विद्यादेवी चुनाव लडे नराम्रोसँग हार्ने भन्दै ओलीले भने- लालगेडी भएर पार्टीको आन्दोलन चल्दैन नी

काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको महाधिवेशनमा विद्यादेवी भण्डारीले जित्ने अवस्था नरहेको दाबी गरेको छन्।
काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँगको छलफलमा बोल्दै ओलीले पार्टी आन्दोलनको हितका लागि पनि भण्डारीले हार्नुपर्ने बताए। ‘उहाँको सम्मानका लागि हामी सबैले फर्केर आएर उम्मेदवार बनाउने गल्ती नगरौं। ल जित्नुभए त राम्रो भयो। तर जित्ने अवस्था छैन,’ उनले भने।
ओलीले भीम रावलको उदाहरण दिँदै हारपछि आन्तरिक विवाद र खाँबो चिथोर्ने प्रवृत्ति बढ्ने खतरा रहेको सुनाए। ‘अनि चुनाव हारेपछि भीम रावलको तरिकाले खाँबो चिथोर्ने? अनि पार्टीले स्पष्टीकरण सोध्ने ? एउटा राष्ट्रपति भइसकेको मान्छेलाई पार्टीले स्पष्टीकरण सोध्ने ? त्यो राम्रो हुन्छ ? अहिले उहाँको सदस्यता छैन। अहिलेको अवस्थामा हामी उहाँलाई स्पष्टीकरण सोध्न सक्दैनौं। बरु यही ठीक छ नी। केन्द्रीय कमिटीमा हार्नुभयो भयो भने के हुन्छ ? उहाँ केन्द्रीय कमिटीमा हुनुभयो भने के हुन्छ ? उहाँलाई अध्यक्ष दिन सकिँदैन। उहाँ चुनाव लड्नुभयो भने एकदम निश्चित कुरा के हो भने उहाँ हार्नुहुन्छ। नराम्रोसँग हार्नुहुन्छ। पार्टीको आन्दोलनको हितको लागि उहाँ हार्नुपर्छ,’ ओलीले भने।
ओलीले भण्डारीलाई अध्यक्ष दिन सक्ने अवस्था नरहेको भन्दै कसैको आखामा नबिझाउने लालगेडी भएर पार्टीको आन्दोलन नचल्ने भन्दै व्यङ्ग्य गरे। ‘लालगेडी भएर चल्दैन नी। यो त संघर्षको मैदान हो। सबैको आखामा नबिझाउने लालगेडी भएर चल्छ पार्टीको आन्दोलन ?,’ उनको प्रश्न थियो।
भदौ १२, २०८२ बिहीबार १५:२८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।