एम्बार्क अनम्याथद्वारा भैरहवा र बुटवलका विद्यालयमा नयाँ शैलीको गणित शिक्षा सुरू

काठमाडौं : एम्बार्क अनम्याथले रुपन्देही जिल्लाका भैरहवा र बुटवलका विद्यालयहरूमा गणित शिक्षामा नयाँ परिर्वतन ल्याउने उद्देश्यसहित विशेष पहुँच कार्यक्रम सञ्चालन गरेको छ।
सन् २०१२ देखि गणितलाई परम्परागत पाठ्यपुस्तकको दायराबाट बाहिर निकाल्दै वास्तविक जीवनसँग जोडेर सिकाउने अभियान अघि बढाउँदै आएको अनम्याथले भदौ १८ गतेसम्म चलेको कार्यक्रममा २५ भन्दा बढी विद्यालयमा आफ्ना नयाँ शिक्षण पद्धति प्रस्तुत गर्यो। यस क्रममा प्रधानाध्यापक, शैक्षिक संयोजक र शिक्षकहरूसँग भेटघाट गरी गणितलाई कसरी सहज, रोचक र डरमुक्त बनाउन सकिन्छ भन्नेबारे छलफल गरिएको थियो।
कार्यक्रमबारे बोल्दै एम्बार्क अनम्याथका मार्केटिङ तथा व्यापार विकास प्रबन्धक प्रज्वल पोखरेलले भने, ‘गणित यस्तो विषय हुनुपर्छ जसबाट विद्यार्थीहरू नडराऊन्। यस किसिमका कार्यक्रमले हामीलाई विद्यालयहरूको वास्तविक आवश्यकता बुझ्न र त्यसअनुसार समाधान दिन मद्दत गर्छ।’
कार्यक्रममार्फत विद्यालयहरूलाई ‘अनम्याथ जिल्ला योजना’, ‘गणितको कथा भन्ने’, ‘उद्यमशील गणित’ र ‘म्याथ म्युजियम’ जस्ता अनुभवमूलक अवधारणाहरूको परिचय दिइएको थियो। शिक्षकहरूसँग प्रत्यक्ष संवाद गर्दै गतिविधिमूलक सिकाइलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइयो।
लुम्बिनी वर्ल्ड स्कूलका योग तथा प्राणायाम प्रशिक्षक शिवसुन्दर पोखरेलले भने, ‘गणितलाई व्यावहारिक र जीवनसँग जोड्ने यो तरिका विद्यार्थीका लागि एकदमै उपयुक्त छ।’
यस पहलले विद्यालयहरूमा व्यापक चासो जगाएको छ। धेरै विद्यालयले प्रयोगात्मक कक्षा, आवश्यकता अनुसार योजना निर्माण तथा निरन्तर सहकार्यको माग गरेका छन्। सहभागी शिक्षकहरूले अनम्याथको अन्तरक्रियात्मक पद्धति र गुणस्तरीय शिक्षाप्रतिको दृष्टिकोणको प्रशंसा गरेका छन्।
अनम्याथ टिमले आगामी दिनमा पनि विद्यालयहरूको आवश्यकता अनुसार योजना बनाउने, प्रयोगात्मक कक्षा सञ्चालन गर्ने र रुपन्देहीका कक्षाकोठामा दीर्घकालीन रूपमा नयाँ गणित सिकाइ प्रणाली ल्याउने लक्ष्य राखेको जनाएको छ।
भदौ १२, २०८२ बिहीबार १६:४४:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।