शवको हड्डी र जलाएको खरानी पाँच सयमा विक्री, किन्ने र बेच्ने चार जनालाई मुद्दा

काठमाडौं : पशुपति आर्यघाटमा सद्गद् गर्न ल्याएको शव जलाइरहेको बेलामा शवको हड्डीको टुक्रा र शव जलेको खरानी पाँच सयमा विक्री गर्ने र किन्ने चार जना विरुद्ध बिहीबार अभियोग पत्र दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
अभियोग पत्रमा शवको हड्डीको टुक्रा र शव जलाएको खरानी बेचेको आरोपमा जीवनाथ ढकाल र विनायक मैनाली र शवको हड्डीको टुक्रा र खरानी किनेको अभियोगमा रामनन्दन ठाकुर र मिस्रीलाल यादवलाई प्रतिवादी बनाइएको छ।
उनीहरूमाथि मुलुकी अपराध संहिता अनुसार धार्मिक काममा बाधा पूर्याएको अभियोग लगाउँदै एक वर्ष कैद र १० हजार जरिवानाको माग गरिएको छ।
प्रतिवादी बनेका ढकाल पशुपति आर्यघाटमा शव जलाउने काम गर्दै आएका व्यक्ति हुन्। मैनाली उनको सहयोगी। बयानमा उनले आफूले शव जलाइरहेको बेलामा ठाकुर र मिस्रीलाल आएर शवको टाउकाको सानो हड्डीको टुक्रा र शव जलाएको खरानी चाहिएको भन्दै मागेपछि दिएको र उनीहरूले जवर्जस्ती पैसा गोजीमा राखिदिएको दाबी गरेका छन्।
उनले बयान यस भन्दा अगाडि आफूले यस्तो काम नगरेको दाबी गरेका छन्। ठाकुरले बयानमा एक बाबालाई हात देखाउनेक्रममा जीवनमा ठूलो सङ्कट आउन लागेको र सङ्कटबाट पार पाउने हो भने मान्छेको शरीरको हड्डी र शव जलाएको खरानी बागमतीमा बगाउन भनेपछि आफू पशुपति आर्यघाटमा गएर शवको हड्डीको टुक्रा र शव जलाएको खरानी मागेको दाबी गरेका छन्।
आफूले ढकाललाई सानो हड्डीको टुक्रा र खरानी माग्दा हजार रुपैयाँ मागेको तर आफूले उनलाई चार सय र सहयोगीलाई एक सय दिएपछि उनीहरूले जली रहेको शवको सानो हड्डी र खरानी दिएपछि बागमतीमा बगाएको बताएका छन्।
उनीहरूले शवको टाउकाको हड्डी र खरानी अन्य व्यक्तिलाई दिएको देखेपछि शव जलाउन आएका परिवारका सदस्यहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि प्रहरीले अनुसन्धान गरेको थियो।
भदौ १२, २०८२ बिहीबार १९:२७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।