दैनिक १३ हजार गाडी गुड्ने पृथ्वीराजमार्गको यात्रा सधैं कष्टकर

धादिङ : कतै पिच, कतै ढलान-झट्ट हेर्दा पृथ्वी राजमार्गमा राम्रो सडक बनेको जस्तो देखिन्छ। तर, वास्तविकता फरक छ। ठाउँ-ठाउँमा खस्ने पहिरो, धुलो, हिलो र खाल्डाखुल्डीका कारण यात्रुले सास्ती खेपिरहेका छन्।
बर्खायाममा यो सडकको यात्रा जोखिमपूर्ण बन्ने गरेको छ। पानी पर्नासाथ कतिबेला कहाँबाट पहिरो खस्छ भन्ने अनुमानै गर्न नसकिने अवस्था छ। सडक फराकिलो बनाउन काटिएका भित्ताबाट ढुङ्गा खस्ने डरले चालकले त्रासमै सवारी चलाइरहेका हुन्छन।
काठमाडौं-धादिङ रुटमा माइक्रोबस चलाउने विकास श्रेष्ठ भन्छन्, ‘अहिले सडकमा खाल्डाखुल्डीमा भन्दापनि आँखा पहिरो खस्ने ठाउँमा पुर्याउनुपर्छ।’ बुधबारदेखि लगातार वर्षा भइरहेकाले स-साना पहिरोले बाटो अवरुद्ध गर्ने र फेरि खुल्ने क्रम चलिरहेको छ। यद्यपि लामो समयसम्म सडक बन्द हुने अवस्था भने आएको छैन।
त्रिभुवन राजपथको नागढुङ्गा-नौबिसे खण्ड र पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन खण्ड बर्खा सुरु भए लगत्तै विशेष जोखिमपूर्ण बनेका छन्। काम अधुरो रहेका स्थानका खाल्डाखुल्डीले साना-ठूला सबै प्रकारका सवारी साधन गुडाउन कठिन भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमाल भन्छन्, ‘पृथ्वी राजमार्ग अहिले जोखिमपूर्ण छ, तर यात्रा गर्नै नसक्ने अवस्था भने छैन।’
मोटरसाइकल र स्कुटर चालकलाई यो सडक पार गर्न अझै बढी कष्ट हुन्छ। घाम लाग्दा धुलोले त्रास बढाउँछ भने वर्षा हुँदा त्यही धुलो लेदोमा परिणत भई सडक चिप्लो हुन्छ।
गजुरी ट्राफिक प्रहरीका इन्सपेक्टर सुरज श्रेष्ठले सडकमा विपद् नहोस् भन्ने प्रयासमा २४ सै घण्टा खटिरहेको बताए। ‘परिहाल्यो भने धनजनको क्षति न्यून पार्नै हाम्रो प्राथमिकता हो,’ उनले भने।
नागढुङ्गादेखि मुग्लिनसम्म ९६ किलोमिटर लामो खण्डमा हरेक बेला कतै न कतै सडक एकतर्फी बनाउनुपर्छ। निर्माणाधीन पुल र साँघुरा स्थानमा दुबैतर्फ प्रहरी तैनाथ गरेर सवारी चालकलाई सतर्क पार्ने काम भइरहेको छ।
हाल नागढुङ्गा चेकपोष्टमा दैनिक कति सवारी काठमाडौं भित्रिन्छन् वा बाहिरिन्छन् भन्ने यकिन तथ्याङ्क छैन। तर सामान्य अवस्थामा दैनिक करिब १३ हजार र चाडपर्वको समयमा २० हजारसम्म सवारी गुड्ने अनुमान प्रहरीले गरेको छ।
भदौ १२, २०८२ बिहीबार १७:१६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।