पशुपतिमा नमाज पढेर भाइरल भएका युवा विरुद्ध मुद्दा, पशुपतिनाथको आस्थाले प्रार्थना गरेको बयान

काठमाडौं : पशुपति मन्दिर पारी नमाज पढ्ने मुस्लिम धर्मावलम्बीमाथि हिन्दु धर्मावलम्बीहरूको धार्मिक आस्थामा आघात पुर्याएको आरोपमा मुद्दा दायर भएको छ। पशुपति क्षेत्रमा बागमती पारी पशुपति मन्दिरतर्फ फर्किएर नमाज पढेका कुफ मियामाथि बिहीबार धार्मिक आस्थामा आघात पुर्याएको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो।
उनी २०८२ साउन २७ मा पक्राउ परेका थिए। उनीमाथि हिन्दु धर्मको अपमान गर्ने नियतले आरती गर्ने धार्मिक स्थलमा नमाज पढेको भन्दै दुई वर्ष कैद र २० हजार जरिवानाको माग गरिएको छ।
बयानमा मियाले पशुपतिनाथप्रतिको आस्थाको कारण आफूले जाने अनुसारको प्रक्रियाबाट प्रार्थना गरेको र धार्मिक आस्थामा असर पुर्याउने कुनै उद्देश्य नभएको बयान दिएका छन्। २७ गते बिहान पशुपति मन्दिरको दर्शनका लागि जान खोज्दा आफूले लगाएको सेतो टोपी देखेर सुरक्षाकर्मीले मुस्लिम हो भन्दै मन्दिर प्रवेश गर्न नदिएपछि बागमती पारी गएर पशुपति मन्दीरततर्फ हेरेर नमाज पढेको र नमाज पढ्दै गर्दा प्रहरी आएर नियन्त्रणमा लिएको बताएका छन्।
उनले आफूले मुस्लिम धर्म अनुसार दैनिक नमाज पढ्ने गरेको र पर्साबाट साउन २४ गते काठमाडौँ आएर सो दिन पशुपति मन्दिर भित्र गएर दर्शन गरेर दिनभर पशुपति मन्दिर परिसर क्षेत्र घुमेको बयान दिएका छन्।
दोस्रो दिन सोमबार रहेकाले नुहाएर पशुपति मन्दिर दर्शन गर्न जान खोज्दा टाउकोमा रहेको मुस्लिम समुदायले लगाउने सेतो टोपी देखेर छिर्न नदिएपछि मन्दिर बाहिरैबाट दर्शन गरेको उनले खुलाएका छन्।
२७ गते मन्दिर नगएर सिधै बागमती पारीको खुला स्थानमा गएर श्रद्धापूर्वक नमाज पढ्नेक्रममा केही व्यक्तिले फोटो खिचेको र केही छिनमै पशुपति क्षेत्र विकास कोषको गार्डहरू आएर किन हिन्दु धर्मको आस्थामा चोट पुर्याएको भन्दै प्रहरी बोलाएको बयान दिएका छन्।
उनी नमाज पढ्दै गरेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो। कतिले हिन्दु धार्मिकस्थलमा गएर आफूले जाने अनुसार प्रार्थना गरेको भन्दै प्रशंसा गरेका थिए भने कतिले विरोध गरेका थिए।
भदौ १२, २०८२ बिहीबार १८:५४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।