिको फिल्म म चुट्कीमा बनाईदिन्छु।’ त्यो समयको अनुभव र अन्तर्राष्ट्रिय फिल्म हेर्ने स्तरका कारण मलाई लाग्यो, नेपाली फिल्म पनि त्यो स्तरमा बनाउन सकिन्छ।

त्यसरी साथीहरूसँगको पहलबाट ‘अपराध’ फिल्म निर्माण भयो। यो फिल्म वि.स. २०५० सालमा रिलिज भयो र सुपरहिट भयो। गीतहरू पनि हिट भए। राजेश हमाललाई फिल्मको मध्य भागमा भिलेनको रुपमा प्रस्तुत गरिएको थियो। ‘थापाकी छोरी हाम्रो मुठीमा छे,’ भन्ने उहाँको डाइलग दर्शकले निकै मन पराए।

हिन्दी फिल्मको प्रभावले पनि म त्यस्तो स्तरको फिल्म बनाउने चाहन्थेँ। दर्शक पनि उत्साहित थिए। मलाई याद छ, दमकको पाथिभरामा १२ बजे शो थियो। म १० बजे पुगेँ, हलमा कोही थिएन। ११ बजे पनि मान्छे केही थिएन। तर १० मिनेटपछि दर्शक आउन थाले। फिल्म पाथिभरामा ४२ दिन हाउसफुल रह्यो। बाल्कुनी टिकट करिब ८-१० रुपैयाँ थियो। सवा करोड कमाई गर्न सफल भयो।


१५ वर्ष यता नयाँ फिल्म बनाएको छैन, केही तयारीमा छु

पहिलो फिल्मपछि करिब डेढ वर्षको अन्तरालमा लगातार फिल्म निर्माण भयो। ‘अपराध’पछि ‘धर्म’, ‘चुनौती’, ‘हिरो’, ‘कस्तो साइनो’, ‘यस्तै रहेछ जिन्दगी’, ‘धड्कन’, ‘अभिमन्यु’, ‘दीप शिखा’ जस्ता फिल्महरू बने। पछिल्लो १४-१५ वर्षदेखि म नयाँ फिल्म निर्माणमा सक्रिय छैन, केही तयारी गरिरहेको छु।

फिल्म बनाउँदाको अनुभव धेरै छन्। त्यो समयमा निर्देशकलाई कलाकार र प्राविधिक दुवैले सम्मान गर्थे। निर्देशक, कलाकारहरूको सुत्ने कोठा अलग हुन्थ्यो। बोल्दा पनि सम्मानपूर्वक बोलिन्थ्यो। मैले पनि ४० भन्दा बढी फिल्ममा अभिनय गरेको छु। निर्देशकलाई म सम्मान स्वरुप ‘डाइरेक्टर साब’ नै भन्छु।


पहिलो फिल्ममा साइन गराउँदा  

मेरो पहिलो फिल्म ‘अपराध’मा राजेश हमाल हिरो र कृष्टी मैनाली हिरोइन थिए। राजेश हमाल फिल्ममा आउनु अघि म उनलाई चिन्थेँ, तर कृष्टी मैनालीलाई भने म चिन्दैनथे।

जब मैले पहिलो फिल्म ‘अपराध’ बनाउने निर्णय गरेँ, तब निर्देशकसँग हिरो र हिरोइन को हुने भनेर सोधें। निर्देशकले राजेश हमाल भने। हिरोइन को हो भनेर सोध्दा उनले कृष्टी मैनाली भने। म उनलाई चिन्दैनथे, त्यसैले म आफै साइन गर्न सक्दिनँ भनेँ। पछि थाहा पाएँ कि कृष्टी मेरो साथी उज्जवल मैनालीकी पत्नी रहिछन्। उज्जवल सरस्वतीमा पढ्थेँ, अनि उनलाई फोन गरेर घरमै गएर कृष्टीलाई फिल्मका लागि अनुबन्ध गराए।

राजेश हमालसँग कुरा भयो र फिल्मका लागि साइन भयो। मेन हिरो र हिरोइन तय भयो। अब भिलेन को हो भने सुनिल थापा। त्यो बेलाको निकै तगडा भिलेन। भिलेन पक्का भएपछि अन्य कलाकारहरू पनि छानिए।

मैले फिल्मको बारेमा धेरै कुरा थाहा पाएको थिइन। सुटिङको बेला सिनहरू चल्दा, राजेश र कृष्टी एक्सन भन्दा आफ्नो अभिनय गर्थे, कट भयो भने आफ्नै बाटो लाग्थेँ।

 फिल्ममा एउटा चिया पोख्ने दृश्य थियो। राजेश हमालसँग ठोकिँदा चिया कृष्टीको ड्रेसमा पर्थ्यो। कृष्टीले हात उठाएर गाली गर्ने र प्रतिक्रिया दिने सिन थियो। तर, पाँच दिनसम्म पनि राजेश र कृष्टी एकअर्कासँग बोल्दैनथे। मैले प्रोडक्सनको एक जना मान्छेलाई सोधे, ‘हिरो-हिरोइनको बोलचाल छैन?’ उनले भने, ‘नरेश भाई, यी दुईको बोलचाल नभएको २-३ वर्ष भइसक्यो।’ 

त्यो सुनेर मलाई अचम्म लाग्यो। तर जे भए पनि मेरो फिल्म ‘अपराध’को सुटिङ चलिरह्यो। गीतको सुटिङमा पनि त्यस्तै थियो। गीत बज्दा निर्देशकले एक्सन भने पनि उनीहरूले अभिनय गर्थे, कट भए पछि फटाफट यताउता लागिहाल्थे।

यी अनुभवहरू अहिले सम्झँदा रमाइलो लाग्छ। जीवन नै फिल्मजस्तै बितेको रहेछ।

भदौ १२, २०८२ बिहीबार २०:०८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।