रास्वपाको सचिवालय बैठकले गर्यो संगठन सुदृढीकरणदेखि उपनिर्वाचन तयारीसम्मका ६ निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले संगठन सुदृढीकरणदेखि रूपन्देही-३ उपनिर्वाचन तयारीसम्मका विषयलाई समेट्दै ६ बुँदे निर्णय गरेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले समसामयिक राजनीतिक परिस्थिति र संगठनात्मक गतिविधिबारे विस्तृत छलफल गर्दै भावी रणनीति तय गरेको हो। बैठकले संगठन गतिविधि, प्रशिक्षण कार्यक्रम र हस्ताक्षर अभियानको समीक्षासँगै आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।
रास्वपाले चार केन्द्रीय विभाग संगठन, प्रशिक्षण, अभियान तथा प्रचारप्रसार, र प्रवास नेपाली सम्पर्क विभागलाई अझ सक्रिय र प्रभावशाली बनाउने निर्णय गरिएको छ। प्रदेश, जिल्ला र स्थानीय तहमा संरचना सुदृढीकरणका लागि वडा, पालिका र जिल्ला अधिवेशन तोकिएको तालिका अनुसार सम्पन्न गर्ने जिम्मेवारी सम्बन्धित प्रदेश इन्चार्जलाई दिने निर्णय पनि बैठकले गरेको छ।
संगठन सुदृढीकरणका लागि रणनीतिक प्रस्तावहरू तयार पारेर सचिवालयमा पेश गर्ने निर्देशन दिइएको छ।
रूपन्देही-३ मा हुने उपनिर्वाचनका सम्बन्धमा बैठकले उम्मेदवार छनोट प्रक्रिया लोकतान्त्रिक, पारदर्शी र जनपक्षीय हुने बताएको छ। प्रारम्भिक छनोटमा सहभागी नौ जना उम्मेदवारप्रति कृतज्ञता व्यक्त गर्दै पार्टीले सबैलाई सामाजिक सद्भाव कायम राखी सहयोग गर्न आग्रह गरेको छ। रूपन्देहीका नागरिक र सम्पूर्ण नेपाली जनताप्रति समर्थन र सहयोगका लागि धन्यवाद पनि दिइएको छ।
त्यस्तै, बैठकले पार्टी सञ्चालनका लागि ‘प्रारम्भिक निर्वाचन कार्यविधि, २०८२’ र ‘वडा परिषद् कार्यविधि, २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, कृषि, स्वास्थ्य, उद्योग, वाणिज्य, श्रम, रोजगार तथा सहकारी क्षेत्रका विज्ञलाई समस्या विश्लेषण, समाधान खोजी र सुझावसहितको प्रतिवेदन तयार गर्न संलग्न गराउने निर्णय गरिएको छ।
भदौ १२, २०८२ बिहीबार १६:३६:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।